लहान, ६ भदौ। गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीलाई राजनीतिक दार्शनिक भएको बताएका छन्। गिरीको दोश्रो स्मृति दिवसका अवसरमा बिहीबार लहानमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्यसमेत रहेका मन्त्री लेखकले राजनीतिक विषमा गिरीको सोच, सुझबुझले उहाँ दार्शनिक भएको जिकिर गरेका हुन्।
उनले राजनीतिमा गहिरो दखल त थिएनै तर उहाँमा साहित्य, कला, समाज, संस्कार संस्कृतिका बारेमा गहिरो अध्यन र ज्ञान समेत रहेको बताए। मम्तव्यकै क्रममा गृहमन्त्री लेखकले भने, ‘उहाँ ज्ञान, सूचना र जानकारीको समुद्र हुनुहुन्थ्यो। हामी त कुवाँ हौं। एउटा कुवाँले समुद्रको गहिराइको बखान गर्नु कपत उचित छ? म यतिमात्र भन्न सक्छु।’
गृहमन्त्री लेखकले गिरी अद्भूत व्यक्तित्व भएको नेता भएको र उनको ज्ञानले जो कोहीलाई आश्चर्यचकित तुल्याएको बताए। उनी नेपाली कांग्रेसको नेता भएपनि उनको अथाह ज्ञानकै कारण कम्यूनिष्टहरुका पनि गुरु थिए। उनलाई अन्य पार्टीका नेता कार्यकर्ता, सिंगो देश र अन्य मुलुकले पनि उत्तिकै सम्मान दिएको लेखकको भनाइ थियो।
गिरीलाई सम्झिँदै उनले भने, ‘उहाँको ज्ञानको स्तर यस्तो थियो कि कम्युनिष्ट पार्टीकै ठूल्ठूला नेताहरु भन्नुहुन्थ्यो यदि नेपालमा कम्युनिष्टकै विषयमा कोही स्पष्ट जानकार छन् भने उहाँ भनेको प्रदीप गिरी हो।’
गिरीको अभाव मुलुकलाई जहिल्यै खड्किरहने भन्दै उनले उनको आदर्श व्यक्तित्वबाट सबैले प्रेरणा लिनुपर्ने उनले बताए। ‘उहाँको जस्तो अद्भूत र अलौकिक व्यक्ति गुमाउनु यो मुलुकका लागि अत्यन्त दुःखको विषय हो, उहाँको अभाव खड्किरहन्छ,’ उनले भने, ‘उहाँको आदर्श व्यक्तित्वबाट हामीले धेरै कुरा सिक्नुपर्छ।’
स्मृतिसभामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य पदम नरायण चौधरी, प्रदेश अध्यक्ष कृष्ण यादवलगायतका नेताहरुले गिरीका ज्ञान, इमान र लगनशिलताका विषयमा सम्झना गरेका थिए।
लहान १४ को खुट्टी खोलाको छेउमा स्व। गिरी वि.स. २०४६ सालपछि बस्दै आउनु भएको ठाउँ जसलाई प्रदिप गिरीको आश्रम भनेर चिनिने गरिन्छ। स्वर्गीय गिरीलाई बिपीको समाजवादी चिन्तनको सच्चा व्याख्याताका रूपमा समेत हेर्ने गरिन्छ। नेता गिरिको ललितपुर नक्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा दुई वर्षअघि २०७९ भाद्र ४ गते ७५ वर्षको उमेरमा निधन भएको थियो।