सिरहा, १८ कात्तिक। सिरहा पुस्तकालयको आयोजनामा मधेश अध्ययन यात्रा सम्बन्धी संवाद कार्यक्रम सम्पन्न भएको छ।
मधेश अध्ययन यात्रामा निस्किएका युवाहरुसँग सिरहा पुस्तकालयमा अन्तिम दिन शनिवार संवाद गर्दै संकलन गरिएको सुझावहरुलाई समेट्दै तीन तहको सरकारलाई प्रतिवेदन बुझाउन सुझाव दिईएको छ।
अध्ययन यात्रा पूरा गरेका युवाहरु तराई मधेश राष्ट्रिय अभियानका उपाध्यक्ष आभाष गुरु, मधेश पुस्तकालय काठमाडौंका अध्यक्ष शिव यादव, तराई मधेश राष्ट्रिय अभियानका सदस्य डा. नविन यादवलाई मधेशको समाजिक अवस्था, शैक्षिक अवस्था, स्वास्थ्यको अवस्था, पूर्वाधार विकास, मधेश आन्दोलनका सहिदहरुको अवस्था लगायतका विषयमा भेटिएका तथ्यहरुलाई समावेश गरी प्रतिवेदन बनाएर स्थानीय तह, प्रदेश सरकार र संघ सरकारलाई बुझाउन संवादमा सहभागीहरुले सुझाव दिएका छन्।
मधेशमा धार्मिक द्वन्द्व वढ्दै गएको, लागुऔषधमा युवाहरु फस्दै गईरहेको, मधेशमा सामाजिक समस्याहरु बढ्दै गईरहेकोले त्यसलाई सम्वोधन हुनेगरी सुझाव सरकारलाई दिने गरी प्रतिवेदन आउनु पर्ने सुझाव दिईएको हो। मधेश सरकारले प्रदेशका जिल्लामा शिक्षा, स्वास्थ्यको क्षेत्रमा कस्तो भूमिका खेलेको र जमिनीस्तरमा अवस्था केहो त्यसको विषयलाई समेट्ने गरी प्रतिवेदन बनाएर सरकारलाई सुझाव दिनु पर्ने सहभागीहरुको धारणा रहेको थियो।
शिक्षा र स्वास्थ्यको अवस्था कस्तो?
संवादमा सहभागी मधेश अध्ययन यात्राका सहभागी युवाहरुलाई शिक्षा र स्वास्थ्यको अवस्था मधेश प्रदेशका आठ जिल्लामा कस्तो पाईएको प्रश्न गरिएको थियो। वरिष्ठ पत्रकार अनिरुद्ध ठाकुर, सिरहा पुस्तकालयका पूर्व अध्यक्ष अरुण कुमार पासमान, सूर्यनारायण सत्य नारायण बहुमुखी क्याम्पसका शिक्षक अशोक यादव, नेकपा माओवादीका युवा नेता अरबिन्द यादव, पत्रकार बद्रीनारायण यादवले मधेश अध्ययनका क्रममा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कस्तो भेटिएको अध्ययन यात्रीलाई प्रश्न राखेका थिए।
मधेशको आठ वटै जिल्लाको शिक्षाको अवस्था खस्किदो भएपनि कतैकतै स्थानीयको सक्रियतामा सुधारोन्मुक रहेको सहभागी यात्रीहरुले उल्लेख गरेका थिए। सिरहा पुस्तकालयको अध्यक्ष सुरेन्द्र कुमार कामतिको अध्यक्षतामा भएको संवाद कार्यक्रमको संचालन सिरहा पुस्तकालका सदस्य जितेश कर्णले गरेका थिए। संवाद कार्यक्रममा सिरहाका विभिन्न क्षेत्रका युवाहरु र अन्य सरोकारवालाको उपस्थिती रहेको थियो।
मधेश अध्ययन यात्रीलाई सम्मान
यसैवीच मधेश अध्ययन यात्रा सम्पन्न गरी फर्किएका मधेश अध्ययन यात्रा संवादका सहभागी युवाहरुलाई सम्मान गरिएको हो। संवाद कार्यक्रममा सिरहा पुस्तकालयका सदस्य रामकिशोर यादवले खादा लगाएर यात्रीहरुलाई सम्मान गरेका छन्। मधेश अध्ययन यात्राका यात्रीहरु आभाष गुरु, शिव यादव र डा नविन यादवलाई सम्मान गरिएको छ।
सोही कार्यक्रममा मधेश अध्ययन यात्राका यात्रीहरुलाई नवजागृति साप्ताहिकका प्रकाशक÷सम्पादक बद्री नारायण यादव र मातृभूमी युवा समाज नेपालका अध्यक्ष मनिष कुमार यादवले गम्छा ओढाएर सम्मान गरेका छन्।