तस्बिर स्रोत,EPA

तस्बिरको क्याप्शन,बुच विल्मोर र सुनिता विलिअम्सले जुन महिनामा आफ्नो 'मिशन' सुरु गरेका थिए
  • माइक वेन्ड्लिङ

दुई अमेरिकी अन्तरिक्षयात्री परीक्षण 'मिशन'का लागि सन् २०२४ को जुन ५ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा जाँदा उनीहरू केही दिनमै फर्किने ठानिएको थियो।

तर योजनाअनुसार कुराहरू भएनन्।

खासमा सुनिता विलिअम्स 'सुनी' र ब्यारी विल्मोर 'बुच' दुई महिनापछि पनि पृथ्वीको धेरैमाथि अन्तरिक्षमै छन्।

अकस्मात् अनिश्चित समयका लागि त्यहीँ अड्किएका उनीहरू पूरै ग्रीष्म याम पनि त्यहीँ रहने सम्भावना देखिएको छ।

सायद उनीहरूले क्रिसमस र नयाँ वर्ष २०२५ पनि अन्तरिक्षमै मनाउनुपर्ने हुन सक्छ।

किन अड्किए?

एकसठ्ठी वर्षीय विल्मोर र ५८ वर्षीया विलिअम्स 'बोइङ स्टारलाइनर' अन्तरिक्षयान चढेर 'आईएसएस'तिर गएका थिए।

यस्तो खालको त्यो पहिलो उडान थियो र नयाँ अन्तरिक्षयान निरन्तर रूपमा प्रयोगमा ल्याउनुअघि परीक्षणका लागि पठाइएको थियो।

तर त्यसमा समस्याहरू देखिए। सञ्चालन ('प्रपल्शन') प्रणालीमा समस्या देखियो र यसका केही इन्जिनहरू ('थ्रस्टर') पनि बन्द भए।

उनीहरूले अन्तरिक्षकेन्द्रसम्म उक्त यानलाई पुर्‍याए पनि अब भने 'स्टारलाइनर' सुरक्षित फर्किने नदेखिए उनीहरूलाई घर फर्किन विकल्प चाहिन्छ।

बुधवारको ब्रिफिङका क्रममा नासाका अधिकारीहरूले अरू कदमहरू केके हुन सक्छन् भन्नेबारे कुनै निर्णयहरू नगरिएको बताएका छन्।

"हाम्रो पहिलो विकल्प भनेको बुच र सुनी स्टारलाइनरमा फर्किऊन् भन्ने हो," नासाको 'कमर्शल क्रू' कार्यक्रमका व्यवस्थापक स्टीभ स्टिचले भने। "यद्यपि हामीले आवश्यक योजनाहरू पनि गरेका छौँ ताकि हामीसँग अरू विकल्प पनि खुला भएको यकिन होस्।"

अबको विकल्प

निकै लामो र कठिन प्रयासपछि विकसित 'स्टारलाइनर' यानले पहिलो पटक मानिसलाई अन्तरिक्षमा पुर्‍याएको हो।

संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित 'केनडी स्पेस सेन्टर' बाट गत जुन महिनामा उक्त यान प्रक्षेपण गरिएको थियो।

यसअघि उक्त यान प्रक्षेपण गर्ने प्रयास दुई पटक विफल भएको थियो।

 

नासाले विचार गरिरहेको एउटा सम्भावित विकल्प भनेको दुई जना अन्तरिक्षयात्रीहरूलाई अर्को 'मिशन'मा जोड्नु हो। त्यो 'मिशन' आउँदो सेप्टेम्बरमा प्रक्षेपण हुनेछ र सन् २०२५ को फेब्रुअरीमा पृथ्वीमा फर्किने छ।

अन्तरिक्ष केन्द्रमा हुने त्यो उडान 'स्पेसएक्स क्रू ड्र्यागन' यानबाट हुनेछ।

प्रारम्भिक योजनाअनुसार त्यसमा चार जना 'क्रू' सदस्य हुने भन्ने थियो तर आवश्यक परे त्यसमा दुई वटा स्थान खाली राख्न सकिन्छ।

त्यो योजना लागु गर्ने हो भने यी दुई अन्तरिक्षयात्रीहरूले सुरुमा भनिएको आठ दिनको ठाउँमा आठ महिनाभन्दा बढी आईएसएसमा बिताउनु पर्नेछ।

यदि 'क्रू ड्र्यागन' प्रयोग भए स्टारलाइनर यान कुनै सदस्यबिना नै कम्प्युटरको नियन्त्रणको भरमा फर्किने छ।

