जनकपुरधाम, ११ असार। आमसञ्चार प्राधिकरण मधेश प्रदेशले कार्यालयको गतिविधि सार्वजनिक गरेको छ। प्राधिकरणले मंगलबार जनकपुरधाममा एक कार्यक्रम आयोजना गरी तीन आर्थिक वर्षको गतिविधि सार्वजनिक गरेको हो।
प्राधिकरणले गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवको प्रमुख आतिथ्यमा तीन आर्थिक वर्षमा गरेको कार्यक्रम सार्वजनिक गरेको हो। कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव यादवले आगामी दिनमा सम्बन्धित निकायसँग छलफल गरेर पत्रकारिता क्षेत्रलाई सबल बनाउने कार्यक्रमको आयोजना गर्ने बताए।
प्राधिकरणलाई सबल बनाउन अझै थुप्रा काम बाँकी रहेको बताउदै सचिव यादवले नियमावली र कानुन संशोधन गरी सञ्चार क्षेत्रलाई थप बलियो बनाउने कार्यमा मन्त्रालय सधैँ अग्र स्थानमा रहने प्रतिबद्धता जनाए।
यस्तै, कार्यक्रमका वक्ताले प्राधिकरणलाई राजनीतिक नियुक्ति प्रक्रियालाई परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनीले प्राधिकरणले वितरण गर्ने विज्ञापनमा बजेट बढाउनुपर्ने माँग राख्दै समानुपातिक प्रणालीबाट विज्ञापन वितरण गर्न आग्रह समेत गरे।
प्राधिकरणले प्रदेशका सम्पूर्ण सञ्चारमाध्यमको तथ्याङ्क सङ्कलन गरी नियमित अनुगमन थालेको छ। नियमित सञ्चालनमा रहेका रेडियो, एफएम, टेलिभिजन तथा पत्रपत्रिकालाई वर्गीकरण आधारमा लोक कल्याणकारी विज्ञापन वितरण गर्दै आएको छ।
महिला पत्रकारका लागि स्वास्थ्य र दुर्घटना बिमाको समेत व्यवस्था गरेको छ। पत्रकारिता सम्बन्धी विभिन्न तालिम, गोष्ठी, सञ्चारकर्मी महिलालाई आत्मरक्षा तालिम समेत सञ्चालन गर्दैआएको छ।
कार्यक्रमका अध्यक्ष तथा प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले तीन वर्षको कार्यकाल कर्मचारीको अभावमा बिताएको गुनासो गरे। सधैँ कर्मचारी अभाव तथा आर्थिक वर्षको अन्त्यमा आउने बजेटको समस्याका कारण लक्ष्य अनुसारको काम गर्न नसकेकोप्रति दुख व्यक्त गरे।
कार्यक्रममा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, पत्रकार विश्वमणि खनाल, पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अवधेश कामतसहितको उपस्थिति थियो।