सप्तरी, १९ भदौ। सप्तरीबाट प्रदेश सांसद निर्वाचित अनिरुद्रप्रसाद सिंह यादवलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यादवलाई थुनामा राखेर पुर्पक्ष गर्ने आदेश दिएको हो।

१६ वर्षदेखि मुलतबीमा रहेको मुद्दामा प्रहरीले हिजो सोमवार राजविराज ७ बाट यादवलाई पक्राउ गरेको थियो। यसअघि जनता समाजवादी पार्टीमा रहेका यादव गएको प्रदेशसभा चुनावमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र उम्मेदवार भई निर्वाचित भएका थिए।

जिल्ला प्रहरी कार्यालयको रेकर्डमा उनी २०६४ असार १४ गतेदेखि नै फरारको सूचीमा थिए। सरकारी वकिल कार्यालयले सप्तरी जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा २०६४ असार ९ गते तत्कालीन खोक्सरप्रवाह १ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्यामा यादवको पनि संलग्नता रहेको उल्लेख छ। मृतककी दिदी रीताकुमारी चौधरीले २०६४ असार १४ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा यादवसमेत नौ जनाको नाम उल्लेख गरेर किटानी जाहेरी दिएका थिए।