• नरेन्द्रजंग पिटर

नेपालमा फादरोक्रेसी (बातन्त्र) को नग्न उदाहरणको मुहान ललिता निवास प्रकरण बन्यो । त्यसको बाछिटा नेपाली राजनीति र समाजमा यत्रतत्र पर्‍यो । ‘बाई प्रोडक्ट’ भुटानी शरणार्थी प्रकरण र रविको सहकारी प्रकरण हुन् । ललिता निवास प्रकरणले समग्र नेपाली सत्तालाई प्रभाव पारेर नजिर बन्यो । सत्तामा पुग्न र पुगेपछि जे पनि गर्न सकिन्छ, हुन्छ भन्ने भाष्य तयार भयो ।

‘क्लेप्टोक्रेसी’ (भ्रष्टता) सिन्डिकेटले जस्तै अपराध पनि मन्त्रिपरिषद्बाट निर्णय भएपछि उम्कने सुरुङ खन्यो । भ्रष्टता अपराध नभई पौरख भन्ने मान्यता समाजमा स्थापित गर्न खोजियो । सत्ता भत्काउने र बनाउने शक्ति बन्यो । त्यसको शक्ति कत्रो रहेछ भन्ने कुरा मात्रै अहिले देखिएका हुन् । ‘मीनभवन’ प्रकरण र रविको सहकारी प्रकरण फरक विषय भए पनि त्यसको चरित्र भने एकै प्रकारको छ ।

सिरानमा स्वार्थ र अपराध राखेपछि अरू सबै तपसिलका विषय बन्छन् । नियतको मापन परिणामले गर्छ भने कुन निर्णय कुन समयमा, किन र कसरी भयो र त्यसले दिएको वा दिन खोजेको सन्देश के हो भन्नेमा भर पर्छ । ललिता निवास प्रकरणले पद र अपराधको लाइसेन्स हुन्छ भन्ने मान्यता स्थापित गरेपछि पद पाउन र टिकाउन जे गरे पनि जायज हुन्छ भन्ने ‘आदर्श’ बनायो ।

लाइसेन्स त एकै ठाउँ र उद्देश्यका लागि मात्रै हुँदैन । नजिर बनेपछि जताततै चल्छ । नजिर संस्कृति बन्न पुग्छ । दामलीहरू न्यायाधीश बने, मन्त्री बने, माफियाहरूले सत्ता किन्न र बेच्न सक्ने भए । सत्ता र न्यायालयलाई प्रभाव पार्ने हैसियत राख्छन् भन्ने सन्देश दियो । कलाकार त जनअदालतका कठघरामा उभिन बाध्य बने तर निर्देशक भने पर्दाभित्रै रहे । जनमतले चिने पनि दामली हुनबाट जोगिए । स्मृति कम भएको हाम्रो समाजमा अल्जाइमर (बिर्सने रोग) लागेपछि पुराना घटना सम्झनाबाट हराउने गर्छ । एउटा घटनाले अर्को घटना महत्त्वहीन वा विषयान्तर गरिदिन्छ ।

फादरोक्रेसी र अन्तर्राष्ट्रिय आयाम

‘फादरोक्रेसी’ (बातन्त्र) भनेको संगठन वा राज्यलाई पूर्ण नियन्त्रण लिएर आफैं सार्वभौम भनिँदै गरिने शासनतन्त्र हो । फादरोक्रेसीको सत्ता संरचनामा न्यायिक, अर्धन्यायिक, प्रशासनिक क्षेत्रमा अनुकूलको नेतृत्व सुरुमै पदस्थापन गरिएको हुन्छ । म र मेरा भएनन् भने न पार्टी चल्छ न राज्य भनेर आफू, सन्तान र पछुवाको हितलाई सैद्धान्तिकीकरण गरिन्छ । आस र त्रास नै शक्तिको स्रोत मान्छ । रूपमा रहेका वैधानिक संस्थाहरू दाँत उखेलिएका बाघझैं हुन्छन् ।

नाममा रहे पनि काममा नभएपछि इन्साफको मृत्यु हुन्छ । नीति, विधि, विधान, अभ्यास र मान्यताभन्दा पनि हरेक विषयका कानुनी जामा त लगाइन्छ तर हितअनुसार लगाइने जामा बातन्त्रको सुरक्षा कबच बन्छन् । मिडिया व्यवस्थापन गरेर व्याख्याको सौन्दर्यकरण गरेर नयाँ भाष्य तयार गरिन्छ । जनआक्रोशलाई अन्यत्र मोडिन्छ । तन्त्रभित्र एउटै विषयमा पनि व्यक्ति, शक्ति वा पहुँच हेरेर दण्ड र पुरस्कारका फैसला हुन्छन् ।

