बिशाल बस्नेत
महोत्तरी, १३ पुस। रातु नदीमा भएको उत्त्खननको बिषयमा चुरे बिज्ञहरुले चिन्ता ब्यक्त गरेका छन्।
पछिल्लो समय उत्त्खननको वैधतामाथी प्रश्न उठीरहेको बेला उनीहरुले गम्भिर चिन्ता व्यक्त गरेका हुन्।
स्थानीय संचारकर्मीहरुले उत्त्खननस्थलमा पुगेर गरेको स्थलगत रिपोर्ट हेर्दा निक्कै भयाबह देखिएको बताउदै पर्यावरणविद डा. नागेन्द्र यादवले रातुको उत्त्खननको बिषयमा स्थानीय सरकार सचेत हुनुपर्ने वताए। केही दिन अघि भएकाे छलफलका विच अघिल्लो पटक उत्त्खननको क्रममा भएको क्षति हेर्दा अहिले भएको उत्त्खननको वैधतामाथी प्रश्न उठ्नु स्वाभाविक भएको उनको भनाई छ। 'चुरेमा पछिल्लो समय देखिएको पानीको अभाव दोहन नै मुख्य कारक हो भन्न सकिन्छ,' उनले भने।
बिज्ञहरुको अनुसार आईई रिपोर्टमा नै शंका रहेको छ। सैद्दान्तिक रुपमा आईईको प्रक्रिया भयो कि भएन ? भन्ने बिषय खोजीको बिषय बन्नुपर्ने उनीहरुको जिकिर छ। २०७८ जेठमा गरिएको आईई रिपोर्टले हरेक खण्डवाट १२१५०० घनमिटर मात्र उत्त्खनन गर्न सकिने बताएको थियाे तर ठेक्केदार कम्पनिले उक्त समयमा सम्झौता भन्दा ७ गुणा वढी उत्त्खनन गरेको नगरपालिकाले नै प्रतिवेदन बनाएको थियो। नगरले बनाएको प्रावधिक नापजाँच उपसमितिले गरेको छानविनले सम्झौता भन्दा बढी १२ करोड बराबरको नदिजन्य पदार्थ निकालेको निष्कर्ष निकालेसँगै अहिले उक्त मुद्दा जनकपुर उच्च अदालतमा विचाराधीन अवस्थामा छ।
बिज्ञहरुले यसैको आधारमा पनि आईई रिपोर्टमाथी आशंका गरेका हुन्। अर्का चुरे बिज्ञ डा. बिजय सिंहका अनुसार आईई रिपोर्ट मात्र उत्त्खननमा प्रधान नभएको बताउछन। नेपालका धेरैजसो ठाउँमा आईई रिपोर्टलाई नै देखाएर उत्त्खनन हुने गरेको बताउदै कतिपय त नक्कल मात्र गरेर तयार गर्ने गरेको देखिएको उनकाे भनाई छ । विज्ञहरुको सुझाव र रातु नदी खण्डमा देखिएको अव्यवहारिक उत्त्खननले यतिवेला बर्दिवास आन्दोलित भएको छ।
सामाजिक संजालवाट नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीका विरुद्ध बाक्लै टिपणी सुरु भएका छन भने स्थानीय राजनीति दलले त उत्त्खनन रोक्न सामुहिक बिज्ञप्ति नै जारी गरेका छन्। ८ राजनीति दलहरुले उत्त्खननको दिर्घकालिन समस्या सावधानको लागी सरोकारवालाहरुलाई ज्ञापनपत्र बुझाई सकेका छन् भने अन्य रणनीति समेत बनाउदै गरेको नेपाली कांग्रेसका नेता चिरिन्जीवी हमालले जानकारी दिए।
माओवादी केन्द्रका नेता राजु खड्काले उत्त्खनन ब्यवस्थित र बैज्ञानिक नबनेसम्म यसलाई आन्दोलनकोरुपमा अगाडी बढाउने बताए। त्यस्तै पानीको बिकराल समस्या खडा भएको भन्दै नेकपा एमालेका नेता शंकर महतोले पर्यावरण जोगाउन जस्तोसुकै कदम चाल्न पनि पछी नपर्ने प्रतिबद्दता जनाए।
यता नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने रातु नदी उत्त्खनन मापदण्डअनुसार नै गरेको दावी गरेका छन् । आफु जहिल्यै पर्यावरणको पक्षमा रहेको जिकिर गर्दै बहिर प्रचार गरेजस्तो नभएको उनको भनाई छ।
न्युज कारखाना