सर्लाही, २१ पुस। सर्लाहीको बरहथवा नगरपालिका- ६ का २७ वर्षीय जयशंकर साह आन्दोलन र ढुंगामुढाप्रति चासो राख्ने र त्यस्ता कार्यक्रममा सहभागी हुने मान्छे थिएनन्।
खासमा उनी एमबीबीएसका विद्यार्थी थिए। बंगलादेशमा एमबीबीएस पढ्दै गरेका उनी दुई वर्षअघि बुवा बंगालीराम साहको मृत्युपछि व्यवसाय सम्हाल्न घर फर्किएका थिए।
चाँडै विवाह गर्ने तयारीमा रहेका उनै पढेलेखेका वौद्धिक युवा बरहथवा नगर अस्पताललाई प्रदेश सरकार मातहत लैजाने कि नलैजाने भन्ने राजनीतिक द्वन्द्वको शिकार भएका छन्।
अस्पतालको आवरणमा मुख्य रुपमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको राजनीतिक द्वन्द्ले यतिबेला बरहथवामा हिंसा निम्तिएको छ। जसमा एक युवाले ज्यान गुमाएका छन् भने प्रहरीसहित १० जना घाइते भएका छन्।
शुक्रबार दिउँसो प्रहरीको गोली लागेर बरहथवाको सडकमा ढलेका जयशंकर साहको शव अहिले (शनिबार) बिहानसम्म पनि घटनास्थलमै लडिरहेको छ।
मृतकका आफन्त र आन्दोलनरत स्थानीयले घटनाको छानविन, दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपुर्तिको माग गर्दै प्रहरीलाई शव उठाउन दिएका छैनन्।
शुक्रबार साँझदेखि बरहथवा बजार क्षेत्रमा कर्फ्यु छ। स्थानीय प्रशासनले शनिबार बिहान ८ बजेसम्मको लागि भनेर लगाएको कर्फ्यु भोलि (आइतबार) बिहान आठबजेसम्मको लागि थप गरेको छ।
बरहथवा- ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको प्रदेश अस्पतालको रुपमा विकास गर्नुपर्ने कांग्रेसको अडान र त्यो प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहत लैजान नहुने, नगरअस्पतालकै रुपमा विकास गर्नुपर्ने एमालेबीचको जुँगाको लडाइँले बरहथवामा हिंसा निम्तिएको घटनाक्रमलाई नजिकबाट बुझेकाहरु बताउँछन्।
‘उनी मेडिकलका विद्यार्थी हुन्। प्लसटुपछि एमबीबीएस पढ्न बंगलादेश गएका थिए। दुई वर्षअघि बुवा बितेपछि एमबीबीएसको पढाईलाई थाती राखेर यता आएका हुन्,’ जयशंकरका छिमेकीसमेत रहेका बहरथवा-६ का वडाध्यक्ष मोहम्मद अफ्ताब आलमले नेपालखबरसँग भने, ‘शुक्रबार दिउँसो बिजुलीको बिल तिर्न गएको बेला उसलाई प्रहरीले चलाएको गोली लाग्यो। उसको शव अहिले पनि घटनास्थलमै छ। उनले पार्किङ गरेको राखेको बुलेट बाइक अहिले पनि बिजुली अफिस अगाडि नै ठडिइराखेको छ।’
इलाका प्रहरी कार्यालय बरहथवा नजिकैको साह परिवारले सर्लाही होटल सञ्चालन गरेका छन्। बुवा बितेपछि एक्ला छोरा जयशंकरले नै त्यो होटल सम्हालेका थिए। बुवाले सञ्चालन गर्दै आएको ब्रोइलर कुखुरा (कुखुरा, चल्ला र दाना) को कारोबारलाई पनि उनले निरन्तरता दिएका थिए।
‘बुवाको मृत्युपछि उनले एमबीबीएसको पढाई पूरा गर्न पाएनन्। युवा व्यवसायीको रुपमा आफूलाई स्थापित गर्दै थिए,’ वडाध्यक्ष आलमले भने, ‘यसैवर्ष उनको विवाह हुने कुरा थियो। छोराको विवाह गरेर बुहारी भित्र्याउने विधुवा आमा र चार दिदीबहिनीको सपना जयशंकरसँगै ढलेका छन्।’
घटनापछि शुक्रबार साँझ कांग्रेस र एमालेले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर बरहथवामा १ जनाको मृत्यु र १० जना घाइते हुनेगरी भएको घटनाको दोष एकअर्कालाई थोपरेका छन्।
नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह र एमालेका जिल्ला अध्यक्ष राजनारयण साहले जारी गरेको विज्ञप्तिमा घटना हुनुमा एकअर्कालाई दोष लगाइएको आफूलाई चोखो देखाउने प्रयास गरिएको छ।
नेपालखवर।