नेतृत्वमा एकतर्फी निर्णय लिने र संगठनलाई पूर्ण नियन्त्रणमा राखिने भएकाले पार्टीले कर्पोरेट रूप लिन्छ । कार्यकर्ता सेयरधारक भएर हैसियत किटान हुन्छ । फादरोक्रेसीको मलजल गर्ने र हुकुम तामेल गर्ने भीडमा हाँकिने कार्यकर्ता हुन्छन् । रचनात्मक सहयोगीलाई धकेल्ने, टढ्याउने र कालान्तरमा पाखा लगाउने गरिन्छ । आफन्तसँगै अत्यन्तै शंकालु र भयग्रसित हुन्छ । जुन पार्टीमा आन्तरिक लोकतन्त्र हुँदैन, त्यसले देशको लोकतन्त्रको रक्षा कसरी गर्न सक्छ ? लोकतन्त्रको दुहाइ दिने नैतिक पुँजी कति हुन्छ ? यसको मनोवैज्ञानिक व्याख्या कर्ट लेविनले १९३० को दशकमा गरे । फादरोक्रेसीको आधार ‘क्लेप्टोक्रेसी’ र षड्यन्त्र हो । क्लेप्टोक्रेसीमा शासनका हिस्सेदारबीच पक्ष र प्रतिपक्ष नभई शक्तिशाली सिन्डिकेट बनेको हुन्छ । फादरोक्रेसीको मनोविज्ञान भनेको सत्ताको लोभ मात्रै होइन आफ्नै अस्तित्वको त्रास पनि हो । यदि सत्ता भएन भने अरूको नेतृत्वमा गएको कानुनी कोर्रा कुनै बेला पनि आफैंमाथि वर्षन सक्छ भन्ने डर रहिरहन्छ ।

लगानीकर्ताको हित रक्षा बातन्त्रको बाध्यता बन्छ । दाताको चरित्र र पृष्ठभूमि हेरिँदैन । लगानीकर्ताले सित्तैमा लगानी गरेको हुँदैन । जति ठूलो जोखिम त्यति नै धेरै फाइदा सोचेको हुन्छ । तीन र तेह्रको सम्बन्ध नभए पनि हितको रक्षा गर्ने भएकाले नै उनीहरू सत्तामा पुर्‍याउन सहयोगी, दाता वा टेको बन्छन् । त्याग, समर्पण मूल्यको राजनीतिले सिर्जना गरेका आदर्श शक्तिले माफियालाई सलाम बजार्न थालेपछि कार्यकर्ताका विवेक छुमन्तर हुन्छ । मान्छे, वनमान्छेमा फेरिन्छ । चेतना लोभ र त्रासको जंगलमा बाटो बिराएर घाँस चर्न थाल्छ । इतिहास काउसो बन्छ । दिल पत्थर बन्छ । तब अपराध बास्नादार हुन्छ । अपराध गन्हाउने भएको भए यो संसार बस्ने लायकै हुँदैनथ्यो । सद्भाव जगाउन पनि घृणा जगाउन पनि दुवैलाई बुद्धि आवश्यक पर्छ । अपराध पनि, आदर्शवादी बन्न पनि सबैका आआफ्नै तर्क हुने गर्छन् ।

फादरोक्रेसीको लोकप्रियताका लागि पार्टी ट्रेडमार्क बन्ने नै भयो । नसोच्ने मान्छेको हूल नै भीड हो । नयाँ भन्नेहरू त अझ विवेक नभएका भीड पो रहेछन् । भीड भेडोवादी हुन्छ । आफ्नै विवेक रित्याएर मुर्दा बनेर मुर्दाको मलामी हुन पुग्छ । शिक्षित मूर्खहरू त अझ किसान मजदुरभन्दा पनि सोच्नै नसक्ने हुँदा रहेछन् । सर्टिफिकेट उनीहरूलाई उम्दा बिक्रीको माल बनिदिन्छ । न विचार, न तर्क, न कुनै पृष्ठभूमि सिद्धान्त, न कुनै नैतिक आधार, तब पनि भीड विवेकहीन बनेर देखिन्छ, रवि प्रकरणमा त्यस्तै देखियो ।

मान्छेसँग असीमित क्षमता हुन्छ तर सत्ता, रूप, धन भने अति स्थिर हुँदैन । नेपोलियनले वाटर लुमा पराजित हुनुपर्छ भन्ने सोचेकै थिएनन् । तब उनी भन्न बाध्य भए– विजय र पराजयबीचमा एक रौंको मात्रै दूरी हुन्छ । समय, अवस्था, परिस्थिति फेरिँदा पनि हरेक युगमा बातन्त्र भने आफूसँग मात्रै चामत्कारिक शक्ति भएको प्रमाणित गर्न मरिहत्ते गर्छन् । समयका गति र उसले गर्ने न्याय बुझ्दैन । तब इतिहास र तर्कलाई हितअनुकूल प्रयोग गर्छ । विचार, सिद्धान्तभन्दा पनि अनुभव, बुद्धि र चातुर्य नै मुख्य कुरा भन्दै सधैं नेतृत्व लिन सकिन्छ भन्ने भ्रमित मान्यता राख्छ ।

