बारा, २७ मंसिर। बाराको सिम्रौनगढ नगरपालिकामा बुधबार प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको छ। सिम्रौनगढ नगरपालिकाको कार्यालय परिसरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर गम्भिर घाइते एकजनाको उपचारको क्रममा मृत्यु भएको हो।

झडपका क्रममा प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको थियो। त्यसपछि पनि अवस्था नियन्त्रणमा आउन नसक्दा प्रहरीले गोली चलाउनु परेको जनाएको छ।

गोली लागेर घाइते भएका सिम्रौनगढ नगरपालिका १ नमसंग्राढाटका २५ वर्षीय लक्ष्मी मुखियाको नारायणी अस्पताल वीरगञ्जमा उपचारका ज्यान गएको हो।

तलब नपाएपछि उक्त नगरपालिका क्षेत्रका कर्मचारी र शिक्षकहरूले केही महिनादेखि नगर परिसरमा धर्ना दिँदै आएका थिए।

तर बुधबार अवस्था भड्किएको हो। नगरपालिकाका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्र सवार गाडीमा तोडफोड भएको थियो। मेयरको गाडीमा प्रमुख प्रशासकीय अधिकृत मिश्र आएपछि आक्रोशित कर्मचारीहरूले ढुंगा हानेका थिए।

आक्रमणमा परेपछि मेयर साह कलावर र अधिकृत मिश्र ज्यान जोगाउँदै कार्यालयभित्र छिरेका थिए। उनीहरू भागेपछि प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको हो।

त्यही झडपका क्रममा मुखियालाई प्रहरीको गोली लागेको हो। अहिले त्यहाँको अवस्था प्रहरीको नियन्त्रणमा आएको छ।