• विष्णु रिजाल

ही समयअघि (अगस्ट, ११–१२, २०२४) नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालका मुख्य–मुख्य कुनै पनि पदाधिकारीलाई भेट्न छुटाएनन् । नेपाली समकक्षी सेवा लम्सालको निमन्त्रणामा दुई दिनका लागि काठमाडौं उत्रिएका भनिएका उनले नेपालमा परराष्ट्र सचिव तहमा वार्ताको औपचारिकता पूरा गर्नमा एक घण्टा खर्च गरे भने बाँकी समय राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, सहरी विकासमन्त्री, गृहमन्त्रीलगायतका सरकारी पदाधिकारीहरूका साथै विपक्षी दलका नेता, पूर्वप्रधानमन्त्री लगायतसँग भेट्नमा खर्च गरे ।

त्यसैगरी, त्यसअघि जुन २४–२६, २०२४ मा नेपाल भ्रमणमा आएका चिनियाँ विदेश उपमन्त्री (सचिवसरह) सुन वेइदोङले पनि राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतका विभिन्न मन्त्री र नेताहरूलाई छानी–छानी भेटे । अगस्ट १६, २०२४ मा नेपाल भ्रमणमा आएका अमेरिकी व्यवस्थापन र स्रोतसम्बन्धी विदेश उपमन्त्री रिचर्ड बर्माले झन् कसैलाई छुटाउने कुरा भएन । त्यति भेटले मात्र नपुगेर रात्रिभोज आयोजना गरेर बाँकी रहेकाहरूलाई होटलमा सामूहिक भेट्न बाँकी राखिएन ।

नेपालको कूटनीतिक अभ्यासमा यी निरन्तर दोहोरिरहने दृश्यहरू हुन् । एक पटक चर्चा हुन्छ, अर्को पटकसम्म सेलाइसक्छ र फेरि उही क्रम जारी रहन्छ । कुनै देशको विदेशमन्त्री आउँदा लाइन लागेर पूर्वप्रधानमन्त्रीहरू भेट्नका लागि ऊ बसेकै होटलमा गएको दृश्य नेपालबाहेक अन्यत्र विरलै देख्न पाइएला । कुन विदेशीलाई कसले र किन भेट्ने भन्ने कुनै आचारसंहिता नभएका कारण नेपालका उच्च पदस्थहरूलाई भेट्नका लागि पनि विदेशी मुलुकहरूबीच प्रतिस्पर्धा हुने गरेको छ । एउटाले भेट्यो भने अर्काले मैले किन भेट्न नपाउने भन्ने प्रश्न उठाइहाल्छ र जसले जतिबेला मन लाग्छ, त्यतिबेला भेट्ने अभ्यास अनवरत जारी छ । सम्बन्धित विदेशी मुलुकका प्रतिनिधिका कोणबाट यो उनीहरूको सफलता हो भने हाम्रा लागि लाजमर्दो विषय हो ।

नेपालमा खासमा कुनै कूटनीतिक आचारसंहिता नै छैन र कसलाई कसले भेट्न हुने वा नहुने भन्ने कुनै मापदण्ड नै छैन । एक पटक नारायणकाजी श्रेष्ठले परराष्ट्रमन्त्री भएको बेला २०११ मा ल्याएको कूटनीतिक आचारसंहिताको भूकम्पका बेला दूतावाससँग एक ट्रक सामान माग्ने र त्यसलाई प्रचार नगरिदिन आग्रह गर्ने (रञ्जित रे, काठमाडौं डिलेमा) उनको ‘कूटनीति’ सँगै धज्जी उडिसकेको छ । त्यसपछि त्यति झन्झट उठाउने कष्ट पनि कसैले गरेको छैन । अर्थात्, कूटनीतिक भेटघाटको अभिप्राय, अभिलेख र कार्यसूचीका बारेमा नेपाल सरकारसँग कुनै सूचना छैन ।

