काठमाडौं, २ जेठ। नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ।

बलात्कार आरोपमा मुद्दा खेपीरहेको लामिछानेलाई पाटन उच्च अदालतले सफाई दिएको फैसला बमोजिम निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका हुन्।

पाटन उच्च अदालतले आजै सन्दीपलाई बलात्कार मुद्धामा सफाई दिएको छ।

जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो।

गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो।

उक्त फैसला उल्टाउन माँग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए। मंगलबार र बुधबारको बहसपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो।