सिरहा, २४ मंसिर। बाल विवाह न्यूनिकरण र मानवअधिकार रक्षामा योगदान पुर्याएको भन्दै सिरहामा आमाहरु सम्मानित भएकी छिन्।
७५ औं मानव अधिकार दिवसको अवसर पारेर मुक्ति नेपाल गोलबजारलले आज गोलबजारमा आयोजना गरेको एक समारोहमा वालविवाह रोकाथमा तथा मानवअधिकार रक्षामा योगदान पुर्याएको भन्दै आधादर्जनभन्दा बढी आमाहरुलाई सम्मान गरेका हुन्।
विवाह टुङ्गिसकेका, विवाहको लागि कुराकानी चलिरहेका आमाहरुले आफ्ना छोरीहरुको विवाह २० वर्ष पछिमात्र गर्ने हिम्मत सहित प्रतिबद्धता गरेकाले उनीहरु सम्मानीत गरेको मुक्ति नेपालका जिल्ला संयोजक विसेश्वर दासले जानकारी दिए।
उनले भने, ‘विवाहको टुङ्गो गरिसकेका, विवाहको कुरो चलिरहेको भन्ने खवर पाएर हामीले उहाँहरु घरमै पुगेर नेपालको विवाह सम्वन्धि कानुन, सानोमा विवाह गर्दा हुने समस्याका बारेमा सम्झाई बुझाई गर्यौं। आमाहरु छोरीको विवाह रोक्न राजी हुँनुभयो। बाल विवाह रोकेर उहाँहरुले बाल अधिकार र मानव अधिकारको सम्मान गर्नुभयो त्यसैले आज सम्मन गरेका हौं।’
सम्मानीत हुनेहरुमा गोलबजार नगरपालिका ३ र ४ नम्वर वडाका आधादर्जनभन्दा बढी आमाहरु सहेको दासले जानकारी दिए।
सोही अवसर पारेर संस्थाले नगरस्तरीय सरोकारवालासंगको व्यक्तिगत घटना र घटना दर्ता सम्वन्धि जानकारीमूलक अभिमुखिकरण आयोजना गरेका थिए। पञ्जिकरण सम्वन्धि अभिमुखि करणको सहजीकरण सिरहा नगरपालिकाका पञ्जिकरण शाखाका अधिकारी अरिन्द कुमार महतोले गरेका थिए।
उनले व्यक्तिगत घटना, घटना दर्ता प्रकृया, दर्ता गर्दा आईपर्ने समस्या र समाधानका विषयमा जानकारी गराएका थिए। सवै खालको समस्याहरुको समाधानका उपायहरु भएको भन्दै त्यसको लागि सेवाग्राही र सेवा प्रदायक दुवैको तालमेल आवश्यक रहेको महतोले बताए। महतोले भने, ‘कानुनमा हर समस्याको उचित समाधानको व्यवस्था भएको छ, सेवा ग्राहिले कानुन टेकेर सवैखालका घटना दर्ता गराउन सक्छन्।’
कार्यक्रममा गोलबजार नगरपालिकाका जनप्रतिधिनी, कर्मचारी, प्रहरी, बाल क्लवका बालबालिकाहरु, किशोरी र महिला समूहका प्रतिनिधीहरुको उपस्थित रहेको थियो।