अच्युत पुरी

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व उपमहानिर्देशक देवानन्द उपाध्याय सेवानिवृत्त भएसँगै बाराको सुवर्ण गाउँपालिकास्थित आफ्नो थातथलो फर्किएका छन् । छोरा–बुहारी काठमाडौंको घरमा बस्ने भए पनि उनलाई भने अहिले अधिकांश समय आफू जन्मिएकै स्थानमा बिताउन मन लाग्छ ।

‘एक त यो म जन्मिएको थलो हो, भावनात्मक रूपमा मेरो हक यसमै लाग्छ’ उनी भन्छन्, ‘यहाँको जग्गा जमिन हामीले बचाएर राख्यौं, त्यसैले गाउँ फर्कन मलाई कुनै समस्या भएन ।’ शहरमा जति सुख भए पनि दिनभर घरमा कुँजिनु हो । त्योभन्दा गाउँमा स्वास्थ्यले साथ दिएसम्म खेतपातीमा रमाउँदा सानो छँदाका याद पुनः ताजा हुने उनी बताउँछन् ।

‘मेरा लागि त इष्टमित्र, छरछिमेकी भनेकै म जन्मिएकै ठाउँका मानिस हुन्’ उनी भन्छन्, ‘३५/३६ वर्षको जागिरे भागदौडमा मैले गुमाएका आफन्त पुनः सोधखोज गर्दै सम्बन्ध ताजा बनाउन लागिरहेको छु ।’ जसरी दिनभर कामले थाकेको मानिस घरमा पुग्दा आफूलाई आनन्द अनुभव गर्छ, रिटायर्ड जिन्दगीबाट गाउँ पुग्दा त्यस्तै आनन्द आउने उनको अनुभव छ ।

सेवानिवृत्त भएपछि थातथलोमा रमाउनेमा पूर्व मुख्यसचिव लीलामणि पौड्याल परिचित छन् । चीनका लागि राजदूत समेत भइसकेका उनलाई गुल्मीको रुरु गाउँपालिकास्थित आफ्नो घरमा रमाइरहेको देख्न पाइन्छ ।

यस्तै अर्का पात्र हुन्, महोदत्त तिमिल्सिना । पूर्व उपमहालेखा परीक्षक तिमिल्सिना तनहुँस्थित आफ्नो पुर्ख्यौली घरमा दिनचर्या बिताइरहेको अवस्थामा भेटिन्छन् । साझा यातायातमा लामो समय काम गरी सेवा निवृत्त जीवन बिताइरहेका नरहरि ज्ञवाली पनि हिजोआज गुल्मीको आफ्नो गाउँमा रमाइरहेका छन् ।

डेढ महिना विदेश यात्रापछि नेपाल फर्किएका चर्चित गायक अमृत गुरुङले २९ भदौ २०८१ का दिन फेसबुकमा एउटा स्टाटस राखे– ‘जहाँ गए पनि हिमालको सम्झनाले पछ्याउँछ, डेढ महिनाको यात्रापछि हिजो घर फर्किएँ, राति अबेरसम्म हिमाल हेरिरहें, मनन् गरें, यो हिमाल हाँसेको देशमा जन्म लिन पाएकोमा धन्य छु आमा ।’

राष्ट्रप्रेमले ओतपोत यो भाव पोख्ने गुरुङ यस्ता उदाहरण हुन्, जो थातथलोमा रमाउँछन् । देशभित्र अवसर नखोज्ने, अधिक महत्वाकांक्षा र सुख–सुविधाको खोजीमा विदेशिने जमातका बीच यी अपवाद हुन् । जो नेपाली शैलीमा, गाउँमै रमाउन चाहन्छन् ।

कास्कीमा जन्मिएका गुरुङ आफ्नो करिअरका लागि काठमाडौं आएर संघर्ष गरे । सफल र चर्चित भए तर, थातथलो भुलेनन् । यति मात्र होइन, उनले आफ्ना हरेक सिर्जनामा नेपालीपन दिन्छन्, त्यसका लागि उनी गाउँ डुल्छन्, अध्ययन गर्छन्, जे देख्छन्, त्यसलाई आफ्नो सिर्जनामा उन्छन् । अनि दुनियाँसामु प्रस्तुत गर्छन् ।

थुप्रै पात्र समाजमा छन्, जो आफ्नो करिअर पछि थातथलोमै रमाएका छन् । उनीहरूको मन अडिएको यो स्थान उनीहरूका लागि सबैभन्दा प्रिय छ । थातथलोमा रमाइरहेका यस्ता अर्का पात्र हुन् कार्टुनिष्ट तथा पत्रकार राजेश केसी (फलानो) ।

नवलपरासीमा जन्मिएका उनले आफ्नो करिअरको ५० वर्ष काठमाडौंमा बिताए । प्रायः हँसिला र चोटिला कार्टुनबाट चर्चित भए । काठमाडौंमा राम्रै हैसियत बनाए । तर, अहिले उनी नवलपुरस्थित जन्मस्थानमा रमाइरहेका छन् । ‘म कुमाल गाउँमा हुर्किएँ, उनीहरू नै साथी भए, म अहिले यतै रमाइरहेको छु’, केसीले भने ।

