सिरहा, १६ कात्तिक। गोलबजार नगरपालिकाका उपमेयर मान्ति साहले जय गोविन्द साह पोलिटेक्निकल इन्सिच्यूटको भवन निर्माणको कार्य चाँडै सुरुहुने बताएकी छिन्।

जय गोविन्द साह पोलिटेक्निकल इन्सिच्यूटले आयोजना गरेको स्वागत तथा अभिमुखिकरण कार्यक्रममा उपमेयर साहले भवन निर्माणको लागि आवश्यक जग्गा खोज्ने कार्यको अन्तिम चरणमा पुगिसकेकोले चाँडै भवन निर्माणकार्य सुरुहुने बताएकी हुन्।

उपमेयर साहले भनिन्, ‘समिति नै बनाएर इन्सिच्यूटको लागि जमिन हेर्ने काम लगभग पुरा भईसकेको छ। समितिले हेरेको तीन ठाउँको जमिन मध्येय एउटा छान्ने वित्तिकै तत्काल कार्यपालिका बसेर भवन निर्माणकार्यलाई अगाडी बढाउँछौं।’

उनले गोलबजारमै प्राविधिक शिक्षा पाईरहेकोमा खुसि व्यक्त गरे। उनले घरमै बसेर प्राविधिक शिक्षा पढ्न पाउनु खुसिको विषय भएको बताए। उनले नयाँ विद्यार्थीलाई राम्रोसँग पढाईमा सहभागी भएर आफ्नो भविष्य र विद्यालयको नाम राख्न आग्रह गरिन्।

अहिले भाडाको घरमा शिक्षणकार्य भईरहेको छ।

गोलबजार नपा वडानम्वर ६ का वडा अध्यक्ष संजित कुमार लामाले विद्यार्थीहरुलाई आफ्नो आमाबुबाले गरेको लगानीलाई साक्षी राखेर मेहनत पूर्वक अध्ययन गर्न आग्रह गरे। उनले भने, ‘तपाईहरुको आजको मेहनतले नै भोली नतिजा आउँने हो। त्यसैले आमाबुबाले परिश्रम गरेर तपाईहरुमा लगानी गर्नुभएको छ। त्यहि सम्झेर अध्ययन गर्नुहोस्।’

कार्यक्रममा गोबलजार नगरपालिकाका शिक्षा शाखा प्रमुख सुवोध कुमार लामा, रामप्रताप रामप्रसाद जनता बहुमुखि क्याम्पसका प्रमुख किशोर कुमार साह, उद्योग बाणिज्य संघका अध्यक्ष विजय कुमार साह, जनता माध्यमिक विद्यालय गोलबजार ४ का प्रधानाध्यापक भरत प्रसादसाह लगाएतका बक्ताहरुले विद्यार्थीहरुलाई सफल शिक्षणको लागि शुभकामना दिंदै प्राविधिक शिक्षाको महत्व बारे प्रष्ट पारेका थिए। उनीहरुले समयको पहिचानगरी अध्ययनमा लाग्न अनुरोध गरे।

सोही क्रममा सर्वोत्कृष्ट अङ्क ल्याएका विद्यार्थीहरुलाई सम्मानपत्र प्रदान गरेका थिए। ८० प्रतिशतभन्दा बढी अङ्क ल्याएका विद्यार्थीलाई उपमेयर साहले सम्मानपत्र प्रदान गरेका थिए।

इन्सिच्यूटका अध्यक्ष नन्दकुमार थापाको अध्यक्षतामा सम्पन्न स्वागत तथा अभिमुखिकरण कार्यक्रमको सञ्चालन सदस्य योगेन्द्र सिंह र स्वागत बासना मोक्तानले गरेका थिए।

कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरका शिक्षक, विद्यार्थीलगायत सरोकारबालाहरुको उपस्थिति रहेको थियो।

इन्सिच्यूटमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग, फामेसी, जियोलोजी र एग्रीकल्चर विषय पठन पाठन भईरहेको छ।