सुनसरी, २८ माघ। सुनसरी प्रहरीले एक सय ४९ केजी प्रतिवन्धित लागुऔषध गाँजा सहित १४ जनालाई नियन्त्रण्मा लिएको छ। विशेष सूचनाको आधारमा प्रहरीले धरान उपमहानगरपालिका १३ जिरोप्वाइन्टबाटबाट ती परीणाममा प्रतिवन्धित लागुऔषध गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।
अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै बिआर १० पि ९१५४ नम्बरको बोलेरोबाट ५० किलो गाँजासहित चालक भारत बिहार कुर्निया बस्ने ३१ वर्षीय मनोरन्जन मुइमार समेत ४ जना र एमपि १७ टिए ०५१२ नम्बरको बोलेरोबाट ९९ किलो गाँजासहित चालक भारत बिहार कुर्निया बस्ने ३९ वर्षीय गोपी मण्डलसमेत ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
साथै उक्त लागूऔषधको कारोबारमा संलग्नरहेको आसंकामा बिआर १० एजे ४४८६ नम्बरको कारमा सवार भारत बिहार कुर्निया बस्ने २३ वर्षीय सन्तोष साहसमेत ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएका उनीहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।