विदेशीसँग ‘डिल’ गर्नका लागि परराष्ट्र मन्त्रालय छ, त्यहाँ विभिन्न महाशाखा/शाखाहरू छन् । उनीहरूसँग केही न केही संस्थागत स्मरणहरू हुन्छन् । तर, हामीकहाँ दिनदिनै कुनै न कुनै मन्त्रीले विदेशी दूतहरूलाई भेटिरहेको पाइन्छ । मन्त्रालयको कामको प्रकृतिकै कुरा गर्ने हो भने हाम्रो जस्तो विदेशीका परियोजना छ्याप्छ्याप्ती भएको मुलुकमा कुनै न कुनै रूपमा वैदेशिक विषय नजोडिने मन्त्रालय छैनन् ।

ती सबैलाई एकीकृत रूपमा संयोजन गर्ने काम परराष्ट्र मन्त्रालयले गर्नुपर्ने गरी संगठन ढाँचा निर्माण गरिएको छ । आर्थिक सहयोग, ऋण, अनुदान जस्ता विषयहरू प्रत्यक्ष जोडिने र त्यसैमा काम गर्ने भएका कारण अर्थ मन्त्रालयसँग छलफल र परामर्श हुने कुरालाई स्वाभाविक मान्न सकिन्छ । त्यसबाहेकका बाँकी मन्त्रालयले आफैं विदेशी दूतहरूसँग कुरा गर्नुपर्ने कुनै आवश्यकता नै छैन । उदाहरणका लागि गृह, भौतिक योजना, सहरी विकास, पर्यटन वा वनमन्त्रीले विदेशी राजदूत भेटेर सिधै कुराकानी गर्ने हो भने परराष्ट्र मन्त्रालयको के काम बाँकी रहन्छ ? सोही विषयका विदेशीमन्त्री आएछन् वा मन्त्रालयकै कुनै कार्यक्रम भएछ भने बाहेक परराष्ट्रमन्त्रीबाहेकका अरू मन्त्रीहरूले विदेशी भेट्नुपर्ने कुनै कारण छैन ।

हामीमा रहेको लघुताभास विदेशीहरूलाई भेट्नमा भइरहेको प्रतिस्पर्धाबाट पनि मुखरित हुन्छ । कुनै पनि देशको कर्मचारी तहको अधिकारीले सिधै राष्ट्रपतिलाई भेट्ने चलन अन्यत्र कहीँ पनि पाइँदैन । यहाँ त राजदूतले नियमित रूपमा राष्ट्रपतिलाई भेटिरहेका हुन्छन्, मन परेका राजदूतको पहुँच सिधै प्रधानमन्त्रीकहाँ हुन्छ । यसबाट एकातिर राष्ट्रका रूपमा नेपालको स्तर कहाँ पुगिरहेको छ भन्ने सन्देश जान्छ भने अर्कातिर हाम्रा उच्च पदस्थहरू कति फुर्सदिला छन् भन्ने पनि थाहा हुन्छ । कम्तीमा राष्ट्रपति र प्रधानमन्त्रीले कुन तहको अधिकारीलाई भेट्ने भन्ने तय नगर्दा देशको कूटनीतिक मर्यादामै आँच आइरहेको छ ।

विदेशस्थित हाम्रा दूतावासहरूले पनि बेला–बेलामा समारोहहरूको आयोजना गर्दछन् । त्यसमा कुनै एक जना मन्त्री तहको त कुरै छाडौं, राज्यमन्त्री तहको अतिथि आइदिएछ भने हाम्रा अधिकारीहरूले पुलकित भएर आफ्नो सफलता सुनाइरहेको पाइन्छ । नेपालमा चाहिँ कुनै मुलुकको राष्ट्रिय दिवस वा समारोह हुनुपर्छ, मन्त्रीहरूको लर्को लाग्छ । उपराष्ट्रपतिलाई प्रमुख अतिथि बनाउने चलन बसाल्न खोजिए पनि बाँकीका हकमा छेकवार छैन । अझ कसैलाई निम्तो प्राप्त भएन भने फोन गरेर मलाई यस वर्ष निम्तो किन आएन भनेर मन्त्रीहरूले नै सोधेका कुरा पनि बेला–बेलामा सुन्न पाइन्छ । त्यस्ता समारोहहरू काठमाडौंस्थित विदेशी नियोगहरूका शक्ति प्रदर्शन गर्ने अवसर बनिरहेका छन् । अझ त्यस्ता समारोहहरूमा लाग्ने गरेको निजामती कर्मचारी, प्रहरी र सेनाका उच्च पदस्थ अधिकारीहरूको लामले काठमाडौंस्थित दूतावासहरूले नेपालमा के गरिरहेका छन् र उनीहरूको ध्यान केमा केन्द्रित छ भन्ने बुझ्न सघाउँछ ।

