हिजोआज पाठ्यसामग्रीहरू पढ्न कागजी पुस्तक चाहिंदैन। विभिन्न डिजिटल उपकरणहरूमा सोझै पढ्ने प्रचलन बढेको छ। शिक्षक होउन् या विद्यार्थी, प्रायः ‘स्क्रिन’मै पढ्ने संस्कार व्याप्त भइसकेको छ। तर अध्ययनहरूले पाठ्यसामग्रीहरू मोबाइल, ट्याब्लेट र ल्यापटप, डेस्कटप आदि कम्प्युटरका स्क्रिनमा पढ्दा खासगरी विद्यार्थीलाई फाइदा भन्दा बढी हानि भइरहेको देखाएका छन्। यो तथ्य डिजिटल माध्यमको पठनपाठनमा रमाइरहेका शिक्षकहरूका लागि पनि सोचनीय विषय बनेको छ।
२०२३ को डिसेम्बरमा सेज जर्नलमा प्रकाशित एउटा अनुसन्धान नतिजाको निष्कर्ष छ– विषयवस्तुको बुझाइका दृष्टिकोणबाट डिजिटल सामग्रीको पठन– छापा माध्यममा पढ्दा जति लाभदायक हुन सक्दैन। यो निष्कर्ष निकाल्न नर्सरीदेखि कक्षा-१२ सम्ममा देखि विश्वविद्यालय तहका प्राज्ञिक विद्यार्थीहरू समेतको फुर्सदको बेला पढ्ने तौरतरिका र बुझइमा परेको प्रभावबारे बितेका दुई दशकमा भएका विभिन्न २६ वटा अनुसन्धानका नतिजाहरूलाई गहिरोसँग केलाइएको दाबी गरिएको छ।
शोधकर्ताहरूको निष्कर्ष छ- केही विद्यार्थीका लागि त डिजिटल पठन असाध्यै हानिकारक छ। किनभने सानै उमेरदेखि कम्प्युटर, ट्याब्लेट या मोबाइल फोनको स्क्रिनमा पढ्ने विद्यार्थीका लागि शिक्षाको जग बसाल्नुपर्ने उमेरदेखि नै बुझइको सीप र बोध गर्ने क्षमता कमजोर हुन थाल्छ।
यस्तो नतिजाले अमेरिकी नगर चेस्टर एनजेस्थित एक विद्यालयमा ५० वर्षदेखि निरन्तर सातौं कक्षाको एकीकृत भाषाकला विषय अध्यापनरत जवो पिज्जो नामका एक शिक्षकलाई खुब झ्स्काएको थियो। “विद्युतीय सामग्रीहरूसँग आजकलका बालबालिका यसरी जोडिएका छन् कि कतिपय त हातमा डिजिटल उपकरण लिएरै जन्मिन थालेका छन्। यो उनीहरूको संसारसँगको सम्बन्ध हो”, पिज्जो भन्छन्। विद्यालयमै पठन र बुझाइ (Comprehension) को लाभ राम्ररी लिन नसकेका विद्यार्थीहरूको बोधकला विश्वविद्यालय तहमा पनि निकम्मा हुने खतरा त छँदैछ।
यस्तो परिणामसँगै सिकाइविद्हरूले बाल्यकालको प्रारम्भदेखि नै आधुनिक यन्त्रहरूको सम्पर्कमा रहेका बच्चाहरूको पुस्ताले राम्ररी सिक्न नसक्ने चेतावनी दिएका छन् । थुप्रै अनुसन्धानहरूले त देखाइ नै सके कि छापा पाठ्यसामग्री कम र स्क्रिनमा देखिने डिजिटल अक्षर बढी मात्रामा पढ्दै हुर्किएका बालबालिकाहरूमा पढाइसँग सम्बन्धित क्षेत्रमा मस्तिष्कको सक्रियता नै कमजोर हुन पुग्छ । कोभिड–१९ महामारीको विस्तार सँगै डिजिटल पठन संस्कृतिको यो प्रभाव व्यापक भएको तथ्य पनि आफ्नो ठाउँमा छ । अमेरिकाको एडविक रिसर्च सेन्टरको एक सर्वेक्षण अनुसार सन् २०२१ मा दुई वर्षअघिको तुलनामा विद्यालय तहमै सिकाइका लागि हातहातमै डिजिटल उपकरण लिएका विद्यार्थीको संख्या करिब दुई तिहाइले बढेको थियो।
