कटारी, ७ असार। आर्थिक अवस्था कमजोर भएकै कारण कापी नलिई विद्यालय गएका कटारी नगरपालिका २ स्थित कमला आधारभुत विद्यालय खोक्सामा ३ कक्षामा अध्ययनरत एक छात्रलाई शिक्षकले नै दुव्र्यहार गरेका छन्। मंगलवार विहान विद्यालय पुगेका ७ वर्षिय छात्रलाई विद्यालयका शिक्षक नातीबाबु भट्टराईले कापी नलिई आएको भन्दै मार्करले निधार र गालामा ठूलो अक्षरमा ‘मेरो कापी छैन्’ लेखेर विद्यालयबाट घर पठाईदिएका हुन्।
आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय जाँदा छोराले कापी नलगेको छात्रका बुवाले बताए। ‘विहान स्कूल पठाएको आठबजेतिर स्कूलबाट रेष्टिकेट नै गरेजस्तो गरी मार्करले निधार र गालामा लेखेर घर पठाईदिएछन्,’ उनले भने, ‘त्यसरी घर पठाएको देखेपछी सबैले हाँस्दै बाटोमै फोटोहरु खिचेछन्, अनि हिजो फेसबुक तिर हालिदिएछन्।’
‘फोन गरेर भनेको भएपनि हुने थियो त्यसरी मार्करले लेखेर रेष्टिकेट गरे जसरी पठाएछन् ,’दुव्र्यहारमा परेका छात्रको अभिभावकको आर्थिक अवस्था कमजोर नै रहेको वडाध्यक्ष प्रेम थापाले बताए। वडाध्यक्ष थापाका अनुसार दुव्र्यहार गर्ने शिक्षक भट्टराई राहत शिक्षक हुन्।
सामाजिक संञ्जालमा दुव्र्यहारमा परेका छात्रको फोटो सार्वजनिक भएपछी घटना वाहिरिएको हो। सार्वजनिक भएको फोटोमा प्रतिकृया जनाउँदै शिक्षक भट्टराईले घटनाको स्विकार गरेका छन्। ‘अभिभावकले दिने उपहार स्वरुप यो सहर्ष स्विकार्दै भोलिका दिनमा यस्ता कुरा तपाई सुझाव दाताको सुझावलाई मनन गरी अगाडी वढ्ने छु ’उनले लेखेका छन् ,उनले प्रतिकृयामा पटक पटक कापी, पेन्सिल नहुँदा अभिभावकलाई खबर गरेको फोनले पनि काम नगरेको दावी गर्दै यस्तो गर्न वाध्य पारेको भन्ने खालको प्रतिकृया दिए।
सामाजिक संञ्जालमा फोटो सार्वजनिक भएसँगै शिक्षक भट्टराई आज विहान छात्रको घर पुगेको र अभिभावकहरु समक्ष गल्ति गरेको स्विकार गरी माफ मागेका छन्। माफी मागेर उक्त छात्रलाई विद्यालय लगेर गएका उनले कक्षा कोठामै पुन छात्रको भिडियो बनाएर घटनाको वास्तविकताबारे प्रश्न उत्तर गरी सामाजिक संञ्जालमै प्रतिउत्तर दिएका छन्।
यस्तो प्रकृतिको घटनामा वालकको फोटो सार्वजनिक हुनुले वालमनोविज्ञानमा भविष्यसम्म ठूलो नकारात्मक असर पर्ने देखिन्छ। साथै उनै शिक्षकले पुन कक्षा कोठामै भिडियो अन्र्तवार्ता गरी जवाफी प्रतिकृया दिनुले यहाँ आर्थिक अवस्था कमजोर भएकै कारण वालकको मनोविज्ञानमा असर पुराउने कार्यहरु भईरहेका छन्।
विद्यालयका प्रधानाध्यापक घमण्ड कटुवालले शिक्षक भट्टराईले गलत गरेका स्विकारे। छात्रका आमा समेत विद्यालय व्यवस्थापन समितिको सदस्य रहेकाले छलफल गर्नुपर्ने अवस्थामा घटना घट्नु दुःखद रहेको प्रअ कटुवालले बताए।
घटना वाहिरिएपछी कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले शिक्षक भट्टराईलाई कार्वाही गरिने बताए। ‘नगर शिक्षा समिति वसेर छलफल गरी हुनेसम्मको कार्वाही गर्छौं ,’मेयर श्रेष्ठले भने, ‘वालहिंसा लगायतका कानुनी प्रकृयाका बारेमा पनि बुझेर अघि बढ्छौं।’