काठमाडौं, १९ कात्तिक। टोटीमा भएको बोलेरो जिप डोटीमा दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने, दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइतेमध्येय एकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।
धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप डोटीको शिखर नगरपालिका ६ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना हुँदा बाजुराको हिमाली गाउँपालिका ५ की २२ वर्षीया राधिका मलाल, सोही स्थानकी ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कविन्द्र बुढा र बिमला मलालकी ८ महिनाकी छोरी प्रार्थना मलालको घटनास्थलमै मृत्यु भएको तलकोट प्रहरी चौकीले जानकारी दिएको छ। बिमला भने घाइते भएकी छन्।
चालकसहित १० जना रहेको उक्त जिप आज आइतबार बिहान २ बजेर २८ मिनेटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीले जिप चालक महेश बुढालाई नियन्त्रणमा लिएको छ।
घाइतेमध्ये राजबहादुर मलालको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।