क्रोसिया, २४ असार। युरोपेली देश क्रोसियाको राजधानी स्थित जाग्रीब शहरमा नयाँ नेपाली मार्केटको उद्घाटन भएको छ। कबिर २३ हजार नेपाली समुदायको बसोबास रहेको क्रोसियामा नेपाली समुदायलाई लक्षित गरेर आइतबार एक औपचारिक कार्यक्रम गर्दै ‘काठमाडौं लाइफ’ नामक मार्केटको उद्घाटन भएको हो।

नेपाली हिन्दु सस्कार अनुसार मार्केटको द्वारमा मैन बत्ती प्रज्वलित गर्दै एनआरएनए क्रोसियाका अध्यक्ष साइमान लामाले नरिवल फुटाएर उक्त मार्केटको उद्घाटन गरेका हुन्।

तीन नेपाली युवा व्यावसायिक शैफुल्ला मन्सुर , मनोज महर्जन र दिपक कडेलको ठुलो लगानिमा ‘काठमाडौ लाइफ’ मार्केट शुरु गरिएको छ। मार्केटका डाइरेक्टर म्यानेजर शैफुल्ला मन्सुरका अनुसार युरोपका कुनै पनि देशमा समेत नेपाल मा उत्पादित खाद्य सामाग्री अनलाइनका माध्यमबाट डेलिभेरी सेवा पनि उपलब्ध गराइने छ।

उनका अनुसार नेपाली दाल, चामल, खुर्सानी , कोदो, मकैको पिठो, तोरिको तेल, नौनी घिउ, अचार, मसला, गुन्द्रुक, खसिको मासु लगाएतका सामाग्री राखिएको छ। क्रोसियामा नेपाली समुदायको चाप बढेसँगै यहाँ विभिन्न नेपालीले पसल तथा होटल लगाएतका व्यावसाय सुरु गरेका छन्। काठमाण्डौ मार्ट, बुद्द मार्ट, आप्पा होटल, सिद्दार्थ होटल, हिमालय होटल र एभरेस्ट होटल लगाएतका ब्यबसाय यस अघि देखि नै क्रोसियामा संचालनमा रहँदै आएका छन्।