सर्लाही, २० पुस। सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो भएको प्रदर्शन हिंस्रक झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।

शुक्रबार बरहथवा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर भएको झडपमा स्थानीय ३० वर्षिय जयशंकर साहको मृत्युपछि उग्र रुप लिएपछि सर्लाही प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी कर्फ्यु आदेशमा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम रोक्न कर्फ्यु लगाउनुपरेको उल्लेख जनाएको छ।

प्रशासनले बरहथवा नगरक्षेत्र (उत्तर सोती÷चोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सीमा क्षेत्रभित्र आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न र उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी कर्फ्यु लगाइएकव जनाएको छ।

प्रशासनले शुक्रबार साँझ साढे ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यु जारी गरेको हो।

आदेश उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारवाही गर्न सक्ने प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

sarlahi-CDO