सिरहा, १९ बैशाख। सिरहाको मिर्चैयामा सञ्चालित पाँच दिवसीय आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ। गल्स फष्ट फण्डको सहयोग र दलित विकास मञ्च, गोलबजारको आयोजनामा पाँच दिवसिय पत्रकारीता तालिम सम्पन्न भएको हो।
तालिमको समापन समारोहमा मिर्चैया नगरपालिकाका उपप्रमुख रेख कुमारी यादवले यस्ता खालका तालिमहरुले गाउँ घरमा हुने विक्रिती, विसंगतीविरुद्ध सञ्चारको माध्यमबाट आवाज उठाउन मदत पुग्ने बताए।
उनले तालिममा सहभागी किशोर किशोरीहरुले यसको महत्व अवश्य पनि बुझेको हुनुपर्ने भन्दै आउँदा दिनहरुमा समाजमा हुनेगरेको सकारात्मक कामहरुको प्रशंसा र विक्रितिहरुको भण्डाफोर गर्ने विश्वास लिएको बताए।
सोही क्रममा उनले सञ्चारक्षेत्रमा सक्रिय नभएपनि तालिमले किशोर किशोरीको व्यक्तित्व विकास समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
तलिममा संचारको महत्व, यसको प्रकार, समाचार लेखन, न्यू मिडीया र प्रविधिसम्बन्धी प्रशिक्षण प्रदान गरिएको संस्थाका कार्यक्रम संयोजक सरिता कुमारी महराले जानकारी दिए। उनका अनुसार सञ्चाकर्मी आशिष विश्वकर्माले सहजीकरण गरेको प्रशिक्षणमा आधारभुत पत्रकारीताका विषयमा विभिन्न कोणबाट छलफल र अभ्यासहरु समेत भएको आयोजकले बताए।
तालिममा संस्थाद्वारा मिर्चैया नगरपालिका र कल्याणपुर नगरपालिकामा गठित चारवटा किशोर किशोरी समूहका २० जना किशोर किशोरीहरुको सहभागिता थियो।
मञ्चका अध्यक्ष रुना कुमारी महराको अध्यक्षता र रविन कुमार महराको सञ्चालनमा तालिमको समापन भएको थियो। अध्यक्ष महराले तालिमका निरन्तर र चासो पूर्वक सहभागी भएकोमा किशोर किशोरीहरुलाई धन्यवाद दिदैं आफूले शिकेका कुराहरुलाई व्यवहारमा लागु गर्नु पर्नेमा जोड दिए।
तालिममा सहभागीहरुले तालिमबाट पत्रकारीता र पत्रकारका विषयमा आफ्नो बुझाई फराकीलो भएको बताए। उनीहरुले सञ्चारको विषयमा धेरै जान्ने अवसर मिलेको बताए।
सोही क्रममा बाल विवाह, यसका असरहरु र बाल विवाहका विषयमा नेपालको कानुनले व्यवस्था गरेका विषयहरुको विषयमा समेत छलफल भएको बताए।