कृष्ण खनाल
हालै प्रकाशित बीपी कोइरालाको ‘जेल डायरी ९२०८००’ को भूमिकामा मैले ‘बीपीलाई राजनीतिमा उदारवादी, अर्थनीतिमा समाजवादी र संस्कृतिमा धर्मनिरपेक्ष ९सेक्युलर० मान्न सकिन्छ’ भनेर लेखेको छु । मेरो त्यो भूमिका यिनै तीन कुराको विस्तृत विवेचनामा केन्द्रित छ ।
पुस्तक लोकार्पण कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापाले धर्म र ईश्वरका सम्बन्धमा बीपीका केही भनाइलाई उद्धरण गर्दै उनलाई धर्मनिरपेक्ष भन्न सकिन्न भनेर फरकमत राखे । उनले मेरो यही वाक्य पढेर कांग्रेसका युवाले पनि बीपीलाई धर्मनिरपेक्षतावादी भन्दै नहिँडून् भनेर सावधानसमेत गराए । पार्टी प्रयोजनका लागि कांग्रेसले बीपीलाई कसरी बुझ्नुपर्छ, त्यो गगनहरूको जिम्मा हो । त्यसमा मेरो खासै भनाइ पनि छैन । बीपी ‘धर्मनिरपेक्षतावादी’ थिए भनेर मैले उल्लेख गरेको छैन, तर उनले अँगालेको संस्कृति निःसन्देह धर्मनिरपेक्ष थियो । उनका तमाम लेखरचना, अन्तर्वार्ता र जीवन व्यवहारले यसको पुष्टि गर्छन् । यहाँ धर्मनिरपेक्ष संस्कृतिका बारेमा केही स्पष्ट गर्नु जरुरी लाग्यो ।
बीपी नेपाली कांग्रेसका संस्थापक नेता मात्र थिएनन्, नेपालका सन्दर्भमा लोकतन्त्र र समाजवादका सिद्धान्तकार एवं प्रयोगकर्ता पनि हुन् । अझ त्यसभन्दा पनि बढी उनी नेपालमा आधुनिक संस्कृतिको परिकल्पनाकार हुन् । उनैको नेतृत्वमा सम्पन्न २००७ सालको क्रान्तिले नेपालमा आधुनिक सोच र संस्कृति भित्र्याएको हो । अन्यथा, शासक हुन पुर्पुरोमा लेखेर ल्याउनुपर्छ भन्ने मान्यता थियो । उनको सोच धार्मिक आस्थानिरपेक्ष थियो । यो कुरा जेल डायरी, जेल जर्नल मात्र होइन, उनका साहित्यिक रचना, भाषण, अन्तर्वार्ताहरू सबैतिर पाइन्छ । नेपालका राजनीतिक नेताहरूमा बीपीजति धर्मनिरपेक्ष संस्कृति भएको मान्छे मैले अर्को देखेको छैन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठमा यस्तो सोच र संस्कृति कति थियो मलाई थाहा छैन । मैले उनलाई देखिनँ । तर अहिले कम्युनिस्ट नेता भनेर चिनिएका, पटकपटक मन्त्री, प्रधानमन्त्री बनेका कसैमा पनि त्यस्तो संस्कृति छैन ।
पाठकलाई लाग्न सक्छ, संस्कृति पनि धर्मनिरपेक्ष हुन्छ र रु परम्परागत बुझाइमा धर्म नै संस्कृतिको स्रोत हो । सामान्यतया हामी गर्भदेखि मृत्युपर्यन्तका विधिव्यवहार, चाडपर्व, जात्रा आदि जुन धर्मसापेक्ष हुन्छन्, तिनलाई संस्कृति भन्छौं । यस अर्थमा धर्म र संस्कृति अविभाज्यजस्तो देखिन्छ । प्रत्येक धर्मले आआफ्नै सामाजिक पद्धति र परम्परा निर्माण गरेको हुन्छ, जसले अन्ततः संस्कृतिको