सिरहा, १ मंसिर। तराई मधेशमा अतिमहत्वका साथ मनाइने धार्मिक एवम् लोकआस्थाको पर्व छठ आजबाट विधिवत् रूपमा सुरु भएको छ। तराई मधेशमा चार दिनसम्म धुमधामका साथ मनाइने यो पर्वको आज शुक्रवारदेखि विधिवत रुपमा सुरु भएको हो।
विशेष गरेर सूर्यको पूजा गर्ने यो पर्व विधिवत् रूपमा कात्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म विधिपूर्वक मनाइन्छ।
छठको पहिलो दिनलाई अरबा–अरबाइन पनि भनिन्छ। व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो जस्ता खाद्यान्न परित्याग गरी आजकै देखि सात्वीक भोजनगरी व्रत बस्ने परम्परा छ।
अत्यन्त निष्ठा एवम् पवित्रताका साथ मनाइने यो पर्व सूर्यको पूजा गर्ने व्रतालुले शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रूपमा स्नान गरी अरुवा अरुवाइन खाने गर्छन्।
पञ्चमी तिथिमा दिनभर उपवास बसेर साँझपख नयाँ माटोको चुल्होमा खीर पकाइन्छ। यसरी बनाएको खीर घरको देवीदेवतालाई चढाइएर प्रसादका रूपमा व्रतालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई पनि प्रसादको रुपमा दिने गरिन्छ। यस विधिलाई खरना भनिन्छ।
सूर्यलाई अर्घ अर्पण गर्ने व्रतालुले पञ्चमी तिथिभर उपवास बसी साँझ मात्र प्रसाद ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिन्छन्। त्यसपछि सप्तमी तिथिको बिहानसम्म अर्थात् कम्तीमा ५० घण्टासम्म उपवास बस्नुपर्ने हुन्छ।
षष्ठी तिथि अथवा छठको मुख्यदिन तलाउ, पोखरी, नदी जस्त जलायमा किनारमा पूजा सामग्री ठेकुवा, भुसवा, केरा, नरिवल, पान, सुपारी, उखु, वेसार, स्याउ, सुन्तला जस्ता फलफूलहरु बाँस तथा माटाले बनेका ढकिया, कोनिया, डगरी, चङ्गेरा, घैला, ढकना, हात्तिमा राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ। रातभर जलासय क्षेत्रमै भजन किर्तनगरेर भक्तजनहरु जगराम बस्ने गर्दछ। भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेपछि विधिवत् रूपमा पर्वको समापन हुन्छ।
छठ पर्व मनाउँन यतिबेला तराईका गाउँ सहमा रहेका पोखरी, नदी, तलाउ जस्ता जलासयहरुको सरसफाई गर्ने, सिंगार्ने, क्रम सुरु भइसकेको छ।
आफ्नो तथा परिवारको मनोकांक्षा पुराहुने, आरोग्यता, सुख र शान्ति प्राप्तिका लागि यो व्रत लिने जनमान्यता रहदै आएको छ। यो पर्वमा परिवारमा कोही उपवास बस्न नसक्ने अवस्थामा भएका अन्य ब्रतालुले उनीहरूका तर्फबाट प्रसाद सूर्यलाई अर्पण गर्न सकिने मान्यता रहँदै आएको छ।
छठ पर्व विशुद्धरूपमा प्रकति र पुरूषको पूजा हो। सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ।
खासगरी नेपालको तराई मधेशमा चार दिनसम्म धुमधामका साथ मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि लोकप्रिय हुँदै गएको छ।