जब कुनै नेता वा शासक समस्यामा पर्छ, वा सत्ताको चरम लालसामा हुन्छ, तब आफ्ना समस्या देशमाथिको संकट भनेर जनमतलाई राष्ट्रिय उत्तेजनामा फेर्न चाहन्छ । कानुन र नियमको अर्थ नराखेर एउटै विषयमा दोहोरो मापदण्डमा व्यवहार गरिन्छ । जहाँ संस्थाहरू (स्थायी सत्ता) दर्बिलो हुन्छ, त्यहाँ भने फादरोक्रेसीको हैकम चल्दैन । ३० जुन २०२२ सम्म अमेरिकी सर्वोच्च अदालतका ९ न्यायाधीशमध्ये ६ रिपब्लिकन राष्ट्रपतिद्वारा नियुक्त गरिएका थिए, बाँकी डेमोक्रेटिकद्वारा । तर, रिपब्लिकनहरूले नियुक्त गरेका न्यायाधीशले नै डोनाल्ड ट्रम्प राष्ट्रपतिमा पराजयपछि क्यापिटल हिल (सांसद भवन) आक्रमणलाई उकासेको भनेर मुद्दा चलाए । बेलायतमा पनि इराक आक्रमणमा देशलाई भ्रमित सूचना दिएको आरोपमा चिलकट आयोगले प्रधानमन्त्री टोनी ब्लेयरलाई प्रश्न उठायो ।

मध्यपूर्व तेस्रो विश्वयुद्धको ज्वालामुखी केन्द्र बनिसक्यो । जब आफैंमाथि अदालतले आपराधिक कुकर्मको दोषी ठहर्‍यायो, न्यायालयकै अधिकार कटौती गर्न थाल्दा जनमत विरोधमा सडकमा उत्रिए तब ध्यान विषयान्तर गर्न ‘फाइनल सोलुसन’ भन्दै नेतान्याहु फिलिस्तिनमा नरसंहारमा उत्रिए । जर्मनीमा होलो काष्टबाट नरसंहार झेलेको यहुदी समाज, यहुदी धर्मभित्रको रुढिवादी समूह अहिले स्वयम् फिलिस्तिनमा अर्को होलो काष्टमा उत्रिएको छ । यस्ता नरसंहारमा पश्चिमा शक्ति राष्ट्र इजरायलको समर्थक देखिन्छन्, भलै त्यस देशका जनता विरोधमा उत्रिएका हुन् ।

नाटो भित्र्याउने उत्तेजनाले युक्रेनी भूमिको युद्धस्थल फेरियो । कमेडियनबाट राष्ट्रपति बनेका जेलेन्स्की सम्भावित तेस्रो विश्वयुद्धको अर्को कारक बन्दै छन् । शासकहरू आफ्नै रक्षाका लागि संविधान संशोधन गरेर सुरक्षित हुनु, चुनाव प्रणाली नै फेरबदल गर्नु, आफैंले बनाएको उमेरको हदम्याद उल्लंघन गर्नु, चुनावमा धाँधली गर्नु आदि फादरोक्रेसीमा पर्छन् । श्रीलंका र बंगलादेशका घटना देखिसकियो ।

निराशा र आक्रोश सामाजिक चरित्र

नेकपा एमालेले ‘मीनभवन’ प्रकरणको रक्षा र मीनबहादुर गुरुङको बचाउमा जे तर्क राख्यो, त्यसले बातन्त्रको थप खुलासा गर्न पुग्यो । गुरुङ विद्यार्थीकालदेखि कर्मचारी हुँदासम्म ‘क्याडर’ भएकाले उनको दानमाथि प्रश्न उठाइनु हुँदैन भन्यो । विद्यार्थीकालमा अधिकांश कुनै न कुनै संगठन वा आस्थासँग जोडिएका हुन्छन् । हिजोका नेविसंघ, अखिल वा अन्यले पूर्ववर्ती संलग्नताअनुसार अहिले भूमिका निर्वाह गर्न थाले न्यायालय, ब्युरोक्रेसी र सुरक्षातन्त्र सबै पार्टीकरण हुन जान्छ । पदीय मर्यादा पालन गर्न सक्दैन । राज्य वा संस्थामाथि आमजनताको विश्वास ध्वस्त हुन्छ ।

अहिले निराशा र आक्रोश सामाजिक चरित्र बन्दै छ । नायकको पतनले मान्छे तिलमिलाएर या त आक्रोशमा भूमिका तय गर्छ या निराशामा फस्छ । निराश जनमत दोष अरूलाई दिएर भीडको हिस्सा बन्न पुग्छ । सामाजिक भूमिकाबाट या त पलायन हुन्छ, फेरि अर्को नायक खोज्छ । तर यस भावना, आवेग र उत्तेजनालाई पुँजीकरण गर्न केही राजनीतिक चतुर खेलाडी लागिरहन्छन् । राजनीति त एउटा आवेग, उत्तेजना र आक्रोश फैलाएर फस्टाउने एउटा सफल व्यवसाय बन्यो । त्यसैका एउटा प्रतिनिधि पात्र बने, रवि । बातन्त्रले शक्तिखेलमा नेतृत्व कहिल्यै गलत हुँदैन, सर्वज्ञ हुन्छ र नेतृत्व रिझाए जे पनि गर्ने छुट हुन्छ भन्ने भाष्य स्थापित गर्छ ।