एउटा स्वरूप निर्धारण गर्छ । एकै धर्मभित्र पनि स्थान अनुसार त्यसले देशीयरक्षेत्रीय विविधता पाएको हुन्छ । राष्ट्रिय मेलमिलापको नीतिका साथ नेपाल फर्किएर थुनामुक्त भएपछि दसैं पूर्णिमाको दिन बीपीले शुभकामना आदानप्रदानको चलन नै बसाले, जुन अहिले नेपालका प्रायः सबै राजनीतिक दलहरूले पछ्याइरहेका छन् । दसैंतिहार नेपालमा व्यापक सामाजिक–सांस्कृतिक महत्त्वको भए पनि मूलतः हिन्दु परम्पराकै चाडपर्व हुन् । तर राजनीतिक पार्टीहरूको यस्तो शुभकामना आदानप्रदानलाई धर्मको घेराभित्र सीमित गरेर हेर्न हुँदैन ।
धर्म भनेर जसरी पूजा, आराधना, ईश्वरप्रति भक्तिभावका कुरा छन्, हिन्दु दर्शन र मान्यता त्यसभन्दा धेरै विस्तारित छ । यसमा सत्य, न्याय, अहिंसा, नैतिकता, निष्ठा, सम्पूर्ण चराचर जगत्प्रति प्रेम, मैत्रीभाव र तदनुकूल आचरणलाई समेटिएको छ । बीपीले आफ्नो निजी जीवनमा परम्परागत अर्थको धार्मिक प्रचलन र आस्थाजन्य सामाजिक संस्कारलाई पालना गरेनन् । मातापिताको निधनमा पनि हिन्दु परम्परा अनुसारका कुनै संस्कार गरेनन् । सार्वजनिक वा निजी जीवनको गन्तव्य पहिल्याउन कुनै गुरु–पुरोहितको अनुसरण गरेनन् । हो, अरूको धार्मिक आस्थाप्रति उनको आपत्ति थिएन । उनीहरूको भावनाको सम्मान गर्थे । खास गरी पशुपतिमा मेला भर्न आएका महिलाको भीड र श्रद्धा देखेर त्यसमा आफ्ना भावना खेलाउँथे । उनीहरूले ल्याएका फूलप्रसाद ग्रहण गर्थे । आफ्नो दीर्घायुको कामना गरेर मन्दिरमा पूजा र प्रार्थना गर्न पुगेकी नवयौवनाको भक्तिभावमा विह्वल बन्थे ।
बीपीले ईश्वर छन् वा छैनन् भनेर परिकल्पना गरेनन् । विज्ञानका माध्यमबाट ईश्वरको व्याख्या गर्न सकिन्न भन्थे । उनका लागि ईश्वर त एउटा काल्पनिक अनुभूति हो, त्यसको अनुभूति कवितामा गर्न सकिन्छ, सपनामा गर्न सकिन्छ । आफ्ना अन्तर्वार्ताहरूमा भनेका छन्, ‘अहिले ६८ वर्षको उमेरमा पनि ईश्वरमा मलाई विश्वास छैन । म धर्मको अभ्यास गर्दिनँ, तर धर्मविरुद्ध छैन ।’ कुनै मन्दिर नै जानु हुँदैन भन्ने हठ बीपीमा थिएन । म पशुपति गएको छु, काशीको विश्वनाथ मन्दिर गएको छु भनेका छन् । मन्दिरभित्र कसको मूर्ति छ, उनलाई त्यति सरोकार हुन्थेन । त्यहाँ गएका दर्शनार्थी एवं भक्तजनका भावना र मनोभावना अध्ययन गर्थे ।
बीपी संस्कृतिमा धर्मनिरपेक्ष थिए भनेर मैले धेरै सोचविचारका साथ शब्द चयन गरेको हुँ । बीपीले अपनाएको संस्कृतिको कुरा गर्दा मैले धार्मिक आस्थाजन्य चाडपर्व र सामाजिक संस्कारका कुरालाई होइन, उनको बौद्धिकी र सैद्धान्तिक चिन्तनलाई आधार मानेको हुँ । राजनीतिक विचारमा पनि बीपी धर्मनिरपेक्ष नै थिए । कुनै धार्मिक आस्था अँगालेर बीपीले राजनीति गरेका थिएनन् । ज्योतिषबाट साइत हेराएर २००७ सालमा क्रान्तिको घोषणा गरिएको थिएन, न चुनावमा उम्मेदवारी वा प्रधानमन्त्री पदको शपथ लिँदा साइतको पछि लाग्थे।
