सिरहा, १२ कात्तिक। मधेशका युवाहरूको एक समूह मधेश अध्ययन यात्रामा निस्किएका छन्। मधेशका राजनैतिक, सामाजिक, आर्थिक र शैक्षिकलगायतका स्थितिबारे अध्ययन गर्न उनीहरू आज आईतबार यात्रामा निस्किएका हुन्।

सिरहाको लहानस्थित सहिद रमेश चोकबाट निस्किएका उनीहरू आजै बेलुकी वीरगञ्ज पुग्नेछन्। त्यहाँबाट भोलि सोमबारदेखि हुलाकी सडक हुँदै १८ गतेसम्म उनीहरू सप्तरी योजना सार्वजनिक गरेका छन्।

मधेश अध्ययन यात्रा अन्तर्गत पहिलो चरणमा उनीहरू मधेश प्रदेशका आठ वटा जिल्ला घुम्न लागेका हुन्। यात्राको प्रमुख उद्देश्य सहिद परिवारको राजनैतिक, सामाजिक, आर्थिक र शैक्षिक स्थितिबारे अध्ययन गर्ने रहेको यात्राका एक सहभागी पत्रकार विनय आजादले जानकारी दिए।

यससँगै उनीहरूले मुसहर समुदाय, किसान, मजदुर, श्रमिक, महिला, क्रान्तिकारी युवा, बौद्धिक व्यक्तित्वहरूसँग पनि भेटघाट गर्न जनाएका छन्। यात्राका क्रममा उनीहरू होटलमा नभई स्थानीयहरुकै घरमा खाना खाने र बास बस्नेछन्।

यसरी भ्रमण गरेर मधेशको भूइँमान्छेको अवस्था बुझ्ने र त्यसपछि उनीहरूले तमाम समस्याका विषयमा सरोकारवालालाई दबाब दिने र जवाफदेही बनाउने प्रयत्न गर्ने बताए।

यात्रीहरूमा टीएमएनसीका उपाध्यक्ष आभाष गुरू, मधेश पुस्तकालयका अध्यक्ष शिव यादव, कान्तिपुर टेलिभिजन सिरहा सम्वाददाता विनय आजाद, टीएमएनसीका सदस्य डाक्टर नवीन यादव छन्।

jgs school