सिरहा, १४ पुस। चुरे तथा वन क्षेत्रबाट अवैध उत्खनन्को सिफारिस दिएको भन्दै कर्जन्हा नगरपालिका १ का वडा अध्यक्ष फणिन्द्र प्रसाद पोखरेललाई डिभिजन वन कार्यालय लहान सिरहाले पक्राउ गरी हिरासतमा राखेको छ। वन क्षेत्रभित्रको जग्गामा पोखरीखन्ने गैरकानूनी ढङ्गले सिफारिस दिएको भन्दै वन कार्यालयले वडा अध्यक्ष पोखरेललाई नियन्त्रणमा लिएको हो।
डिभिजनल वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार एक्सकाभेटर प्रयोग गरी अबैध रुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् कार्यमा ऐन, कानून विपरित सिफारिस गरि सहयोग गरेको आरोपमा वडा अध्यक्ष पोखरेललाई पक्राउ गरी थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय, सिराहा, लहानको हिरासतमा राखिएको हो।
सोही क्षेत्रबाट अवैध उत्खनन गरी विक्रिवितर गरेको आरोपमा कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहमद खलिल राइनलाई पनि वन कार्यालयले नियन्त्रण लिएको छ।
सोही क्षेत्रकाट वनले स्काभेटरसहित चालक प्रदीप कुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई पनि यहि पुस ७ गते नै पक्राउ गरिएको थियो।
पक्राउ गरिएका व्यक्तिहरु उपर चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा अवैध उत्खनन् गरेको कसुरमा मुद्दा चलाइने सूचना अधिकारी चौधरीले जानकारी दिए।
विभिन्न प्रलोभनका कारण सिरहका उत्तरी क्षेत्रका वडाहरुको ग्राभेल उत्खन्न गर्न वडा अध्यक्षहरुले पोखरीको सिफारिस दिने गरेको छ। उत्तरी क्षेत्रमा पानी पोखरी नफष्टाएपनि यहाँबाट ग्राभेल तस्करहरुलाई सहज पार्न वडा कार्यालयको मिलेमत्तोमै पोखरी खन्ने सिफारिस दिनेगरेको स्थानीयको आरोप छ।