गाईघाट, १४ कात्तिक। उदयपुर प्रहरीले २७ ग्राम प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसहित दुईजना भारतीय युवकलाई पक्राउ गरेको छ।

उदयपुरको त्रियुगा नगरपालिका १० गैरुनकाली खोलो नजिकबाट ब्राउनसुगरसहित भारत बिहार राज्य सुपौल भिमनगर थाना ८ का २७ वर्षीय जसबिन कुमार मण्डल र बिरपुर थाना १२ का २७ वर्षीय सन्तोष कुमार महतोलाई पक्राउ गरेको हो।

खोला नजिक रोकी राखेको बीआर ११ पीबी १३५५ नम्बरको गाडीमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा गियरबक्सभित्र लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला परेको उदयपुर प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ५४ हजार रूपैयाँ, डिजिटल तराजु १ थानबरामद गरेको छ। यस सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।