नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी कार्यकर्तालाई दीक्षा दिँदै भन्थे, ‘बलियो मियोमा धेरै गोरुहरू घुम्छन् । त्यसकारण पहिले मियो बलियो हुनुपर्छ र अरूलाई जोड्दै जानुपर्छ ।’ संगठनको जग बनाउँदाका ती दिनमा एमालेको मियो स्वयं मदन थिए ।
त्यही मजबुत मियोको आडमा एमालेको बलियो सांगठनिक सञ्जाल खडा भएको हो । अहिले मदनको विरासतमा केपी ओली छन् । एउटा बखत जसरी मदन एमाले पंक्तिका लागि मियो थिए, त्यसरी नै दशकयता त्यो मियो ओली हुन् ।
‘झुलाघाट–चिवाभन्ज्याङ’ समृद्धिका लागि संकल्प यात्रा’ का दौरान ‘रानो’ बनेका ओलीको ऊर्जा र सक्रियताले मियो उनै हुन् भन्ने पुनर्पुष्टि गर्यो । उनी सर्वेसर्वा देखिए, निर्विकल्प दरिए । यद्यपि संकल्प यात्राको सफलताको दुन्दुभि बजाइरहँदा एमालेसामु केही यक्ष प्रश्नसमेत उठेका छन् ।
के एमालेको मियो त्यत्तिकै मजबुत छ, जस्तो मदनकालमा थियो ? हास्यरसमिश्रित ओली–राजनीतिमा के मदनको जस्तो राजनीतिक चिन्तन र सिर्जनशीलता छ ? इस्पाती कार्यकर्ता पंक्तिको तेज र धार त्यस्तै छ ? यात्राले कार्यकर्ता पंक्ति तरंगित भएजस्तै जनतालाई पनि छोयो ? सामूहिक नेतृत्वको वकालत गर्दै आन्तरिक लोकतन्त्रका कतिपय उल्लेख्य नजिर स्थापना गरेको एमाले आज व्यक्तिपूजाबाट किन माथि उठ्न सकिरहेको छैन ? यो यात्राको सार्थकता पहिल्याउँदै गरेका एमालेजनले यी प्रश्नमा गम खानु जरुरी छ । यो स्तम्भ यिनै प्रश्नको आलोकमा संकल्प यात्राको समीक्षामा केन्द्रित रहनेछ ।
तीन सन्देशएमालेको संकल्प यात्रालाई तीनवटा कोणबाट हेर्न सकिन्छ ।
१. एमाले नजरिया : शुद्ध एमाले नेता–कार्यकर्ता, अझ ओलीभक्त नेता–कार्यकर्ताका दृष्टिले यो संकल्प यात्रा अभूतपूर्व भएको निर्क्योल निस्कन्छ । यो यात्राका क्रममा भएका भेटघाट, भेला र सभामा कार्यकर्ताले देखाएको सक्रियता र उपस्थितिले पार्टी पंक्ति उत्साहित छ भन्ने अर्थ लाग्छ, लगाउन सकिन्छ । माओको ‘लङ मार्च’ सँग दाँजिएको यो यात्राको कतैबाट आलोचनात्मक टीकाटिप्पणी हुँदा एमाले नेताहरूले ‘अतालिएकाको अभिव्यक्ति’ त्यसैले भनेका हुन् ।
२. एमालेइतर दृष्टि : एमालेका राजनीतिक विपक्षीहरू चाहिँ यो संकल्प यात्राको औचित्य देख्दैनन् । मुलुक कुशासन र भ्रष्टाचारले आक्रान्त हुँदा पनि प्रमुख प्रतिपक्षले ती मुद्दालाई बलियोसँग उठाउन सकेको छैन । बरु, कताकता सरकारकै लाचार छाया जस्तो देखिन्छ । मुद्दा एकातिर, शक्ति प्रदर्शनका नाममा अर्कैतिर लागेको ठान्ने विरोधी पंक्ति एमाले सभामा उपस्थित जनसमुदायलाई ‘भीड’ मात्रै देख्छ । हुन पनि अहिले विभिन्न राजनीतिक दल र शक्तिले गर्ने जनपरिचालन स्वतःस्फूर्त हो कि ‘कस्मेटिक,’ छुट्याउन गाह्रो छ । कतिपय अवस्थामा व्यक्तिकै आह्वानमा पनि सयौं मानिस सडकमा निस्कने गरेको देखिन्छ । यो मनोविज्ञानले एमालेको संकल्प यात्राको सार्थकतामा प्रश्न उठ्छ ।
३. पर्यवेक्षकको विश्लेषण : माथि उल्लिखित दुवै दृष्टि आ–आफ्नै आग्रहबाट प्रेरित छन् । त्यसकारण संकल्प यात्राको समीक्षाको आधार स्वतन्त्र पर्यवेक्षण हुनु जरुरी छ । यो विश्लेषणको आधार यही स्वतन्त्र पर्यविक्षणबाट अभिप्रेरित छ ।
