सञ्जय मिश्रा

रौतहट १८ पुस। रौतहटको फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधिबीचको टकराले लामो समयदेखि तलब भत्ता निकासा नभएपछि शिक्षक र कर्मचारी धर्ना बस्न थालेका छन्। गत साउनदेखि तलब भत्ता नपाएको भन्दै शिक्षक र कर्मचारी नगरपालिका कार्यालय परिसरमा धर्ना सुरु गरेका हुन्।
प्रत्येक माध्यामिक विद्यालयबाट तीनजना, निम्न माध्यामिक विद्यालयबाट दुईजना र प्राथमिक विद्यालयबाट एकजना गरी बुधबारबाट आलोपालो गरी धर्ना सुरु गरेका हुन्। शिक्षक कर्मचारीले तलब नपाएसम्म पहिलो चरणको आन्दोलन स्वरूप दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म धर्ना जारिरहने सहभागी शिक्षक राधेश्याम यादवले जानकारी दिए।

तत्कालीन मेयर गोपाल राय यादव विशेष अदालतबाट दण्डित भएर निलम्बित भएसँगै कार्यवाहक मेयर अमबेय खातुन र कांग्रेस समर्थित जनप्रतिनिधिबीच विवाद उत्पन्न भएको हो। विवादको परिणाम समयमा नगरसभा हुन नसकेकाले त्यहाँका शिक्षक कर्मचारीले तलब पाउनबाट बञ्चित भएका छन्। गत दशैँमा वितरण हुन नसकेको सामाजिक सुरक्षाभत्ता प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र कार्यवाहक मेयर खातुनको पहलमा अघिल्लो महिनामा वितरण गरिएको थियो।

वितरण पश्चात नगरसभाको लागि पटकपटक नगरले बैठक बोलाउँदा कांग्रेसका वडा अध्यक्षहरु सँगै कार्यपालिका बोर्डका सदस्य जनप्रतिनिधिहरु बैठकमा उपस्थित भएका छैनन्। गत असार १० गते भित्र हुनुपर्ने नगर परिषद जनप्रतिनिधि बीच आपसी तालमेल नमिलेको कारण हालसम्म पनि हुन सकेको छैन।

नगरभित्रका शिक्षक लगायत ३५० भन्दा बढी कर्मचारीले तलब पाउन सकेका छैनन् । नगरसभाको दिन तोक्न तीनपटक लिखित सूचना पठाउँदा मेयर बाहेक काँग्रेस समर्थित जनप्रतिनिधि वडा अध्यक्षहरु पत्र नै नबुझ्ने गरेका छैनन्। मेयर खातुन र अन्य जनप्रतिनिधिको सल्लाहअनुसार पटकपटक गरी तीनचोटि बैठकको लागि पत्र पठाए पनि उनीहरुले पत्र नै नबुझेपछि नगरको अवस्था अन्यौल बनेको उपसचिव प्रधानले गुनासो गरे।

कांग्रेस पार्टीका एकजना वडा अध्यक्ष राकेश यादवले कार्यवाहक मेयर कांग्रेस पार्टीकै भएकाले पहिले पार्टीभित्र आएर आफ्नो गल्ती स्वीकार गरेपछि मात्र बैठकमा सहभागि हुने बताउँदै आएका छन्।

उता कार्यवाक मेयर खातुनले आफ्नो कुनै गल्ती नै छैन भने कसरी स्वीकार गर्ने भन्दै आएकी छिन्। केही जनप्रतिनिधिको अवरोधको कारण नगरपालिकाको कामकाज प्रभावित बनाइरहेको कार्यवाहक मेयर खातुनले बताएकी छन्।
लालबकैया नदीको टेन्डरको मुद्दामा अख्तिारद्वारा दोषी ठहर भएर तत्कालीन मेयर गोपाल राय यादव लाई तीन वर्ष कैद र १५ लाख जरिबानाको फैसला बिशेष अदालतबाट भएपछि उनको पद गएको थियो। उनी निलम्बित भएपछि उपमेयर खातुन कार्यवाहकको जिम्मेवारी पाएकी छन्।

फतुवा बिजयपुर नगरपालिकामा कांग्रेस पार्टीको टिकटबाट दोस्रो पटक मेयरमा निर्वाचित भएका यादव आफ्नै पार्टीको केही शीर्ष नेताको षडयन्त्रमा परेर अख्तियार द्वारा दोषी ठहर भएको गुनासो गर्दै आएका छन्।नगरपालिकाका जनप्रतिनिधि बीच भागबण्डा नमिलेको कारण समयमा नगरसभा नभएर सिंगो नगरपालिका अनिर्णयको बन्दी बनेको छ। कुनै पनि बहानामा शिक्षक तथा राष्ट्रसेवक कर्मचारी ६ महिनादेखि तलब पाउनबाट बञ्चित हुनु आफैंमा अन्याय भएको देखिएकाले समस्या समाधान गर्न नियमनकारी निकाय तथा कांग्रेस पार्टीका नेताहरुको ध्यान जानु जरुरी देखिन्छ।