कञ्चनपुर, १२ असोज। बर्खायामको समय, जंगलभित्र हिँड्न त्यति सहज हुँदैन । तैपनि सुनसरी, धरानकी २६ वर्षीया सिमरन ढकाल सुनौलो तोप चराका बारेमा अध्ययन गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छिन् । २०७८ मा वन विज्ञानमा स्नातक गरेकी उनी बाह्रैमास यस निकुञ्जमा पाइने उक्त चराको अवस्था र बासस्थानबारे अध्ययनमा छिन् ।
घरकी जेठी छोरी सिमरनलाई स्वदेशमै केही गर्ने दबाब थियो । एकपछि अर्को गरी साथीभाइहरू विदेश गइरहेका बेला उनी भने तोप चराको अध्ययन गर्ने हुटहुटीले पछिल्लो ६ महिनायता शुक्लाफाँटाका घाँसेमैदान चहारिरहेकी छन् । यसकै अध्ययनका लागि उनले रुफर्ड फाउन्डेसनको आर्थिक सहयोग पनि पाएकी छन् ।
सुनौलो तोप चरा अति संकटापन्न चरामध्येको एक हो । यो नेपालको शुक्लाफाँटामा मात्रै पाइन्छ । भारतमा उत्तराखण्डको रुद्रपुर क्षेत्रमा मात्रै पाइन्छ । यो चराले आकर्षक गुँड बनाउने भएकाले ‘इन्जिनियर चरा’ पनि भनिन्छ । यो चराको संख्याका बारेमा नेपाल पन्छी संरक्षण संघले विगतमा प्रजनन् समय असारदेखि भदौसम्म अध्ययन गर्दै आएको छ । तर यसपटक भने त्यसअघिदेखि नै अध्ययन सुरु भएको सिमरनले बताइन् ।
‘प्रजनन् समय सुरु हुनुभन्दा दुई–तीन महिनाअघिदेखि नै यसको अध्ययन सुरु गरिएको छ,’ उनले भनिन्, ‘चैत–वैशाखमा पनि निकुञ्जको शुक्लाफाँटा घाँसेमैदानमा यो चरा राम्रो देखिएको छ ।’ उनका अनुसार यसअघि उक्त समयमा यो चराका बारेमा कुनै अध्ययन भएको छैन । प्रायः नर्कट वा खरको ठुटामा यसले गुँड बनाउँछ । कतिपय होचा रूखहरूमा पनि गुँड बनाउने गरेको पाइएको उनले बताइन् । चैत अन्तिमतिर शुक्लाफाँटामा एकै बथानमा ७०–८० वटासम्म तोप चरा भेटिएको उनले बताइन् । तर त्यतिबेला गुँड भने बनाइसकेका थिएनन् । यो चराले प्रजनन्का समयमा मात्रै गुँड बनाउने उनले बताइन् । कागलाई झुक्याउने गरी खाली गुँड (फल्स नेस्ट) र अर्कोमा बस्ने गरी गुँड बनाउने गर्छ ।
सुनौलो तोप चरा अन्य समयमा खैरो देखिने भए पनि प्रजनन्का समयमा पहेंलो देखिन्छ । यसपटक निकुञ्जभित्र २ सयभन्दा बढी गुँड भेटिएको उनले बताइन् । ‘अब हिउँदमा पनि यसको अध्ययन गरिनेछ, त्यसपछि समुदायसँग पनि छलफल तथा अन्तरक्रिया गरिनेछ,’ उनले भनिन्, ‘चराकै अध्ययन गर्ने सोखले यहाँ पुर्याएको हो ।’
ढकालले यसअघि पनि कोशी टप्पु वन्यजन्तु आरक्षमा पहेंलो डंगर गिद्धका बारेमा अध्ययन गरिसकेकी छन् । पहेंलो डंगर गिद्ध पनि संकटापन्न अवस्थामा नै छ । उनले संकटापन्न चराकै अध्ययनमा बढी रुचि भएका कारण सुनौलो तोप चरा रोजाइमा परेको बताइन् ।
उनका बाजे पनि संरक्षणकर्मी नै थिए । सामुदायिक वनका अध्यक्ष भएर उनले गाउँमा वन संरक्षणमा निकै महत्त्वपूर्ण योगदान गरेको जब वनविज्ञान अध्ययन गर्न थालिन्, त्यसपछि मात्रै थाहा पाइन् । त्यही प्रेरणाले पनि उनलाई अध्ययन–अनुसन्धानमा बढी रुचि जागेको हो । वन्यजन्तु तथा चराको अध्ययन त्यति सजिलो छैन ।
कान्तिपुरबाट।