- हरिहर विरही
प्रदीप गिरिको जीवनको पहिलो रोजाइ राजनीति थिएन । प्राध्यापक, लेखक वा दार्शनिक बन्न चाहनुहुन्थ्यो, तर कालान्तरमा उहाँको जीवन राजनीतिक वृत्तमै केन्द्रित रह्यो । पटकपटक सांसद र पार्टीको केन्द्रीय सदस्य बन्नुभयो । योबाहेक कुनै पदमा जान चाहनुभएन । मौका नपाएको होइन, तर त्यस्ता कुनै पनि प्रस्ताव हाँसेर उडाइदिनुभयो । मानिस पदले होइन, सिद्धान्त, विचार र चरित्रले ठूलो हुन्छ र यस्तो वातावरणमा पदले मानिसको कद झन् घटाउँछ भन्ने बुझ्नुभएको थियो । त्यसैले उहाँ पदलाई अर्थहीन मात्रै होइन, लक्ष्यमाथिको अवरोधै ठान्नुहुन्थ्यो ।
लोकतन्त्र स्थापनापछिको अवस्थामा उहाँका लागि अवसर र सुविधाका ढोका प्रशस्तै खुलेका थिए । तर, यतिबेला म २०४५ साल अर्थात् पञ्चायतकालको एउटा घटना सम्झिरहेको छु– नेपाली कांग्रेसका धेरै नेता–कार्यकर्ता जेलमा थिए । तीमध्ये मार्सलजुलुम शाक्यलाई केही कारण जेलबाट छुटाउनैपर्ने अवस्था आयो । प्रदीप गिरि र म समय मिलाएर तत्कालीन गृहमन्त्रीकहाँ पुग्यौं । कठोर छवि भएका गृहमन्त्री दरबारका प्रिय पात्र थिए, प्रधानमन्त्रीका पनि निकट । हाम्रो आग्रहपछि उनले ‘मानवीय भावनाले’ स्वीकार गर्दै मार्सललाई छिट्टै छाडिदिने वचन दिए र त्यो पूरा पनि गरे । प्रदीपजीको कुरा केहीबेर सुनेपछि उनले पनि प्रस्ताव गरे, ‘योग्य र राजनीति बुझेका मानिस कि जेलमा छन्, कि कुनामा लुकेर बसेका छन् अनि राजाले मजस्ता सामान्य मानिसलाई गृहमन्त्री बनाउनुपरेको छ । मलाई गर्व छ, म अहिले त्यो ठाउँमा छु, जहाँ कुनै समय विश्वेश्वरप्रसाद कोइराला हुनुहुन्थ्यो । तपाईंहरूले पनि राजालाई सहयोग गरे कति राम्रो हुन्थ्यो, कति महत्त्वपूर्ण जिम्मेवारी पाउनुहुन्थ्यो । आउनुहोस्, मिलेर देश बनाऊँ ।’
गिरिले उनको आशय नबुझ्ने कुरै थिएन । मन्त्रीको सदाशयतालाई धन्यवाद दिँदै उहाँले भन्नुभयो, ‘मैले सहयोग गरे मलाई दिने कुरा राजासँग के छ रु बढीभन्दा बढी प्रधानमन्त्री १ त्योभन्दा माथि केही छ रु पञ्चायतको प्रधानमन्त्री पद त तुलसी गिरिले पनि पाइसकेका छन् । तुलसीभन्दा नालायक कति प्रधानमन्त्री भइसके कति १ तुलसी मेरा काका हुन्, उनी प्रधानमन्त्री बन्दा गाउँका बच्चाबच्चाले समेत खिसी गर्थे– के खान गएको होला भन्दै । कसैले पनि उनी पहिलेभन्दा ठूलो भएको ठानेनन् । म त पक्कै पनि राजनीतिमा उनीभन्दा अलि बढी नै जान्ने छु नि । उनी त मेडिकल पढेका मान्छे, राजनीति त बीपीले अलिअलि सिकाएको न हो । राजालाई सोध्नुस्– मलाई दिन डा। गिरिलाई दिएभन्दा ठूलो पद कुनै छ रु राजाको जवाफ आएपछि थप कुरा गरौंला १’ गिरिको कुरा सुनेपछि गृहमन्त्री स्तब्ध भएका थिए ।
