जीवछ यादव
लहान, १८ माघ। मिर्चैया नगरपालिकाको ग्रामीण भेगका स्थानीयहरुलाई सहरी क्षेत्रसँग आवतजावत गर्न जिवाखोलामा पुल निर्माण भएपछि खुसी भएका छन्। २५ मिटर लम्बाइ पुल निर्माणको कार्य २०७८ मा शिलान्यास भई चार महिनाअघि सम्पन्न भएपछि स्थानीय खुसी भएका हुन्।
स्थानीयहरुको अनुसार जिवाखोलामा पुल नहुँदा थप तीन किलोमिटर घुमेर मिर्चैया बजारको कामले र नगरपालिकाको कामले जानुपर्दथ्यो। वर्षातको समयमा रजैया सडक पूरै बन्द रहन्थ्यो। पुल निर्माण भएपछि तीन किलोमिटर बाटो छोटियो।
ग्रामीण भेगबाट जाने पूर्व पश्चिम पूर्वमा चोहर्वा सिराहा खण्डका नरहा र विषणुपुर गाउँपालिकादेखि बडहरामाल हुँदै कमलासम्म बीस किलोमिटर सडकमा मिर्चैया नगरपालिकाले जीवाखोलामा पुल निर्माण गरिदिएपछि एउटा समस्या टरेको स्थानीय हेमकुमार यादवले बताए।
बतहा खोलाको पुल निर्माण सम्पन्न भएपछि रजैया सडक वैकल्पिक सडकको रुपमा प्रयोग गरेर हिमाल सुगर मिलसम्म सजिलै उखु पुर्याउन किसानहरुको लागि सहज हुने दक्षिणी भेगका किसानहरुले खुसी व्यक्त गरे।
पटकपटक विगतका सङ्घीय चुनाव, प्रदेशसभाको चुनाव र त्यसभन्दा अघि प्रतिनिधि सभाको चुनावहरुमा जिवा र बतहा खोलामा पुल निर्माण गरिदिइने ठूलाठूला प्रतिबद्धता किसानसँग गरे पनि कसैले पूरा नगरेको स्थानीय कृषक जुगेश्वर यादवले सुनाए। किसानको सपना सकार गर्न नगरप्रमुख यादवले जिवाखोलामा पुल निर्माण भयो र बतहामा काम जारी छ। अब किसानलाई उखुखेतीका लागि ठूलो राहत भएको बताए।
जिवाखोलामा साढे चार करोड लागतमा चार महिना अगाडि निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइसकेको नगरप्रमुख श्रवणकुमार यादवले बतास्। पुल निर्माण भएपछि मिर्चैया नगरपालिका वडा नम्बर १, ४ र ५ वडालाई प्रत्यक्ष लाभ भएको नगर प्रमुखले सुनाए।
बतहा खोलामा सात करोडको लागतमा पुल निर्माणको काम दुई वर्षमा सम्पन्न हुनेगरी काम अघि बढिसकेको उनले बताए। नगरप्रमुख यादवले भने, ‘मिर्चैया नगरपालिकाको गामीण क्षेत्रलाई शहरी क्षेत्रसँग जोडेर शिक्षा स्वास्थ्य र कृषिक्षेत्रमा काम गरेको कामले नै दुई पटक नगरप्रमुखमा जनताले निर्वाचित गरेको छ। दोस्रो कार्यकालमा चुनावी प्रतिबद्धता अनुसार शिक्षा, स्वास्थ्य कृषि पूर्वाधार र पर्यटन क्षेत्रमा गरेका काम पूरा गर्नेगरी अघि बढेका छौं।’