जनकपुर, १२ भदौ। प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवम् साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ। पत्रकारिताका भीष्म पितामह पनि भनिने नेपालीको सोमबार राति जनकपुरधामस्थित म्याक्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

विगत १४ महिनादेखि बिरामीले थलीरका ७८ वर्षिय बरिष्ठ पत्रकार नेपालीको मृत्यु भएको परिवारजनले जनाएको छ। उनको जन्म जनकपुरधाम उपमहानगरपालिका २३ बेला गाउँमा बुबा रामदुलास साह र आमा इन्द्रमणि देवीको घरमा विसं २००२ भदौ १९ गते भएको थियो।

उनी गत असोज १२ गतेदेखि ओछ्यान परेका थिए। यसअघि उनलाई भारतको दिल्लीका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेपछि मिसन पत्रकारिताबाट आफ्नो पत्रकारिता जीवन सुरुआत गरेका थिए। उनले विसं २०१५ मा जानकी नौमीमा कविता लेखेर र वाचन गरेर साहित्य लेखन सुरु बताइन्छ।

त्यसपछि उनले देश र समाजको हितका लागि, अधिनायकवादका विरुद्ध, लोकतन्त्र, समाजवाद र समानताका लागि निरन्तर आफ्नो लेखनमार्फत आवाज उठाउँदै आएका थिए। वरिष्ठ पत्रकार नेपालीले २०१८ साल मङ्सिर २६ गतेदेखि पत्रकारिता सुरुआत गरेका थिए।

नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधि र बलराम नायकलाई सोही दिन जनकपुरधामबाट पक्राउ गरिएको थियो। नेताद्वय पक्राउ परेको समाचार ‘नेपाल सन्देश’ पत्रिकामा लेखेर नेपालीले पत्रकारिताको सुरुआत गरेका थिए।

उनी पछिल्लो लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित रहेको परिवारजनले जनाए।

लेखक, पत्रकार तथा अभियन्ता रामरिझन यादवले नेपालीको मृत्युलाई ‘एउटा युगको अन्त्य!’ भएको आफ्नो फेसबुक पेजमा लेखेका छन्। उनले थप लेखेका छन्, ‘अव नेपालमा उनीभन्दा जेठो एकमात्र वरिष्ट पत्रकार भैरव रिसाल छन्। तराई मधेशमा यस बिधाका त उनी एकलौटा जिबित शहीद र योद्धा थिए।’

उनी प्रजातान्त्रिक भएपनि नले मधेश र मधेशीको अधिकारको विषयमा धेरै पहिलादेखि लेख्दै बोल्दै आएको सम्झीए।