सर्लाही,  २३ कात्तिक। सर्लाही प्रहरीले करिव दुई  केजी चाँदीका विभिन्न गहनासहित एक भारतीय नागरकलाई पक्राउ गरेको छ। कम्मरमा लुकाई ल्याएको १ केजी ९ सय ५० ग्राम चाँदी लगायतका विभिन्न सामानसहित भारत सितामढी बसतपुर ग्राम पंचायत ७ का १९ वर्षीय लभ दासलाई मलंगवा नगरपालिका ८ लचकाबाट बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।
 
भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई संकालागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त सामानसहित पक्राउ गरेको सर्लाही प्रहरीले जनाएको छ। 
 
प्रहरीले दासको साथबाट चाँदीको सिक्का २० थान, हनुमानी १ थान, औंठी ८ थान, पायल ४ जोर, ब्रासलेट १ जोर, प्लेट २ थान, गणेश र लक्ष्मीको मूर्ती ११ थान, सिक्री ३७ थान गरी उक्त तौलको चाँदीका सामान बरामद गरेको छ।   
 
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।