आशिष विश्वकर्मा

सिरहा, २८ पुस। प्रमीबाट छुटाएपछि सिरहामा एक युवति विचल्लिमा परेकी छन्। सिराहाको गोलबजार नगरपालिका ५ निपानेकी मनीषा महरालाई गाउँकै प्रेमी २३ वर्षिय विवेक यादवबाट छुट्याएपछि उनी विचल्लिमा परेकी हुन्।

लामो प्रेम सम्वन्धमा रहेका उनीहरु छुट्टाछुट्टै बस्न नसक्ने भएपछि भागेर उदयपुरको गाईघाट गएर एक सातासँगै बसेको मनीषाले बताईन्। इलेक्ट्रीकल सवइन्जिनियर पढेका विवेक केही समयदेखि गाईघाटमै काम गर्दै आएकाले मनीषालाई पनि उत्तै लगेका थिए। विवेको परीवारले थाहा पाएपछि दुवैलाई छुट्याएर घर ल्याएको मनीषा बताए।

गाईघाटबाट फर्केपछि पनि गत कात्तिकमै मनीषालाई आफन्तले विबेको घर भित्र्याई दिएका थिए। त्यस बेलापनि उनी विवेकको घरमा एक साता बसेको बताए। त्यसवेला विवेककी आमा, दिदीलगायले यातना दिएपछि एक सातापछि माइत आएको मनीषाले बताईन्।

मनीषाले भने, ‘म विवेको घरमा एक साता बसे, विवेकपनि सँगै थिए। आमा, दिदीले मानसिक र शारिरीक यातना दिनथालेपछि म सहन नसकेर माईत आएँ।’

छोरीलाई यातना दिएको र घर निकालेको विषयमा मनीषाका परिवारले इलाका प्रहरी कार्यालयमा उजुरी दिएपनि पछि वडा अध्यक्ष बालकृष्ण गौतमले गाउँमै मिलाउने भनी गाउँमै छलफल भयो। छलफलमा अव दुवैजना आ–आफ्नो ढङ्गले परिवारमै बस्ने भनेर निर्णयगरी टुङ्गीएको छलफलमा सहभागी स्थानीय रविन्द्र महराले बताए। उनले भने, ‘छलफलमा विवेक र मनीष दुवैले पहिला जे भएपनि अव हामी छुट्टैबस्छौं भनेपनि उनीहरुकै चाहाना अनुसार निर्णय भएको हो।’

वडा अध्यक्ष गौतमले पनि गाउँमा छलफल भएको र उनीहरु दुवैजनाले दिएको रायकै आधारमा सहमति भएको बताए। गाउँमा भएको छलफलले मनीषाले पाएको यातनाको उपचार बापत २५ हजार दिलाएका थिए।

सामाजिक छलफलको साता नवित्दै पुनः विवेक र मनीषा गाईघाट गएका थिए। विवेक गएकै दिए मनीषापनि गाउँबाट हराएपछि विवेकका आफन्तले गाईघाटबाट पुनः छुट्याएर ल्याएको मनीषले बताए। मनीषाले भने, ‘अव हामी दुवैजना एक अर्काविना बाच्न सक्दैनौं, अहिले विवेकलाई परवारको निगरानीमा गाउँ वाहिर लगेर राखेको भन्ने सुनेको छु। हाम्रो भेटघाट छैन। म विवकसँगै बस्न चाहन्छु।’

विवेक सम्पर्क विहिन भएपछि मनीषा अहिले विक्षिप्त जस्तै भएका छन्। उनी न्यायको लागि कहिले प्रहरी त कहिले सामाजिक संघसंस्था धाईरहेकी छिन्। माइतमै बस्दै आएपनि उनी आफ्नै घरजाने बातावरणको खोजि गरिरहेकी छिन्।
उनी आफ्नो प्रेमीसँगै बस्न चाहन्छन्। तर, विभेदकारी समाजले उनीहरुलाई सँगैबस्ने इजाजत दिएको छैन। मनीषा दलित परीवारमा जन्मेकै कारण विवेकको परीवार उनलाई स्वीकार गर्न तयार छैन।

दलित महिलाको राजनीतिक अधिकारकाको क्षेत्रमा कृयाशील दलित महिला केन्द्र, नेपाल (सीडीडब्लुएन)को सम्पर्कमा पुगेकी मनीषालाई निरन्तर मनोपरामर्श सेवा, पैरवी र यसको विधि अनि तरिकाबारे जानकारी सहित निरन्तर सम्पर्कमा रहेको संस्थाका रिता रजकले जानकारी दिए।

रजकले भने, ‘हाम्रो सम्पर्कमा आउँदा मनीषा हतास भएको अवस्थामा थिए। तीन दिनदेखि खाना समेत खाएका थिएनन्। हाम्रो परामर्श पनि बल्ल उनी अहिले रिलिफ जस्तो भएको छ। हामीले उनलाई आवश्यक सहयोग गरिरहेका छौं।’

विवेकको परिवारले आफ्नो छोरा ईन्जिनियर पढेर जागिर खाएको तर मनीषा साधारण लेखपढ बुहारी भित्र्याउँदिन भनेपनि मूख्य विषयभने दलित ‘चमार’ भएकोले मनीषालाई अस्वीकार गरेको स्थानीय दलित अधिकारकर्मीहरु बताउँछन्।

‘स्वजातिय भएको भए यत्रो हो हल्ला नै हुने थिएन। दलित समूदायको युवत्ति भएकै कारण उनलाई अस्वीकार गरिएको हो।’ सीडीडब्यूएनका आनन्द पाख्रिनले बताए।