सर्लाही, ५ असोज। सर्लाहीको हरिवन नगरपालिकामा रहेको मानव सेवाश्रममा बिहिवार बिहान प्रेस सेन्टर नेपाल सर्लाहीले मिष्ठान्न भोजन सेवा गरेको छ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती सर्लाहीका सदस्य स्वर्गिय अभिषेक कुमार यादवको १३ औँ दिनको पुण्य तिथिको अवसर पारेर मानव सेवा आश्रममा श्रद्धाञ्जली कार्यक्रम गर्दै आश्रीतहरुलाई भोजन गराएको हो।

कार्यक्रममा सर्लाही जिल्ला ईन्चार्ज काफ्लेले जनतालाई सुसुचित गराउने महान अभियान लिएर पत्रकारीता जगतमा अघि बढेका स्वर्गिय यादवको निधनले देशले अपुरणिय क्षति बेहोरेको बताए। उनले स्वर्गिय पत्रकार यादव जुन महान लक्ष्यका साथ अघि बढेका थिए, त्यो लक्ष्य प्राप्तिका लागी प्रेस सेन्टले राम्रो काम गरे त्यो नै स्वर्गिय यादव प्रति सच्चा श्रद्धाञ्जली हुनेबताए।

इन्चार्ज काफ्ल्ले प्रेस सेन्टर जिल्ला समन्वय समितीले राम्रो काम गरिरहेको आफुले पाएको र आगामी दिनमा पनि यस्ता राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिन आवश्यक रहेको बताए।

सोही क्रममा हरिवनका मेयर कमल बुढाथोकीले यादवको मृत्युले देशले एक होनहार पत्रकार गुमाएको बताए। उनले देशको चौथो अंगको रुपमा रहेका एक खम्बाको अवसानले आफु निकै मर्माहत भएको बताए।
कार्यक्रममा सहभागीहरुले स्वर्गिय पत्रकार यादवप्रति पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका थिए।

प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष श्रवण थापाको सभाध्यक्षतामा नेकपा माओवादी केन्द्रका सर्लाही जिल्ला ईन्चार्ज अच्युतम काफ्लेको प्रमुख आतिथ्यता तथा नेता राजकुमार यादव, हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्त, हरिवन नगरपालिकाका नगरप्रमुख (मेयर) रमेश बुढाथोकी (कमल) सहितका नेताहरु, प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिती सर्लाहीका सम्पुर्ण पदाधिकारी तथा जिल्लाका पत्रकारहरुको उपस्थितीमा कार्यक्रम गरिएको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितीका सचिव राधेश्याम कुशवाहले जानकारी दिए।
जिल्लाको धनकौल ४ महिनाथपुर घर भएका यादव गएको भदौ २३ गते शनिबार बागमतिबाट रिपोर्टिङ सकेर घर फर्किंदै गर्दा बरहथवा ८ टाँडी गर्जाहा पुलमा मोटरसाईकल दुर्घटनामा परि गम्भिर घाईते भएका थिए। उनको एलएस न्युरो अस्पताल कलैयामा उपचारको क्रममा ज्यान गएको थियो।