सिरहा, १८ पुस। अवैध उत्खनन्को विरोधमा आज कर्जन्हा नगरपालिकाका सर्वसाधारणाले मशाल जुलुश प्रदर्शन गरेका छन्। कमला दलिमा भईरहेको अवैध उत्खनन् र नियम मिचेर नगरपालिकाले लगाएको ठेक्का रदको माग गर्दै उनीहरुले कर्जन्हा नपा २ बन्दिपुरमा मशाल जुलुश प्रदर्शन गरेका हुन्।

भ्रष्ट स्थानीय सरकार र अवैध उत्खनन्का मतियारको रुपमा रहेको वडा अध्यक्ष छुटाएको विरुद्धमा स्थानीयले विरोध स्वरुप जुलुश प्रदर्शन गरेको स्थानीय युवा जितेन्द्र यादवले बताए।

उनले भने, ‘कमला ठेक्का स्थानीय सरकार, सरकारबाला निकाय र कमला बचाउ अभियानको समन्वयमा लगाउने सहमति विपरित अवैधरुपले ठेक्का लगाएको र कानुनको खिल्लिा उडाउँदै राजमार्ग अवरुद्ध गरेर वडा अध्यक्ष छुटाएको विरुद्धमा पनि यो प्रदर्श हो।’

मशाल जुलुशका सहभागीहरुले कमला नदी दोहन बन्द गर, अवैध उत्खनन् बन्द गर, कमला नदीको ठेक्का रद्द गर र भ्रष्ट स्थानीय सरकार विरुद्ध नाराबाजी गरेका थिए।

मशाल जुलुश पछिको कोणसभाका बक्ताहरुले जनप्रतिनिधि तथा ठेकेदारको नाजायज मिलिभगतबाट कमला नदीको अवैध दोहन गरी वातावरणीय क्षति पु¥याएको आरोप लगाएका थिए। वक्ताहरुले चुरे क्षेत्र, वन क्षेत्र तथा नदीमा स्काभेटर लगाएर गरिने उत्खनन् तत्काल बन्द हुनुपर्ने माग गरेका थिए।

गत साता डिभिजनल वन कार्यालय लहानले कमला नदी दोहन गर्ने क्रसर व्यवसायी र कर्जन्हा नगरपालिका १ का वडाध्यक्ष फणिन्द्र पोखरेललाई पक्राउगरि कारवाही सुरु गरेको थियो।

वडा ध्यक्षलाई पक्राउ गरिएको विरोधमा त्यहाँका मेयर भोला पोखरेलको नेतृत्वमा राजमार्ग अवरुद्ध गरि इलाका वन कार्यालय समेत घेराउ गरिएको थियो।