अहिले हामी विज्ञान, प्रविधि र भौतिक प्रगतिको दुनियाँमा रमाइरहेका छौं । यो प्रगति कुनै ईश्वरीय रचना होइन । धार्मिक आस्था र कुनै ईश्वरभक्तिको साधना गरेर हासिल भएको पनि होइन । प्रत्यक्ष अनुभूत र परीक्षण गर्न सकिने वैज्ञानिक ज्ञान र खोजकै परिणाम हुन् । यद्यपि यसमै संलग्न कतिपय वैज्ञानिकहरू धार्मिक आस्था नभएका पनि होइनन् । दोस्रो विश्वयुद्धका क्रममा जब संयुक्त राज्य अमेरिकाले जापानी सहर हिरोसिमामा अणुबम प्रहारबाट उत्पन्न भयंकर विनाशकारी शक्ति प्रज्वलनलाई देख्दै अणुबम निर्माता रबर्ट ओपनहाइमरले
श्रीमद्भगवतगीताको स्मरण गरेका छन्— कालोऽस्मि लोकक्षयकृत्प्रवृद्धो लोकान्समाहर्तुमिह प्रवृत्तः । अर्थात् ‘म महाकाल हुँ, सम्पूर्ण लोकको नाशक । अहिले सब लोकको संहार गर्न तत्पर’ । अल्बर्ट आइन्स्टाइन लगायत धेरै पश्चिमेली वैज्ञानिकहरूले गीता लगायत पूर्वीय ज्ञानको प्रशंसा गरेका छन् । तर यसको अर्थ यो होइन कि विज्ञान पनि धार्मिक आस्थासापेक्ष छ ।
बीपीले जेल डायरीमा मात्र होइन, कैयन् अन्तर्वार्तामा भौतिकवाद र अध्यात्मको लामो चर्चा गरेका छन् । गीतामाथि पटकपटक विवेचना गरेका छन् । ‘कुनै बेला गीताको म नियमित पाठक थिएँ’ पनि भनेका छन् । गीताको बहुचर्चित वचन फलको आस नगरेर कर्म गर ९कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।।।० प्रति बीपीको गम्भीर असहमति छ, तर फेरि यही श्लोकलाई उद्धृत गर्दै ‘अहिलेको मेरो कर्म जेलमै बस्नु हो, अर्कोबाट अगाडि नआउँदासम्म मैले यही नै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ’ भनी यही डायरीमा लेखेका छन् । गीता आफैं हामीले चलनचल्तीमा जानेको धर्मका बारेमा बोल्दैन, यो कर्मप्रधान छ र कर्ममै ज्ञान र निष्ठा अर्थात् भक्ति समन्वित छ ।
अहिलेजस्तो नास्तिकताजन्य भोगवादी विलासिताको चरम लालच तर पद र चुनावी मतका लागि धर्मको प्रदर्शन गर्ने ढोंगी व्यवहार बीपीमा थिएन । उनले आफ्ना कुरालाई इमानदारीसाथ अत्यन्त खुला रूपमा राखेका छन् । बीपी आफूलाई भौतिकवादी भन्थे, तर उनमा पनि भौतिकवाद र अध्यात्मको निकै ठूलो द्वन्द्व थियो । यो द्वन्द्व जीवन दर्शनका कुरामा हो, राजनीतिका बारेमा होइन । चिन्तनको रूप द्वन्द्वात्मक नै हुन्छ । राजनीतिका कुरालाई उनले कहिल्यै ईश्वरीय अनुग्रह वा अनुकम्पा मानेनन् । समाज आफैंले बदल्ने हो, आफ्नै कर्मबाट उपलब्धि हासिल गर्ने हो भन्ने मान्यता राखेका थिए ।
