सिरहा, १६ भदौ। सिरहा प्रहरीले स्रोत नखुलेको ४४ लाख नेपाली रुपैयाँ, एक थान भारतीय नम्वरप्लेट भएको कारसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले गोप्य सुचनाको आधारमा भारतको जयनगरबाट नेपाल तर्फ आउदै गरेको वीआर ७ सी ४४२४ नम्वरको हुण्डाई सेन्ट्रो कारलाई सिरहा नगरपालिका १७ माडर काली चौकमा चेकजाँच गर्दा ४४ लाख स्रोत नखुलेको नेपाली रकम सहित स्थानीय ५२ वर्षिय प्रेम कुमार यादव र सिरहा ७ हेमनारायणचौकका ४२ वर्षिय संजय कुमार साहलाई नियन्त्रणमा लिएको हो।
प्रहरी चौकी खिरौनाबाट प्रहरी सहायक निरीक्षक दुर्गा प्रसादयादव र ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी नायव निरीक्षक अमित कुमार रायको कमाण्डमा खटिगएको संयुक्त टोलीले चेकजाँचको क्रममा स्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए।
फेला परेको रकम, कार र पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय, ईटहरी सुनसरी बुझाउने तयारी भईरहेको जनाएको छ।
उनीहरुले भारतीय बजारमा नेपाली ग्राहकबाट प्राप्त भएका रकम नेपाल भित्र्याएको हुनसक्ने अनुमान गरिएको छ। भारतमा नेपालीहरु गएर किनमेल गर्दा प्राप्त भएको रकम नेपाली बैंकहरुमा नेपालीकै नाममा खाता खोलेर जम्मा गर्ने र भारतबाट एटीएममार्फत निकाल्ने गरेको व्यसायीहरु नै बताउँछन्।