नासाका अधिकारीहरूका अनुसार त्यसबारे अन्तिम निर्णय गर्न एक वा केही महिना लाग्न सक्छ।

नासाको अन्तरिक्ष सञ्चालनसम्बन्धी निर्देशक केन बोवेरसोक्सले संवाददाताहरूसँग कुरा गर्दै मानिसबिना नै 'स्टारलाइनर' फर्किने सम्भावना "विगतका केही हप्तामा जसरी घटनाक्रम विकसित भए, त्यसले बढाएको" बताए।

"त्यसैले हामीले थप विकल्पहरूबारे हेरिरहेका छौँ ताकि यसलाई राम्ररी व्यवस्थापन गर्न सकियोस्," उनले भने।

अन्तरिक्षयात्रीलाई फर्काउनका लागि 'स्पेक्सएक्स' यानको प्रयोग गर्नु 'बोइङ'का लागि धक्का हुन सक्छ किनभने उसले उक्त कम्पनीसँग प्रतिस्पर्धा गर्न वर्षौँसम्म प्रयास गर्‍यो।

यो साताको सुरुमा, नासाले दुई अन्तरिक्षयात्रीका लागि आवश्यक पर्ने कपडा र खानेकुरा स्पेक्सएक्स रकेटको प्रयोग गरेर पठाएको छ।

गत महिना एउटा छोटो प्रेस ब्रिफिङमा दुई अन्तरिक्षयात्रीले आफूहरू फर्किने कुरामा आफू "पूर्ण रूपमा विश्वस्त" रहेको र स्टारलाइनर “साँच्चै नै लोभलाग्दो” भएको बताएका थिए।

'यहाँ रमाइलो छ'

विलिअम्सका लागि 'आईएसएस'मा यस्तो खालको यो तेस्रो यात्रा हो। उनी यसअघि अवकाशप्राप्त जलसेना हेलिकप्टर पाइलट हुन्। विल्मोर भने लडाकु विमान चलाउने पूर्वपाइलट हुन्, जो यसअघि दुई पटक अन्तरिक्षमा गइसकेका छन्।

“हामी यहाँ पूर्ण रूपले व्यस्त छौँ, यसमै समाहित छौँ,” विलिअम्सले हालैको एउटा कलमा पत्रकारहरूलाई भनिन्।

“घर फर्किएजस्तै भएको छ। वरपर तैरिन रमाइलो हुन्छ। अन्तरिक्षमा हुन र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको टोलीसँग काम गर्न रमाइलो हुन्छ," उनले भनिन्। "त्यसैले यहाँ माथि अन्तरिक्षमा हुन रमाइलो हुन्छ।”

स्टारलाइनर मिशनले अन्तरिक्ष केन्द्र जान र फर्किन निरन्तर प्रयोगका लागि बाटो खोल्ने बोइङले आशा गरेको थियो।

'स्पेसएक्स क्रू ड्र्यागन' नासा मिशनका लागि सन् २०२० यता स्वीकृत हुँदै आएको छ।

यी अन्तरिक्षयात्रीहरूले प्रारम्भिक योजनाभन्दा बढी समय अन्तरिक्षमा बिताए पनि यसरी अझ धेरै समय बिताएका अरू पनि छन्। सन् १९९० को दशकमा रुसी अन्तरिक्षयात्री भलेरी पोल्याकोफले मिर अन्तरिक्ष केन्द्रमा ४३७ दिन बिताएका थिए।

गत वर्ष फ्र्याङ्क रुबियो 'आईएसएस'बाट ३७१ दिनपछि पृथ्वी फर्किए। कुनै पनि अमेरिकीले अन्तरिक्षमा बिताएको यो सबैभन्दा लामो समय हो।

रुसका ओलेग्कोनन्काले आफ्नो करिअरको क्रममा अन्तरिक्षमा १,००० दिनभन्दा बढी समय बिताएका छन्।

अहिले अन्तरिक्षमा रहेका दुई अमेरिकी अन्तरिक्षयात्रीसँग उनीहरूको अवस्थाबारे सोध्दा अन्तर्वार्ताका क्रममा उनीहरू आफ्नो अवस्थाबारे उत्साही छन्।

विलिअम्सले गत महिना भनेकी थिइन्, "यहाँ अरू थप साताहरू बस्नुपर्छ भनेर म गुनासो गर्दिनँ।"

तर उनीहरूले अरू थुप्रै साता त्यहाँ बस्नुपर्ने हुन सक्छ।

बीबीसीनेपालीबाट।

SHREEJANA