नेपालका विदेशमा नियोगहरू छन्, छिटो–छिटो बदलिएर विभिन्न रूप र रंगका राजदूतहरू जाने क्रम जारी छ । त्यहाँ ओहदाको प्रमाणपत्र बुझाउन कति कुर्नुपर्छ भन्ने अनुभूति सबैले सँगालेकै छन् । आफ्नो कार्यकालभरि राष्ट्रपतिसँग त्यही एक पटक भेट हुन्छ भने प्रधानमन्त्रीसँग औपचारिक भेटवार्ता गर्ने अवसरै जुट्दैन । विदेशमन्त्रीसँग सन्दर्भवश भेट भइहालेछ भने पनि त्यो नियमितताभित्र पर्ने विषय होइन । हालै चीनको राजदूतबाट फिर्ता बोलाइएका विष्णुपुकार श्रेष्ठले विदेशमन्त्री वाङ यीसँग बिदाइ भेट पनि नपाएर लिखित पत्र पाउँदा खुसी भएको समाचार सार्वजनिक भएको छ । यस्ता दृश्यहरूले सरकारमा बस्ने, नीति बनाउने र कार्यान्वयन गर्नेहरूलाई कुनै न कुनै शिक्षा त दिनैपर्ने हो ।

मर्यादाक्रम (प्रोटोकल) लाई आफैंमा सबैथोक हो भन्न नसकिएला । तर, राज्यका रूपमा त्यसका केही निश्चित मर्यादाहरू हुन्छन्, जसलाई पालना गर्नु अनिवार्य हुन्छ । मर्यादाक्रम पनि शक्तिले निर्धारण गर्दछ । हालै (अगस्ट २९, २०२४) अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभान बेइजिङ पुग्दा चिनियाँ राष्ट्रपति सी चिनपिङ स्वयम्ले भेट्नुमा मर्यादाक्रमले काम गरेको होइन, चीन–अमेरिका सम्बन्धको महत्त्वले काम गरेको हो ।

नेपालले पनि साह्रै धेरै मर्यादाक्रमको कुरा मात्रै गरेर काम त नचल्ला तर निश्चित रूपमा केही सीमारेखाहरू नकोर्ने हो भने जसले जे गरे पनि हुन्छ भन्ने कुरा नै ‘मर्यादाक्रम’ हुन्छ । उदाहरणका लागि– कम्तीमा राष्ट्रपतिले क–कसलाई भेट्ने हो भन्ने कुरा त तय गर्न सकिन्छ । राष्ट्रपति भनेको हाम्रो गणतन्त्रको प्रतीक हो, नेपाल राष्ट्रको एक नम्बर व्यक्ति हो । आलंकारिक भए पनि देशको शासन राष्ट्रपतिका नामबाट चल्दछ, राष्ट्रका निर्णयहरूले राष्ट्रपतिकै नामबाट अन्तिम वैधानिकता पाउँछन् । यस्तो संस्थालाई जो आए पनि चाहेको बेला भेट्न सक्ने गरी सस्तो बनाइयो भने देशको मर्यादा कसरी कायम हुन्छ ? केही वर्षअघि त चीनबाट पर्यटकहरूलाई नेपाल भ्रमण गराउने प्याकेजमा उपराष्ट्रपतिसँग भेट र तस्बिर लिने अवसरलाई पनि समावेश गरिएको सुन्न पाइएको थियो ।

