दाङ, २८ पुस। बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ। दुर्घटनामा २२ जना घाइते भएका छन्।

बागमती प्रदेश ३००१ ख ३९१२ नम्बरको बस दुर्घटनामा परि मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका ५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय र बाँकेको नेपालगन्जकी ६० वर्षीया कुसुम बस्नेत सहित १२ जनाको मृत्यु भएको हो। मृतकमध्येय चार जनाको अझै सनाखत हुन सकेको छैन।

दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार मृत्यु हुनेको संख्या १२ जना पुगेको जनाए। अहिले सम्म ८ जनाको सनाखत भएपनि अन्य मृतकको सनाखत हुन सकेको छैन। शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ।

दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनाको बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। उनँका अनुसार पाँचवटा एम्बुलेन्समा घाईतेलाई शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो।

गति अनियन्त्रीत भई बस गए राति १०ः३० बजे राप्ति नदीमा खसेको प्रहरीले जनाएको छ। प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसनधान भईरहेको प्रहरीले जनाएको छ।

dang durghatana