मलाई लाग्छ, आज हाम्रो मनोविज्ञान बीपीको सोच र चिन्तनले भन्दा नेपाललाई धर्मनिरपेक्ष राज्य भनेकोबाट बढी ग्रसित छ । बीपी रहिरहेको भए नेपाललाई धर्मनिरपेक्ष राज्य भनेर घोषणा गरिन्थ्यो कि गरिन्नथ्यो भन्ने अनुमानमा म अलमलिन चाहन्नँ । तर पञ्चायतकालमा नेपाललाई ‘हिन्दु राज्य’ भनेकामा उहाँको स्पष्ट आपत्ति थियो । काठमाडौंमा प्रकाशित हुने एक अंग्रेजी साप्ताहिक ९विक्ली मिरर २२ जुलाई १९७९० सँगको लिखित अन्तर्वार्तामा उनले नेपाल हिन्दु राज्य होइन, त्यसो भन्नु ‘फ्रड’ अर्थात् बकबास हो भनेका छन् । आश्चर्य लाग्ला, त्यस अन्तर्वार्तामा बीपीले नेपाललाई धर्मनिरपेक्ष राज्य नै मानेका छन् ।
राज्यका सम्बन्धमा धर्मनिरपेक्षता विवादित विषय पनि हो। सामान्यतया जापानबाहेक राजतन्त्र भएका देशलाई धर्मनिरपेक्ष भन्न कठिन छ । ती देशमा राजा र राजगद्दीका उत्तराधिकारी कुन धार्मिक मतका हुन् भन्ने कुरा आउँछ । बेलायतका राजा चर्च अफ इङ्ग्ल्यान्डका प्रमुख पनि हुन् र आस्था अर्थात् धर्मरक्षक मानिन्छन् । बेलायतको माथिल्लो सदन हाउस अफ लर्डस्मा अहिले पनि चर्चका २६ जना पादरी ‘लर्ड स्प्रिच्युयल’ छन् । रानी एलिजाबेथ द्वितीयको निधनपछि १२ सेप्टेम्बर २०२२ मा द गार्जियनले सम्पादकीय नै लेख्यो, ‘राजतन्त्र एकप्रकारको धर्म हो ९मोनर्की इज अ फर्म अफ रिलिजन० र भन्यो, आजको धर्मनिपेक्ष युगमा राजतन्त्रभन्दा बरु ईश्वर नमान्न सजिलो छ । तर पनि बेलायतलाई इसाई राज्य भनिन्न । त्यहाँ झन्डै ७० प्रतिशत मानिसले आफू कुनै पनि धार्मिक आस्थामा नभएको भन्छन् । यसका कानुन र शासनप्रशासन धर्माभिमुख छैनन् । तथापि अभ्यासमा बेलायत धर्मनिरपेक्ष राज्य नै मानिन्छ ।
गणतन्त्र नै भए पनि राज्यले धर्मनिरपेक्ष घोषणा गर्दैमा त्यहाँका जनता सबै धर्मनिरपेक्ष हुने कुरा होइन । चीन नै एउटा उदाहरण हो । मार्क्सवाद र धर्म परस्परविरोधी मान्यता हुन् । जनवादी गणतन्त्र भएपछि चीन धर्ममा विश्वास नराख्ने देश भनेर घोषित छ । माओकालमा धर्म र परम्परागत अभ्यासविरुद्ध सांस्कृतिक क्रान्ति नै भयो । धर्म, संस्कृतिविरुद्ध यो एउटा अत्यन्तै कठोर आक्रमण थियो । अहिले चीनमा धार्मिक स्वतन्त्रता खुला गरिए पनि परम्परागत धार्मिक अन्धविश्वास र प्रचलनमाथि अभियान जारी छ । त्यसका बावजुद मानिसको धार्मिक आस्था सकिएको छैन। सन् २०२० मा प्रकाशित ‘माओइजम एन्ड ग्रासरुट्स रिलिजन’ भन्ने पुस्तकमा लेखक जियोजुवान वाङले चिनियाँ साम्यवादी क्रान्ति र सांस्कृतिक क्रान्तिका बावजुद कसरी चीनमा बौद्ध, ताओ, इसाई लगायत धार्मिक आस्था र अभ्यास कायमै रहे π कसरी तिनको पुनः आविष्कार र सहवरण भइरहेछ भनेर एउटा राम्रो खोजपूर्ण अध्ययन गरेका छन् ।
वास्तवमा संविधानमा र राजनीतिक घोषणा गरिँदैमा कुनै राज्य धर्मसापेक्ष वा निरपेक्ष भइहाल्ने कुरा होइन । यसको अर्थ हो राज्यले कुनै धार्मिक आस्थाका आधारमा नागरिकमाथि व्यवहार गर्दैन, धार्मिक आस्थाका आधारमा कसैलाई राज्यका कुनै पदमा चयन गरिन्न, धर्म मान्ने वा नमान्ने सबै नागरिकलाई समान व्यवहार गरिन्छ भन्ने हो । नेपालमा धर्मनिरपेक्ष राज्य भनेको धर्मविरोधी त्यसमा पनि हिन्दु धर्मविरोधी अवधारणा र अभ्यास भनेजस्तो गरी हेरियो । धर्मनिरपेक्ष राज्य घोषित गर्नु धार्मिक अराजकता पनि होइन । मुलुकमा धार्मिक सहिष्णुता र स्वतन्त्रता कायम राख्नु राज्यको दायित्व हो । यसको व्यवस्थापनका लागि राज्यले कानुन बनाउन सक्छ, बनाएका पनि छन्।
धर्मनिरपेक्ष घोषणा गरेपछि नेपालमा धार्मिक क्रियाकलाप र प्रदर्शन अत्यधिक बढेका छन् । संविधान निर्माण अन्तिम चरणमा पुग्दा त्यसमा छिमेकी भारतको चासो अत्यधिक बढ्यो । नेपाल पुनः हिन्दु राज्य नै घोषित हुनुपर्छ भन्ने दबाब पर्यो । त्यसलाई नमान्दा मुलुकले भारतीय नाकाबन्दी नै भोग्नुपर्यो । मधेस कार्ड त एउटा बहाना थियो, मुख्य कुरा हिन्दु राज्यकै विषय थियो । भारतमा भारतीय जनता पार्टी ९भाजपा० को सत्तारोहणपछि हिन्दुत्वको अभियान पनि बढेको छ । धर्मनिरपेक्षता मात्र होइन, भारतीय संविधानका कतिपय व्यवस्थाप्रति नै भाजपाको असहमति छ, दृष्टिकोण नै फरक छ । त्यहाँ राजनीतिक र धार्मिक असहिष्णुता बढिरहेको छ ।
भाजपाको राजनीतिक तरंग नेपालमा पनि आइपुगेको छ । भारतको राजनीतिक, आर्थिक र सुरक्षा स्वार्थको दबाब त नेपालले पहिलेदेखि नै भोग्दै आएको हो, तर अब धार्मिक दबाबसमेत थपिएको छ । राजनीतिमा पनि हिन्दुकरणको हावा निकै बढ्दो छ । धार्मिक अतिवाद र पहिचानका मुद्दाले सुरक्षा चुनौती बढेको कुरा प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूले संसदीय समितिमै भनेका छन् । सत्ता राजनीति र मन्त्री, प्रधानमन्त्री पदका लागि जे कुरामा पनि सम्झौता गर्ने प्रवृत्ति हावी भएपछि संविधान र राजनीतिका सिद्धान्तले पनि ठाउँ छोड्छन् । राजनीतिको लामो यात्रा गर्नुपर्ने खास गरी युवाले यसतर्फ बेलैमा सचेत भएर राजनीतिको अनुहार जोगाउन नसक्ने हो पदका कुरा क्षणिक लाभमा सीमित हुनेछ, देशले आशा गरेको एउटा पुस्ता नै गुमाउन सक्छ ।
कान्तिपुरबाट।