बर्दीवास, ८ पुस। महात्तरीको गौशाला नगरपालिकाका उपप्रमुख रेणु महतो चढ्ने गाडीमा आगजनी भएको छ। उपमेयर महतोले आफ्नै घर गौशाला नगरपालिका १ रामनगरको आगनमा पार्किङ्ग गरी राखेको प्रदेश २–०२–००१ झ ०००५ नम्बरको सरकारी गाडीमा शनिवार राती आगजानी भएको हो।
आगलागीका कारण गाडीको पछिल्लो भागमा क्षति पुगेको प्रहरीले जनाएको छ। घरका परिवारले राति करिव २ बजेतिर गाडीमा आगो लागेको देखेपछि इलाका प्रहरी प्रहरी कार्यालयलाई खबर गरेका थिए।
खवर पाएलगतै इलाका प्रहरी निरीक्षक मनोज यादवको कमाण्डमा राति नै घटना स्थल पुगेको प्रहरीले घटना स्थलबाट पेट्रोलको गन्ध आउने ठूलो डीयुको बोतल फेला पारेको छ। बोतलबाट आएको गन्धको आधारमा आगजनी पेट्रोल छर्केर लगाएको प्रहरीको अनुमान छ।
प्रहरी निरीक्षक यादवका अनुसार आगजनी कसले र किन गरेको स्पष्ट हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान भईरहेको छ।
उपप्रमुख महतो शनिबार साँझ जनकपुरबाट रामनगर आई घरको आँगनमा गाडी पार्किङ गरेर राखेका थिए।