यो संकल्प यात्रामा एमालेले बडो तामझाम देखायो । गाडीहरूको लावालस्कर, माला–खादाको स्वागतसत्कार, ठाउँ–ठाउँ मिष्टान्न र अनेक परिकार, मानौं एमालेहरू पिकनिक मनाइरहेका छन् । यो यात्राबाट सामान्य नागरिक के कति लाभान्वित भए ? पार्टीले संगठनलाई थप दर्बिलो बनाउन जनतालाई कति संगठित गर्न सक्यो ? कार्यकर्ता र नेताबीचको दूरी र अविश्वासको खाडल कति पुरियो ? यी प्रश्नको उत्तरअघि यो यात्राले के दियो, त्यो हेरौं । झुलाघाट–चिवाभन्ज्याङ क्याराभानले मूलतः तीन सन्देश दिएको छ ।
पहिलो, चौतर्फी घेराबन्दी भएको महसुस गर्दै आएको एमाले विभाजनको पीडामा छ । धेरै ठूलो असर नगरे पनि विभाजनका कारण यो पार्टीले गएको चुनावमा अपेक्षित सफलता पाएन । एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले आफूलाई राष्ट्रिय पार्टीको हैसियत पनि दिलाउन सकेन । यद्यपि झन्डै डेढ दर्जन क्षेत्रमा एमाले हराउनमा भूमिका खेल्यो । यो पृष्ठभूमिमा एमालेले संकल्प यात्राका नाममा शक्ति प्रदर्शन गरेको छ । विभाजन र चौतर्फी घेराबन्दीका बाबजुद जनपरिचालनका हिसाबले
आफ्नो अवस्था बलियो भएको सन्देश दिन सकेको छ ।
दोस्रो, एमालेले चुनावका लागि तयार भएको सन्देश पनि हो यो । हुन त ओली सत्ता राजनीतिका अनेक दाउपेचहरू चली नै रहेका हुन्छन् । सत्तारूढ गठबन्धनलाई कमजोर बनाउन उनी कहिले शेखर कोइरालालाई समात्छन्, कहिले रवि लामिछानेको महत्त्वाकांक्षालाई हावा दिन्छन्, कहिले उपेन्द्र यादवमार्फत खेल्न खोज्छन् । उनी निरन्तर सत्ता दाउपेचका आफ्ना चालहरू कामयाब बनाउन लागेकै छन् । यद्यपि यो संकल्प यात्राबाट उनले एमाले चुनावको तयारीमा जुटेको सन्देश पनि प्रवाह गरे ।
यसबीच कुनै राजनीतिक अनिष्ट नभएमा २०८४ मा आवधिक निर्वाचन हुनेछ । तर, जसरी राजनीतिक अवस्था अस्थिरता–उन्मुख हुँदै गइरहेको छ, कदाचित् मुलुक मध्यावधिमा गयो भने आश्चर्य नमान्दा हुन्छ । यो बुझेका ओलीले संकल्प यात्रालाई आइपर्न सक्ने चुनावका लागि ‘रेकी अभियान’ पनि बनाएका हुन् । मंसिर ६ गते केन्द्रीय समिति बैठकबाट संकल्प यात्रा गर्ने टुंगो लगाउँदै गर्दा उनले यसलाई आवधिक वा परिआए मध्यावधिकै तयारीका रूपमा लैजानुपर्ने बताएका थिए । सारमा, अहिले एमालेको सांगठनिक परिचालन चुनावका लागि तयार भएको सन्देश पनि हो ।
तेस्रो, संकल्प यात्राको शुभारम्भमा ओलीले गरेको पूजाअर्चनामा पनि राजनीतिक सन्देश लुकेको छ । प्रधानमन्त्री हुँदा ईश्वरका नामको शपथ नखाने ‘कम्युनिस्ट’ नेताहरूमा यति बेला धार्मिक राजनीतिको रुझान आश्चर्यजनक रूपमा बढेको छ । त्यो एक हिसाबले प्रतिस्पर्धाकै तहमा छ । सम्भवतः शीर्ष तहका नेताहरू पीताम्बर, गेरुवस्त्र र रामनामी ओढेर नेपाली राजनीतिलाई प्रभावित गर्न सक्ने धार्मिक आग्रह भएका दृश्य–अदृश्य शक्तिकेन्द्रहरूलाई रिझाउन चाहन्छन् । साथै, मुलुकभित्र बढिरहेको हिन्दु राष्ट्र मोहको मुद्दालाई पनि सम्बोधन गर्न चाहन्छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई हिन्दु राष्ट्रका बारे विमर्श हुन सक्ने बताइसकेका छन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले त्यस्तो औपचारिक अभिव्यक्ति नदिए पनि पूजाअर्चना, पशुपतिमा दीप प्रज्वलन आदिमार्फत सन्देश दिइराखेकै छन् । संकल्प यात्रामा ओलीले ओढेको रामनामी यिनै सन्देश शृंखलाको अर्को कडी हो ।
