सिरहा, १७ माघ। सिरहाको हिमालय सुगर मिलमा मृत्यु भएका ट्याक्टर ड्राभर कर्जन्हाका नगरपालिका ११ बस्तिपुरका २५ वर्षिय अशोक दासका परीवारलाई मिल र मिल कर्मचारीले तीनलाख सहयोग गर्ने भएको छ।
मृत्क परिवारलाई हिमालय सुगरमिलका सञ्चालकले दुई लाख र मिलमा कार्यरत्त कर्मचारीको एकदिनको तलव करिव एक लाख गरी तीन लाख रुपैया आर्थिक सहयोग गर्ने भएको हो।
सोमबार बेलुका उखु लिएर आएका ट्याक्टर ड्राइभर दासको नरहा गाउँपालिका २ पानवारीस्थित मिलपरीसरकै टहरामा सुतेकै ठाउँमा मृत्यु भएको थियो।
सिरहाकै कर्जन्हा नपा ११ बस्तीपुर बाट सोमवार करिव ४ वजे ट्रयाक्टरमा उखु लिएर सुगर मिलमा आएका थिए।
मृतकका परिवारले मिल परिसरमा राम्रो सुत्ने ठाउँ नभएकाले चिसोका कारण मृत्यु भएको आरोप लगाएका थिए। उनीहरुले पाँच लाख राहत र एक परिवारका एकजनालाई रोजगारीको माँग गर्दै मंगलबार राजमार्ग समेत अवरुद्ध गरेका थिए।