प्रदीप गिरि मूलतः पारिवारिक विरासतका कारण राजनीतिमा लाग्नुभएको थियो । उहाँका काका रुद्र गिरि नेपाली कांग्रेसका संस्थापक सदस्य थिए, जो पछि पञ्च भए । पिता मित्रलाल गिरि कांग्रेसको सिरहा जिल्ला सभापति थिए । प्रदीप सिरहाको सम्भ्रान्त परिवारमा जन्मिनुभएको थियो ९सन् १९४५० । बनारसदेखि भीमसेनगोलासम्म उहाँ आफ्नो र अरूबारे धेरै कुरा सुनाउनहुन्थ्यो । भन्नुहुन्थ्यो, ‘भविष्यमा राजनीतिमा लाग्छु भन्ने विद्यार्थीकालमा सोचेकै थिइनँ । ठूलो प्रोफेसर वा साहित्यकार बन्ने इच्छा थियो । पढ्न तेज भएकाले आमा–बुबा डाक्टर कि इन्जिनियर बनाउन चाहन्थे । तर, मेरो रुचि साहित्य, दर्शन अनि राजनीतिमा थियो । बुबा राजनीतिमा लागेकाले परिवार अस्तव्यस्त थियो । त्यसैले छोरा त्यता नलागून् भन्ने अभिभावकको चाहना थियो । मेरी आमाले पनि एकपल्ट कडा धम्की दिनुभयो– तिमीहरूले मेरो कुरा मानेनौ भने म पनि मिश्री नानीझैं बृन्दावन गएर बसिदिन्छु भनेर । त्यसपछि भाइ लक्ष्मण इन्जिनियरिङ पढ्न तयार भयो । सायद बुबा निर्वासनमा बस्दा म धेरै समय उहाँसँग रहेकाले क्रमशः डोरिँदै राजनीतितिर लागेँ, विरासतको रूपमा । पार्टीको सदस्य नै नभई कसरी कसरी ‘नेता’ भएछु ।’
हो उहाँ नेता हुनुहुन्थ्यो । तर, कसैले आफूलाई ‘नेता’ भनेको रुचाउनुहुन्नथ्यो । भन्नुहुन्थ्यो, ‘यो शब्दको यति अवमूल्यन र बदनामी भएको छ कि कसैले मलाई नेता भन्यो भने गाली वा व्यंग्य गरेझैं लाग्छ ।’ गिरिलाई देख्नासाथ मानिसहरू वरिपरि झुम्मिन्थे । पार्टीभित्र पनि सर्वाधिक लोकप्रिय हुनुहुन्थ्यो । तर, पार्टी संगठनको काममा संलग्न रहन चाहनुभएन । नेताहरूको संगठन सञ्चालन शैली, गुटबन्दी र पदमोह देखेर दिक्क मान्दै बराबर उपहास गरिरहनुहुन्थ्यो । एकपल्ट केन्द्रीय समितिमै उहाँले नेताहरूसामु ‘किसुनजीलाई आजीवन सभापति र गिरिजाबाबुलाई आजीवन प्रधानमन्त्री बनाउने घोषणा गरिदिऊँ न’ भनेर गर्नुभएको व्यंग्य निकै चर्चित थियो।
......
प्रदीप गिरि बहुमुखी प्रतिभाशाली, बौद्धिक व्यक्तित्व, चिन्तक तथा प्रखर र प्रभावशाली वक्ता हुनुहुन्थ्यो । साथी र कार्यकर्तासँग मात्रै होइन आफ्नै पार्टीका शक्तिशाली नेताहरूसँग पनि निर्भीकता साथ कुरा गर्नुहुन्थ्यो । कैयौं विषयमा पार्टी र संसद्कै निर्णयप्रति पनि उहाँले कठोर विमति जनाएको धेरैले देखेकारसुनेका छन् । उहाँ परम्परा र कसैको नीति निर्देशनभन्दा आफ्नै विवेकबाट सञ्चालित हुनुहुन्थ्यो । २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिको समर्थन गरेर धेरै नेता, कार्यकर्ता निर्वासनबाट फर्किए । तर, गिरि ‘मलाई यो नीतिप्रति विश्वास छैन’ भन्दै भारतमै बस्नुभयो । एक समय प्रधानमन्त्री बन्न सांसदहरूको खरिद–बिक्री र अपहरण चलिरहेको बेला कांग्रेसले आफ्ना सांसदहरूलाई होटेलमा राख्ने निर्णय गरेको थियो । त्यो निर्णयलाई गिरिले ठाडै अस्वीकार गर्नुभयो । प्रधानमन्त्रीका प्रत्याशीले प्रदीपजीलाई मनाउन किसुनजीसँग अनुरोध गरे । किसुनजीले सामूहिक निर्णयको पालना गर्न स्नेहपूर्वक आग्रह गर्नुभयो । तर, गिरिले अडान छाड्नुभएन । भन्नुभयो, ‘यस्तो निर्लज्ज काम पनि कसैले गर्छ रु मलाई किन्न सक्ने शक्ति यो दुनियाँमा कोहीसँग छैन, तपाईं ढुक्क हुनुस् ।’
