जनकपुर, ७ भदौ। बारामा तीर्थयात्री बोकेको बस दुर्घटनाहुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्।

बारा र मकवानपुर जिल्लाको सीमानामा रहेको चुरियामाई मन्दिरनजिक भएको दुर्घटनामा परी एक नेपाली सहित सात भारतीयको मृत्यु भएको हो।

दुर्घटनामा भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुर्वेदी, ६५ वर्षीय श्रीकान्त चतुर्वेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मीरादेवी र नेपालको महोत्तरी लोहारपटी नगरपालिका ५ का ४१ वर्षीय विजय लाल पण्डित रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाईमा बुधबार राति दुर्घटना भएको हो। चालकसहित २७ यात्रु सवार बस चुरियामाई मन्दिर नजिकैबाट करिब १०० मिटर दक्षिणतर्फको खोलामा खसेको छ।

दुर्घटनामा घाइते १७ जना मध्ये १४ जनाको हेटौंडा अस्पताल, एक जनाको चुरेहिल अस्पताल, अर्का एकको सहकारी अस्पताल र अर्को एक जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तिव्रगतिका कारण बस दुर्घटना भएको प्रहरीले जनाएको छ। चालक प्रहरी नियन्त्रणमा रहेको छ।