काठमाडौंमा ‘राम्रो सम्भावना’ हुँदाहुँदै गाउँ फर्किएका उनले अहिले पनि आफ्नो सिर्जनात्मक कर्म छाडेका छैनन् । बाह्रखरी मिडिया मार्फत उनी आफ्ना कार्टुनहरू प्रस्तुत गर्छन् । कार्टुनमा सिर्जनात्मक प्रयोग गरिरहने उनी सूचनाप्रविधिको प्रयोग गरी आफ्ना सिर्जनालाई अझ उत्कृष्ट बनाइरहेका छन् ।

‘प्रविधिले संसारलाई गाउँ जस्तै बनाइसक्यो’ उनी भन्छन्, ‘काठमाडौंको उकुसमुकुसमा बस्नु भन्दा मलाई गाउँमै आनन्द छ ।’

‘फलानो’ ब्राण्डलाई चर्चित बनाएका उनले काठमाडौंमा रेस्टुरेन्ट समेत चलाएका थिए । अहिले भने उनी नवलपुरलाई कृषि पर्यटनको आकर्षण बनाउने उद्देश्य सहित गाउँमा सक्रिय छन् । ‘कुमाल साथीहरूसँग मिलेर सामूहिक खेती गर्छु’ उनी भन्छन्, ‘बाघ–गैंडा मेरा साथी जस्तै बनेका छन्, पारी चुरे छ, बीचमा जंगल, निकुञ्ज, योभन्दा आनन्ददायक र मनमोहक स्थल के हुन सक्ला र ?’

काम गर्दा काठमाडौं आउजाउ गरिरहने उनले थातथलोलाई स्थायी बासस्थान बनाउँदा कहिल्यै पनि पछुताउनु परेन । ‘गाउँ त आइसोलेटेड छ, कोरोना जस्ता महामारीले पनि सितिमिति भेट्टाउँदैन’ उनी भन्छन्, ‘काठमाडौंको जागिरले उतै लठ्याउँछ, त्यो भीडमा कहिले अस्ताइन्छ, पत्तै हुँदैन ।’

३० वर्ष बीमा संस्थानमा जागिर गरेर सेवानिवृत्त सिन्धुलीका ओमप्रसाद बराल काठमाडौं छाडेर अहिले आफ्ना दिन गाउँमा बिताइरहेका छन् । एक छोरा विदेशमा रहेका उनलाई काठमाडौंमा घर बनाएर बस्न कुनै समस्या थिएन । तर, उनी थातथलो फर्किए ।

‘बुबाको पालाको जमिन थियो’ आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, ‘५० वर्षको उमेरमै रिटायर्ड भएँ, काम गर्न सक्ने सामथ्र्य छँदाछँदै किन शहरमा कुँजिएर बस्ने भन्ने भयो, म गाउँ फर्किएँ ।’ कडा बिरामी हुँदा गाउँमा उपचार नहुने समस्या बाहेक अरू कुनै गुनासो नरहेको उनी बताउँछन् ।

‘पहाडमा विकास पुगेको छ, बस्न आनन्द छ, वातावरण स्वच्छ छ, मान्छे किन गाउँ छाडिरहेका छन्, यो विडम्बना हो’, उनी भन्छन् । खासगरी उत्पादन छाडेर सबै उपभोक्ता हुने प्रवृत्तितर्फ उनको असन्तुष्टि छ । गाउँमा काम गर्नुहुँदैन, बरु विदेशै जान्छु भन्ने ढिपी कस्ने पछिल्लो पुस्ताको प्रवृत्तिप्रति उनको चित्तदुखाइ छ ।

आफू गाउँ फर्किएपछि थप ४/५ जना दाजुभाइलाई गाउँ फर्काउन सफल भएका बराल अब युवा पुस्ताले देशको माया गर्नुपर्ने बताउँछन् । ‘अवसर आफूले सिर्जना गर्ने हो, नेतृत्व लिन पहल गर्ने हो, सबै अरूमा भर पर्ने हो भने नेपाल कहिल्यै पनि बन्दैन’, उनी भन्छन् ।

तनहुँको जामुने गाउँमा बारी–बगैंचा, गाईवस्तु, कुखुरा र बाख्रापाठा स्याहार्न व्यस्त साहित्यकार तथा अग्रज पत्रकार नारायण वाग्ले आफूलाई ‘स्थायी ठेगाना’ले थातथलोतर्फ सधैं आकर्षित गरिरहेको बताउँछन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘मेरो स्थायी ठेगाना मेरो हृदयमा बसेको छ, यो मेरा लागि मियो हो, यही मियोको वरिपरि म भुलिरहेको छु ।’

किशोरावस्थामा अभिभावकले सबैभन्दा श्रेष्ठ समय र श्रम सोही माटोको सेवामा खर्च गरेको प्रत्यक्ष देखेकोले आफूलाई भावनात्मक सम्बन्धले यहाँ तानिरहने उनी बताउँछन् । हरेक मानिसका लागि किशोरावस्था दीर्घजीवन हुने भन्दै उनले सोही समयमा गाडिएको मियोको वरिपरि नै मानिस घुम्न रुचाउने बताए ।

