जनकपुरधाम, २५ असार। धनुषाको गणेशमान चारथान नरपालिका १० बरमझिया स्कुलमा कार्यरत शिक्षकले नक्कली अध्यापन अनुमतिपत्र पेश गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ।

विद्यालयका राहत शिक्षक ब्रहमदेव यादवले २०६३ सालदेखि नक्कली स्थायी अध्यापन अनुमति पत्र पेश गरी नि.मा.वि. राहत शिक्षक नियुक्ति भई तलव भत्ता खाइरहेकोभन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारमा परेको उजुरी निवेदनको अनुसन्धान हुँदा यादवले शिक्षक सेवा आयोगवाट जारी भएको भनिएको झुट्टा तथा नक्कली स्थायी अध्यापन अनुमति पत्र साविक श्री निम्न माध्यमिक विद्यालय हाल श्री माध्यमिक विद्यालय बरमझियामा पेश गरी नि.मा.वि. राहत कोटामा नियुक्ती लिई हालसम्म कार्यरत रहेको छ।

शिक्षक यादवले ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको प्रवक्ता नरहरी आचार्यद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

lang laife