गोविन्द महतो
जनकपुरधाम, २१ असोज। नेपालमा मखानाको माग बढी तर उत्पादन कम हुने गरेको छ। मखानाको बजारमा ९ सय टन माग रहेकोमा जम्मा केवल ७३ टन उत्पादन भइरहेको हो। मखाना खान, व्रतबन्ध तथा पूजाआजामा अनिवार्य हुनुपर्छ। नेपालमा यसको उत्पादन कम भएकाले छिमेकी मुलुक भारतबाट ८ सय टनभन्दा बढी आयात भइरहेको नेपाल ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) ले गरेको एक अध्ययनले देखाएको छ।
‘पग–पग पोखरी, माछ, पान, मखान।’ मिथिला सभ्यता, संस्कृति र परम्परासँग जोडिएको पहिचानको उखान हो, यो। यस क्षेत्रको पहिचान पोखरी, माछा र पान मखानासँग यो जोडिएको छ। झट्ट हेर्दा फुल उठेको मकैजस्तो देखिन्छ मखाना। मखाना पोखरी वा तालको शान्त पानीमा उम्रन्छ। मखानाका लागि नेपालको सबैभन्दा उर्वरभूमि महोत्तरीको मटिहानी हो।
तराई कृषि व्यवसाय तथा उद्यम चुनौती कोषअन्तर्गत मिताहारा न्युट्रिसन, महेश ट्रेडर्स र नगरपालिकाको समन्वयमा मखाना खेतीको अवस्था र सम्भाव्यता कार्यक्रममा विश्वको सबैभन्दा बढी मखाना निर्यात हुने मुलुकको रूपमा नेपाल रहेको जीजीजीआईका राकेश साहले जानकारी दिए। जीजीजीआईले गरेको अध्ययनमा महोत्तरी, धनुषा र सप्तरीमा गरी करिब २ सय ५९ बिघा जमिनमा १८ सय ४५ बोरा मखाना उत्पादन भइरहेको छ।
नेपालमा कम उत्पादनले भारतबाट ८ सय ७३ टन आयात हुने गरेको छ। जीजीजीआईले मखाना कृषकहरूको क्षमता, उत्पादन बढाउने, आधुनिक कृषि अभ्यासको जानकारी, उन्नत बिउ प्रजाति वितरण र सिँचाइ प्रविधिमार्फत उत्पादन बढाउन तथा नेपाली मखानाको बजार उपस्थितिलाई मजबुत गर्न आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ।
मखान बजारमा भारतको कब्जा
विश्वव्यापी रूपमा हेर्दा भारतको बिहारमा सबैभन्दा बढी मखानाको उत्पादन हुने गरेको छ। विश्व बजारको मागमा आपूर्तिका लागि करिब ८० प्रतिशत योगदान भारतको बिहार राज्यले गर्छ। भारतको मखानाको ८० प्रतिशतभन्दा बढी बिहार राज्यले मात्र उत्पादन गर्छ। भारत सरकारले बिहार मखाना विकास योजना लागू गरेर किसानलाई ७५ प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ।
१ क्विन्टल बीउबाट ४० देखि ५० प्रतिशत मखाना उत्पादन गर्न सकिन्छ। कृषि वैज्ञानिक डा. लोकेन्द्रकुमार र डा. विनोदकुमारकोे शोधले अब खेतमा पनि एक फिट पानी राखेर मखाना उत्पादन गर्न सकिने बताए। सामान्यतया मखानाको उत्पादन हुन आठ महिना लाग्ने भए पनि आधुनिक रूपले उत्पादन गराउन ६ महिनामै तयार हुने उनले बताए।
अन्नपूर्णपोष्टबाट।