नायकत्वको आकांक्षा
संकल्प यात्राको अन्तर्यमा ओली महत्त्वाकांक्षा पनि कतै लुकेको छ । यात्रामा उनी आफूलाई नायकका रूपमा चित्रण गरेर त्यो महत्त्वाकांक्षा प्रकट गर्न चुकेनन् । जति पनि सभाहरू भए, तिनमा उनले सरकारको विरोध गरे, जो प्रतिपक्षी नेताको राजनीतिक धर्म नै हो । थप, उनले एमालेको नेतृत्वको आवश्यकता रहेको पटक–पटक दोहोर्याए । एमाले नहुँदा कुशासन बढेको दाबी गरे । यात्राका दौरान उनले नेपाली राजनीतिका समकक्षी नेतृत्वहरूभन्दा आफू भिन्न छु भन्ने देखाउन अनेक गतिविधि गरे । जस्तो— कहीँ माछा तारेर कार्यकर्तालाई खुवाए, कहीँ रोटे पिङ खेले, कहीँ सारंगी रेटे, कहीँ डम्फु बजाए, अनेक भेषभूषामा सजिएर हँसीमजाक गरे । त्यस्तै, प्रधानमन्त्री प्रचण्डलाई जन्मदिनको शुभकामना दिन भ्याएका ओलीले देउवालाई उनैको गृहजिल्लाबाट फोन गरेर आफू बेग्लै राजनीतिक संस्कारको रहेको भन्ने देखाउन खोजे ।
संकल्प यात्राका ‘केन्द्रविन्दु’ ओलीले आफूलाई भरपूर ‘ब्रान्डिङ’ गरे । यात्रालाई ओलीकेन्द्रित गर्नुको अन्तर्य हो— नायकत्व स्थापनाको आकांक्षा । त्यसो त इतिहासले ओलीलाई ‘नायक’ बन्ने अवसर नदिएको होइन । पहिलो पटक प्रधानमन्त्री हुँदा जसरी राष्ट्रवादी अडान लिएका थिए, उनलाई धेरैले ‘नायक’ कै स्तरमा राखेका थिए । राष्ट्रकवि माधव घिमिरेले घरमै पुगेर स्याबासी दिए । पञ्चायतकालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले त ‘महेन्द्रपछिका नेता’ भनिदिए । दोस्रो पटक उनले बलियो कम्युनिस्ट सरकारको नेतृत्व गर्ने अवसर पाए । चौतर्फी अनुकूलता पाएर सरकारको नेतृत्वमा पुगेका ओलीले राजनीतिक स्थिरतासँगै व्यवहारमै मुलुकलाई समृद्धिको बाटोमा बढाउन सकेका भए सायद उनको नायकत्व स्थापित पनि हुन्थ्यो । तर, बोली र व्यवहारमा एकरूपता ल्याउन नसकेका ओलीले विधिको अवमूल्यन मात्रै गरेनन्, आत्मकेन्द्रित भई अहंकारको रथमा सवार हुँदा त्यो ऐतिहासिक अवसरसमेत गुमाए ।
रचनात्मक आलोचना सुन्न नसक्ने स्वभावका ओली पार्टीभित्रका समकक्षी र आलोचकहरूको ‘कत्लेआम’ गरेर पार्टीको सर्वेसर्वा भएका छन् । सायद उनलाई लागेको छ, ‘नायकत्व’ यसै गरी स्थापना हुने हो । मदन भण्डारी भन्थे, ‘नायकत्वको स्थापना प्रतिस्पर्धा र पहलकदमीबाट हुन्छ ।’ अहिले ओली भन्दै छन्, ‘योजनाबद्ध कार्यक्रम बनाउनु र जनपरिचालनमार्फत परिणाम निकाल्नु नै नायकत्व हो ।’
संकल्प यात्राकै बीचमा कान्तिपुर दैनिकमा प्रकाशित ‘मैले बुझेको नायकत्व शैली’ शीर्षक लेखमार्फत सायद उनी भन्न खोज्दै छन्— अहिले संगठन र जनपरिचालनले नायकत्व स्थापना भएको छ । नायकहरू कसरी जन्मन्छन् र नायकत्व लिन्छन् भन्ने अनेक सन्दर्भ र तर्क पेस गरेको उनको लेख पठनीय छ । यद्यपि तर्कको केन्द्रमा उनको नायकत्वको आकांक्षा लुकेको छ ।
