१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पपीडितको उद्धार र राहतमा हातेमालो गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छन् ।
पीडितलाई राहत र घाइतेहरूको उपचारका लागि सरकार गम्भीर रहेको जानकारी गराउँदै यस कार्यमा सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल र नागरिक समाजमा अपिल गर्दछु, प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको विनासकारी भूकम्पको क्षति बुझ्न, घाइतेहरूको उद्धार र पीडितको राहतका निम्ति अहिले आफू प्रभावित क्षेत्रमा रहेको उनले जनाएका छन् ।
शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाई गएको ६।४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा १३६ जनाले ज्यान गुमाएका छन् । भूकम्पले ठूलो क्षति गरेपछि प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा गएका थिए I