लहान, १० भदौ। बाढीले बगाएर बेपत्ता भएका शिवनारायण यादवको शव २४ घण्टापछि फेला परेको छ।
सिरहाको लहान नगरपालिका २४ झुट्कीका ३५ वर्षीय यादवको शव सखुवानन्कारकट्टी गाउँपालिका ५ कल्याणपुरमा फेला परेको हो।
यादव झुट्की गाउँदेखि दक्षिण पर्ने सर्रे खोलामा आएको बाढीमा दाउरा खोज्दै मध्यभागमा पुगेका बेला अचानक आएको ठूलो बाढीले बगाएको स्थानीय जानकारी दिए।
प्रत्यक्षदर्सि स्थानीयका अनुसार, ’खोलामा अचानक ठूलो बाढी आएकाले वारीपारी गर्न सक्ने अवस्था थिएन। यादव खोलाको मध्यभागमा बालुवा थुप्रिएको ठाउँमा केही वेर बसेका थिए। तर ठूलो भेलले उनलाई बगाएर सर्रे, खुट्टी खोला हुँदै बलान खोलासम्म पु¥याएछ।’
बाढी हेर्न गएका स्थानीयले बलान खोलामा शव देखेपछि शनिबार अपरान्ह प्रहरीलाई खवर गरेका थिए।
स्थानीयले दिएको जानकारीसँगै प्रहरीले तत्काल शव निकालेर लहानस्थित प्रादेशिक अस्पताल ल्याएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी भोलाकुमार भट्टले जानकारी दिए। उनका अनुसार यादवको शव शनिबार साँझ नै पोष्टमार्टम गरी सम्बन्धित परिवारलाई बुझाइएको छ।