एमालेको संगठनात्मक परिचालनले ओलीको नायकत्व स्थापनाको आकांक्षा कति पूरा भयो र कति भएन, त्यसको लेखाजोखा हुँदै गर्ला, तर ओलीलाई चिसो लाग्दा पूरै एमाले पंक्ति रुघाग्रस्त हुन्छ वा ओलीको मुहार उज्यालिँदा एमालेहरू खुसीले पुलकित हुन्छन् भन्ने भाष्य निर्माण चाहिँ यो संकल्प यात्राले गरेको छ । कुनै बेलाका ‘कमरेड’ हरूले सेवकमा रूपान्तरित भएर ओलीलाई खुसी राख्न र रिझाउन गरेका प्रयासहरू हेर्न लायक थिए । अब एमालेले ‘ओली बा’ सँगै राधिका आमाको अभिभावकत्व पनि पायो, जो यो यात्राको महत्त्वपूर्ण हाइलाइट हो ।
सारमा, एमालेले सांगठनिक परिचालन गर्न सक्नुलाई यो यात्राको सफलताको मुख्य आधार मानेको छ । यद्यपि एमालेको मेरुदण्ड भनेकै सांगठनिक सञ्जाल हो । संगठनको परिचालन एमालेका लागि नौलो सन्दर्भ होइन । बरु मूल प्रश्न के हो भने, यो संकल्प यात्राबाट एमालेहरूले गुमेको विश्वास आर्जन गर्न सके ? आमजनको नजरियाबाट हेर्दा यो यात्राबाट तिनले के पाए ? के तिनले एमालेप्रति भरोसा गर्ने आधार पाए ? एमालेको कार्यकर्ता पंक्ति तरंगित भए पनि आमजनले यो संकल्प यात्राको कुनै अनुभूति गरेनन् । तिनलाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भनेझैं भयो, यो यात्रा । मुलुकमा भ्रष्टाचार र कुशासनका मुद्दाहरू चुलीमा पुग्दा एमालेका शीर्ष नेताको भूमिका जनसाधारणले नियालिरहेको छ । शीर्ष नेताका गुप्त बैठकहरू, अपराधी र भ्रष्टहरूलाई राजनीतिक सुरक्षाको छाता ओढाएको तिनले बुझेका छन् । संकल्प यात्रा गरेर चुट्किला भन्न जति सजिलो छ, अब आमजनको विश्वास आर्जन गर्नु परीक्षण भइसकेको राजनीतिक नेतृत्वका लागि कठिन हुनेछ । दुर्गा प्रसाईंसँग भिड्ने स्तरमा ओर्लिएको एमाले, विवादास्पद पप्पु कन्स्ट्रक्सनका ठेकेदार हरिनारायण रौनियारलाई पार्टीमा स्वागत गरिरहेको एमाले, व्यक्तिपूजामा मस्त एमाले, राजनीतिक सिर्जनशीलता र जुझारुपन मर्दै गरेको एमालेका लागि गुमेको विश्वास आर्जन अझ चुनौतीपूर्ण छ, हुनेछ ।
एमाले मदन भण्डारीको नवीन राजनीतिक सोचबाट पल्लवित भएको पार्टी हो । नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिँदै कम्युनिस्टहरूको लोकतान्त्रिक रूपान्तरणको बाटो मदनले खोलिदिएपछि एमालेको प्रादुर्भाव भएको हो । कुनै बेला यस्तो थियो, यो पार्टीप्रति आमजन आशावादी थिए । तर जब मदन भण्डारीको अवसान भयो, निष्ठावान् र सादगीपूर्ण नेता मनमोहन अधिकारी रहेनन्, पार्टी गुट, विभाजन र स्वार्थको अखडा बन्दै गयो । र, पार्टी कमजोर हुँदै गयो ।
मदन र मनमोहनपछि माधव नेपाल, झलनाथ खनाल र केपी ओली एमाले नेतृत्वमा रहे । नेपाल र खनाल अहिले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादीमा छन् । दस वर्षदेखि ओली अनवरत एमालेको नेतृत्वमा छन् । उनीसँग एमालेको बलियो सांगठनिक सञ्जाल त छ तर हिजो मदनकालमा जस्तो न सामूहिक नेतृत्व भावना छ न त राजनीतिक नवीन सोच र सिर्जनशीलता नै । छ त केवल मदनको ब्याज खाने प्रवृत्ति, प्रतिक्रियाको राजनीति, सत्ता चलखेलका दाउपेच, प्रशंसा मात्रै गर्ने ‘सेवक सहकर्मी’ अनि नायकत्वको महत्त्वाकांक्षा । संकल्प यात्रामा कटुन्जे जाने बाटो भुलेकामा ओलीले तत्काल कटुन्जेवासीसँग माफी मागे, तर मदनले लिएको बाटो बिर्सिंदा एमालेको मियो मक्किँदै गएको कहिले महसुस गर्लान् ?