“डिजिटल पठनलाई अब पन्छाउन सकिंदैन । यो त शिक्षण सिकाइमा अभिन्न भइसक्यो” अमेरिकाको शावनी ओक्लाहोमा विद्यालयमा पुस्तकालय सेवा संयोजक भएर काम गरिरहेका च्यारिटी पेनिङ्टन भन्छन्, “त्यसकारण विद्यार्थीलाई रमाइलोका लागि आख्यान तथा गैरआख्यान पढ्न बानी पार्ने अवसरका रूपमा डिजिटल पठनको उपयोग गर्नुपर्छ ।” यद्यपि उनले सहकर्मीहरूबाट सुनेका छन् कि साना विद्यार्थीहरूले आफ्ना फोन, कम्प्युटर या अन्य डिजिटल यन्त्रलाई अध्ययनका लागि डुबिने पुस्तकको रूपमा देख्दैनन्। जब उनीहरू त्यस्ता उपकरणका बारेमा सोच्छन् या तिनलाई चलाउँछन्, तब तिनले पढाइबारे बिर्सन्छन् । अनि सामाजिक सञ्जाल, गेम या अन्य कुनै मनोरञ्जनको माध्यमका रूपमा प्रयोग गर्न थाल्छन् । अर्थात् मोबाइल, ल्यापटपका स्क्रिनलाई अझ् पनि ज्ञानका लागि गहन अध्ययन गर्ने साधन भन्दा हलुका सूचना, खेल र मनोरञ्जनको साधनकै रूपमा बुझने क्रम ज्यादा छ।
शोधकर्ताहरूका अध्ययन र शिक्षक-अभिभावकका व्यावहारिक अनुभवले पनि भन्छ– आफ्ना डिजिटल उपकरण चलाउन बानी परेका विद्यार्थीहरूलाई पढाइमा एकाग्रता ल्याउन निश्चय नै कठिन हुन्छ। किनभने उनीहरू त्यस्ता यन्त्रलाई पढ्नमा भन्दा खेल्न, रमाउन, भुल्न र सजिलोसँग समय बिताउने माध्यमका रूपमा उपयोग गर्न रुचाउँछन्। अनि त पढाइ र बुझइको स्तर खस्किने नै भयो।
स्पेनको भ्यालेन्सिया विश्वविद्यालयमा विकास र शिक्षा मनोविज्ञानमा विद्यावारिधि गरिरहेकी लिडिया अल्टामुरा गार्सियाले यस खालको सूक्ष्म अध्ययनको नेतृत्व गरेकी थिइन्। उनी भन्छिन्, “डिजिटल स्क्रिनमा पढ्ने विद्यार्थीहरूले बुझाइको सीप (बोधकला) सुधार्न सकेका छैनन्। बरु अझ् खराब भएको पाइएको छ। कलिला विद्यार्थीहरूमा खास के कारणले यस्तो असर परेको हो त्यो चाहिं किटेर भन्न गाह्रो छ।” उनका अनुसार डिजिटल उपकरणलाई पढाइमा उपयोग गर्ने सीप र दक्षता विद्यार्थीहरूलाई पहिले सिकाउनु जरूरी छ। स्मार्ट कक्षामा डिजिटल उपकरणको माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप गरिरहेका शिक्षक र बालबालिकाका अभिभावकहरूका लागि सबैभन्दा उत्तम विकल्प यही हुनसक्छ।
अमेरिकाको इलिनोइस प्रान्तको एक अमेरिकी गाउँ हफम्यान स्टेट्सस्थित जेम्स बी कोन्यान्ट माध्यमिक विद्यालयकी अंग्रेजी शिक्षक एवं विभागीय प्रमुख सुसन हेसले आफ्ना विद्यार्थीहरूमध्ये छापा पुस्तक र डिजिटल पुस्तक पढ्न मन पराउनेको संख्या लगभग बराबरजसो पाइन्। तीमध्ये डिजिटलमा पढ्नेहरू उनीहरूलाई दिइएको पढ्ने कक्षाकार्य छाडेर बीचमै ‘फ्लिप’ गर्दै गेम खेल्ने वा अन्य कुरामा अलमलिने गरेको दृश्य उनको आँखामा पर्यो । जबकि छापा किताब पढ्नेहरू निरन्तर किताबमा तल्लीन रहे।
त्यो अनुभवपछि पहिले गरिएका त्यस्ता अध्ययनका थप नतिजाहरू हेरेकी हेसले भनेकी छन्, “अल्टामुरा ग्रासिया र उनका सहकर्मीहरूले विद्यार्थीहरूको फुर्सदको पढाइबारे लेखिएका शोधपत्रहरूको मात्र परीक्षण गरेका रहेछन्। ती बाहेकका अन्य अध्ययनहरूले पनि कक्षामा स्क्रिन वा सूचना र सञ्चारप्रविधिको प्रयोगबाट हुने पढाइको मूल्यमाथि प्रश्न उठाएका छन्। यो थप अनुसन्धानका लागि परिपक्व भइसकेको विषय हो।” उनले पनि शैक्षिक हानि रोक्न बुझाइको सीप बढाउनका लागि अनलाइन पाठहरू कसरी पढ्ने भनेर विद्यार्थीहरूलाई मार्गदर्शन गर्नमा शिक्षकले थप समय खर्चनुपर्ने सुझव दिएकी छन् ।
(शिक्षा र सिकाइमा केन्द्रित अमेरिकी अनलाइन समाचार पोर्टल edweek.org मा १७ जनवरी, २०२४ मा प्रकाशित रिपोर्टको भावानुवाद)
अनुवादः एकल सिलवाल