सुनसरी, २७ कात्तिक। सुनसरी सदरमुकाम इनरूवामा गए राति भइकाृ आगलागीमा ५० लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
रमाईलोको लागि पट्काएको पटाकाबाट इनरूवामा १ स्थित मुख्य बजारमा रहेको वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागीहुँदा पसलमा सवैसामान जलेर नष्ट भएको हो।
लक्ष्मीपूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटका जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जानकारी दिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।
आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ।
इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका वारुणयन्त्रसहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।