आज थातथलो छाड्ने प्रयास गरिरहेको युवासँग पनि उनको कुनै गुनासो छैन । ‘यो हुर्कंदो उमेरको लहड हो, उमेरमा मैले पनि त थातथलो छाडेको थिएँ’ उनी भन्छन्, ‘पर्खौं न, यो समूह पनि भोलि जन्मघर खोज्दै पक्कै फर्कन्छ ।’

पछिल्लो समय मानिसहरूले सुविधा र अवसरको खोजीमा थातथलो छाड्ने क्रम तीव्र रहेको तथ्यांकले देखाउँछ । भौगोलिक क्षेत्रका आधारमा हेर्दा तराईले १९ प्रतिशत मात्र हिस्सा ओगट्छ । तर, जनसंख्याका हिसाबले ५० प्रतिशत हिस्सा तराई भेगमा बस्ने गरेको २०७८ सालको जनगणनामा देखिएको छ ।

तथ्यांक अनुसार २०६८ र २०७८ को बीचमा तराईमा कुल जनसंख्या ३ प्रतिशत विन्दुले बढेको छ । बाँकी क्षेत्रमा बसोबास गर्ने जनसंख्याको अनुपात घटेको छ । राष्ट्रिय तथ्यांक कार्यालयको विवरणले पहाडी र हिमाली क्षेत्रका मानिस तराईमा थुप्रिरहेको देखाउँछ । यो प्रवृत्तिका बीच पनि थातथलोमा आफ्नो जीवन बिताइरहेका व्यक्तिहरूले आफूलाई उदाहरणीय रूपमा प्रस्तुत गरिरहेका छन् ।

तथ्यांक अनुसार काठमाडौं र पोखरा उपत्यकालाई छाडेर विश्लेषण गर्दा पहाडमा जनसंख्या ३.७ प्रतिशत बिन्दुले घटेको देखिन्छ । उता, यी दुई महानगरमा भने जनसंख्या १.१ प्रतिशत बिन्दुले बढेको छ । यसले मानिसहरू सुख र अवसरको खोजीमा शहर पसिरहेको देखाउँछ ।

ग्रामीण भेगमा जनसंख्या घट्दो क्रममा देखिन्छ । तथ्यांक अनुसार ठूला शहर र त्यस वरपर जनसंख्या केन्द्रीकरण भएको छ । तथ्यांक कार्यालयका अनुसार तराई क्षेत्रमा बढ्दो जनसंख्याको मात्रा र क्रमले एकातर्फ आधारभूत पूर्वाधारको अभाव हुने देखिन्छ भने अर्कोतर्फ पहाडी र हिमाली क्षेत्रमा जनसंख्या रित्तिने अवस्था रहन्छ । यस्तो असमानता रोक्न पहाडी र हिमाली क्षेत्रमा अत्यावश्यक सामाजिक, भौतिक र आवश्यकता अनुसार आर्थिक पूर्वाधार थप वा स्तरोन्नति गरी ग्रामीण–शहरी सम्बन्ध मजबूत गराउनुपर्ने देखिन्छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछाने बढ्दो उमेरसँगै गाउँ फर्कने संख्या सानो भए पनि महत्वपूर्ण रहेको बताउँछन् । खासगरी कमाई–धमाई गरिसकेको, बालबच्चाको ‘सेटलमेन्ट’ भइसकेको र तनावमुक्त समयमा शान्त र आनन्ददायी स्थानमा बाँकी जीवन जिउने रहरले मानिसहरू गाउँ फर्किरहेको उनी बताउँछन् ।

यसमा व्यवसाय गर्ने भन्दा जागिरे जीवन बिताउनेको संख्या अधिक रहेको उनको भनाइ छ । ‘जसले आफ्नो जग्गाजमिन नबेची राखेका थिए, कमाइ राम्रो छ र परिवारको व्यवस्थापन गरिसक्यो, उनीहरूले बाँकी जिन्दगीका लागि गाउँ रोजेका छन्’, उनले भने ।

नेपालमा मानिसको औसत आयु बढेको छ । त्यसको तुलनामा सेवा निवृत्त हुने उमेर कम छ । काम गर्न सक्ने उमेरमै सेवा निवृत्त हुनेहरूमा काम गर्ने रहर बाँकी हुन्छ । तर, शहरमा निष्क्रिय जीवनमा बस्नुभन्दा गाउँ जाँदा सक्रिय हुने चाहनाले उनीहरूले गाउँ रोज्ने गरेको उनी बताउँछन्।

गाउँ फर्कने प्रवृत्तिलाई बढाउने हो भने स्थानीय तहले अझ बढी भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ छ । ‘रिटायर्ड भएर गाउँ फर्कनेलाई स्थानीय तहले विज्ञ सल्लाहकारका रूपमा आफैंले आह्वान गर्न सक्छन्’ उनी भन्छन्, ‘किनकि रिटायर्ड भएको व्यक्तिले पैसा होइन, इज्जत खोजिरहेको हुन्छ ।’

अनलाईनखवरबाट।