आजको कूटनीतिक सरकारी तहमा मात्र सीमित छैन । धेरै मुलुकहरूले सार्वजनिक कूटनीति (पब्लिक डिप्लोम्यासी) को अवधारणा पछ्याइरहेका छन् । अर्थात् राज्य–राज्यका बीचमा मात्र सीमित नभएर सामजिक संघसंस्था, व्यक्ति वा समूहहरूका माध्यमबाट आम मानिसहरूसम्म पनि कूटनीतिलाई पुर्‍याउने अभ्यास चलिरहेको छ । नेपालमा चाहिँ यो काम धेरै नै भएको छ । बिनारोकटोक संघ/संस्थाहरूले विदेशी नियोगसँग गरिरहेको हिमचिम र सहकार्यलाई अनुगमनको त कुरै छाडौं, अभिलेख पनि छैन । यसबाट कसका एजेन्डा के हुन् र कसरी समाजमा बीजारोपण भइरहेका छन् भन्ने कुरा हाम्रो राज्यलाई थाहै छैन । कुनै देशमा प्रतिजासुसी संस्थासमेत छैन भने यसैबाट बुझ्दा हुन्छ, सक्नेले नेपालमा केसम्म गरिरहेको होला ? राज्य अनुदार हुनुहुन्न, नेपाल विल्कुल अनुदार छैन ।

तर, उदारताको अर्थ नांगै हुनु होइन । आफूले केही पनि गर्न नसक्ने अनि अरूलाई सबै गर्न छुट दिनु उदारता होइन । उदारवाद अवलम्बन गरेका, लोकतन्त्रको ठेक्का लिएर बसेका, विश्व शान्तिको नेतृत्व गर्छौं भन्ने र शक्तिशाली राष्ट्रहरू पनि कूटनीतिमा सानोभन्दा सानो कुरामा छुट दिन पनि तयार छैनन् । राम्रो सम्बन्ध भएका र उदार व्यवस्था अँगालेका क्यानडा, बेलायत र अमेरिकासँग भारतको बेला–बेलामा परिरहेको कूटनीतिक लफडा, कर्मचारी निष्कासन जस्ता दृष्टान्तहरू छन् । जसरी पनि आफ्नो राज्य बलियो बनाउनुपर्छ भनेर चाणक्य र मेकियाबेली जस्ता पुराना विद्वान्हरूले प्रतिपादन गरेका सिद्धान्तहरूलाई ‘राष्ट्रिय हित’ का नाममा नयाँ रूपमा अवलम्बन गरिएको वर्तमान विश्वमा आफ्नो अस्तित्व बचाइराख्न पनि हामीले कूटनीतिक मर्यादाक्रममा न्यूनतम मापदण्ड ल्याउन ढिला भइसकेको छ ।

सानो मुलुकको सबभन्दा ठूलो हतियार भनेकै प्रभावकारी कूटनीति हो । तर, त्यही कूटनीति सञ्चालन गर्ने संयन्त्र परराष्ट्र मन्त्रालयकै संगठनात्मक र कार्यक्षमतात्मक अवस्था दयनीय छ । विदेशमा हाम्रा सातवटा महावाणिज्य दूतावास, तीनवटा स्थायी नियोग र ३० वटा राजदूतावास गरी ४० वटा नियोग छन् । तिनमा काम गर्ने कर्मचारीहरूको संख्या अत्यन्त न्यून छ ।

सिंगो पराष्ट्र मन्त्रालयअन्तर्गत जम्मा २ सय ९२ दरबन्दी छ, जबकि त्यति कर्मचारी कुनै–कुनै विभागमै हुन्छन् । उनीहरूलाई तालिम, प्रशिक्षण र अवसर प्रदान गरेर दक्ष बनाउने र देशको कूटनीति उनीहरूमार्फत नै सञ्चालन गर्नुपर्नेमा ‘विभिन्न पेसा–व्यवसायमा संलग्न’ देखि ‘आन्दोलनमा योगदान गरेका’ व्यक्तिहरूलाई राजदूत बनाएर समग्र कूटनीतिको नूर गिराउने काम भइरहेको छ । कूटनीतिक नियुक्तिहरूमा नाता र दाता हाबी भइरहेका बेला धेरै अपेक्षा गर्न नसकिए पनि भेटघाटहरूमा न्यूनतम मर्यादाको ख्याल मात्रै गर्दा पनि देशको थप बेइज्जत हुनबाट रोक्न सकिन्छ ।

कान्तिपुरबाट।