सिरहा, १९ पुस। गोलबजार नगरपालिकाले कृषि विद्युत महशुल अनुदान कार्यक्रम अन्तर्गत आफ्ना किसानले प्रयोग गरेको करिव आठ लाख रुपैयाँ बराबरको महशुल विद्युत प्राधिकरणलाई बुझाएको छ।

नगर प्रमुख श्याम कुमार श्रेष्ठको कार्यकक्षामा विहिवार एक समारोहको आयोजना गरी नेपाल विद्युत प्राधिकरण मिर्चैयाका वितरण केन्द्रका प्रमुख मनोज कुमार शर्मालाई सात लाख ९७ हजार छ सय ४५ रुपैयाँको चेक हस्तान्तान्तरण गरेका हुन्।

वडा नम्वर १ भने लहान वितरणकेन्द्रले हेर्ने भएकाले त्यसकालागि ५० हजार निकासा भएको कृषि शाखाका विरेन्द्र यादवले जानकारी दिए।

भुक्तानी भएको रकम साउन देखि अहिलेसम्मको भएको नगरप्रमुख श्रेष्ठले बताए। अहिलेसम्म आयका निवेदनका आधारमा र साउनसम्म भुक्तानी गरिसकेका किसानहरुको विद्युत महशुल बुझाएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए। उनले अवको दिनमा नियमित आउने निवेदनहरुमा समेत आवश्यक छानविनगरी समेत थप्दै जाने बताए।

पालिकाले गत असारमा सम्पन्न नगरसभाबाट कार्यविधि पास गरी प्रमाणिकरण गरेको भएपनि लेखा र प्रशासकिय प्रमुख नियमित नहुदा भुक्तानीमा ढिलाई भएको नगर प्रमुख श्रेष्ठले बताए। उनले भने, ‘नगरपालिकाले कार्यविधि पास गरिसकेको भएपनि लेखाका कर्मचारी आफ्नै नहुदा धेरै कामहरु नियमित रुपमा हुन सकिरहेको थिएन अव सवै कामहरु सहज ढङ्गले हुने छ। यो पनि कर्मचारी अभावकै कारण ढीलाई हुन गएको हो।’

हालसम्म नगरपालिकामा परेको एक हजार दुई सय ३५ निवेदनमध्येय १७ वटा अन्य मिटर र १२ वटाको आवश्यक कागजात नपुगेकाले एक हजार एक सय ४३ किसानको विद्युत महशुल भुक्तानी भएको कृषि शाखाका यादवले बताए।


मिर्चैया वितरण केन्द्रका प्रमुख शर्माले सानै भएपनि किसानहरुले प्रत्याक्ष लाभ पाएको बताए। उनलेभने, ‘यस वर्ष वर्षाको समयमा पनि खरेडी परेकाले किसानहरुले भुमिगत सिंञ्चाईको सहयोगमा खेतिपाती गरे। यस्तो वेलामा नगरले विद्युत महशुल तिरेर किसानकोलागि घाउमा मलहमक पट्टी लगाएजस्तो भएको छ।’

प्रमुख झाले नगरक्षेत्रमा तीन हजारको हाराहारीमा कृषि मिटर रहेको बताए। उनले आगामी दिनहरुमा बाँकी किसानहरुलाई पनि यस योजनामा समेट्न आग्रह गरे।
चेक हस्तान्तरण कार्यक्रममा उपप्रमुख मानती साह, प्रशासकिय अधिकृत श्रीधर केसी, वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो।