सप्तरी, ५ असोज। श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीको २८ औं बार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ।
खडक नगरपालिकाको कल्याणपुर बजारस्थित साह अतिथि सदनमा सम्पन्न साधारणसभामा बक्ताहरुले पछाडी परेका समुदायको उत्थान र विकासमा संस्थाले खेलेको भूमिका महत्वपुर्ण रहेको चर्चा गरेका छन्।

कार्यक्रममा प्रदेशसभा सदस्य मालाकुमारी कर्णले शिक्षा, स्वास्थ्य, जनचेतना र विपद्का बेला राहत वितरण लगायतका क्षेत्रमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले खेलेको भूमिका प्रशंसनिय रहेको उल्लेख गर्दै संस्थागत विकासँगै विपन्न र पछाडी परेका समुदायको उत्थानमा संस्थाले पु¥याएको योगदान बारे चर्चा गरे।

हरवा चरवा मुक्तिको घोषणा भएपनि अझै कार्यान्वयन नभएको बताउनुहुँदै उहाँले हरवा चरवाहरुको लागत संकलन गरी पुर्नस्थापनामा जोड दिनुपर्ने बताए।

सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले हरवा चरवाहरुको पुर्नस्थापनाका लागि आफ्नो गाउँपालिकाले बजेट बिनियोजन गर्न तयार रहेको बताउदै हरवा चरवाहरुको लागि भएको खर्च र उपलब्धी बारे समिक्षा हुनुपर्नेमा जोड दिए।

हरवा चरवाहरु अझै उठिबासको समस्या भोग्नु दुख भएको बताउनुहुँदै उहाँले आफ्नो पालिकामा उठिबासको समस्या आउनै नदिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले गरिबी निवारण गर्नु सरकारको लक्ष्य भएकाले सो लक्ष्य पुरा गर्न सामाजिक संस्थाहरुबाट भईरहेको प्रयास प्रशंसनिय रहेको चर्चा गर्दै समाज रुपान्तरणमा सामाजिक संस्थाको योगदान महत्वपुर्ण रहेको बताए।

श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष चतुरनारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष दशम मण्डल, बोदे बसाईनका बुधेश्वर सदा, सगरमाथा आपाङ्ग कल्याण संघका बिरेन्द्र चौधरी, डाक्नेश्वरी नगरपालिका हरवा चरवा मञ्चका श्रीप्रसाद सदा लगायतले संस्थाको भूमिका र योगदान बारे चर्चा गरे।

सो अवसरमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीले संस्थाको बार्षिक गतिबिधिबारे जानकारी गराए।