गिरि र विरही
कतिपय प्रसंगमा गिरिले बीपी कोइरालासँग पनि हाकाहाकी मतान्तर जनाउनुभएको थियो । बनारसमा उहाँहरूबीच बेलाबेला वादविवाद र शास्त्रार्थ भइरहन्थ्यो, राजनीतिक र अराजनीतिक विषयमा पनि । २०२९ सालमा बीपीले गरेको सशस्त्र क्रान्तिको आह्वानलाई गिरि ‘मूर्खतापूर्ण’ ठान्नुहुन्थ्यो र उक्त संघर्ष कदापि सफल नहुने भविष्यवाणी गर्नुहुन्थ्यो । यो विचार उहाँले बीपीसामु पनि राख्नुभयो र आफू सहमत नभए पनि पार्टीको कार्यक्रमलाई पूर्ण सहयोग गर्ने वचन दिनुभयो । वचन पूरा गर्न उहाँ दिलोज्यानले लाग्नुभयो । गिरि अहिंसाको पक्षधर हुनुहुन्थ्यो, महात्मा गान्धीप्रति असीम श्रद्धा गर्नुहुन्थ्यो । आफूलाई ‘गान्धीवादी समाजवादी’ भन्नुहुन्थ्यो । तर, बीपीप्रतिको सम्मानले बम र हतियार किन्न, भण्डारण गर्न र गुप्त रूपमा नेपाल पठाउन पनि सक्रिय रहनुभयो । शक्तिशाली विस्फोटक पदार्थहरू उहाँकै डेरामा पनि राखिएको थियो । राजनीतिक छलफलमा कोइराला कम्युनिस्टहरूको कडा आलोचक हुनुहुन्थ्यो भने गिरि केही सकारात्मक ।
......
प्रदीपजीलाई मैले सर्वप्रथम २०३० सालमा बनारसमा भेटेको हुँ । २०२७ सालमा जनकपुरमा राजा महेन्द्रको जन्मोत्सवमा विरोध प्रदर्शन गर्दा राजकाज मुद्दामा करिब एक वर्ष जेल बसेर म रिहा भएको थिएँ । रिहा हुनासाथ जनकपुरका हाम्रा तत्कालीन सर्वाधिक सक्रिय नेता बोधप्रसाद उपाध्याय ९दादा० ले ‘तिमी बनारस गएर विश्वेश्वर बाबुलाई भेट, अनि त्यहाँ प्रदीप गिरिलाई पनि भेट्नू’ भनेर पठाउनुभयो । बीपीलाई भेटें, तर प्रदीपजी सायद अन्त कतै जानुभएको थियो, भेट भएन । दोस्रोपल्ट २०३० सालमा बीपी भेट्न जाँदा खोजेरै गिरिलाई भेटें । २०३१ देखि ३३ सालसम्म म बीपीको निर्देशन अनुसार भारतमा — धेरैजसो
बनारसमा — बस्दा भने प्रदीपजीसँग निकटता बढ्यो । पहिलो भेटमै उहाँबाट आकर्षित भएँ ।
बीपीले मलाई नेपाली कांग्रेसको मुखपत्र ‘तरुण’ ९जसको सम्पादक शैलजा आचार्य हुनुहुन्थ्यो० को सम्पादकमण्डलमा सामेल गरेपछि बस्न थालिएको दूधविनायक नजिकको हाम्रो डेरामा आइरहनुहुन्थ्यो– प्रदीपजी । त्यहाँ हामी ४—५ जना बस्थ्यौं । सबैको कोठा छुट्टाछुट्टै थियो । गिरिले अन्तै छुट्टै फ्ल्याट र बीएचयूको छात्रावासमा पनि एउटा छुट्टै कोठा लिनुभएको थियो । कुरा गर्दागर्दै रात पर्यो भने उहाँ अलि टाढा रहेको आफ्नो सुविधाजनक डेरामा नगई मेरो कोठामा सुतिदिनुहुन्थ्यो । राति दुई–तीन बजेसम्म अनेक विषयमा धाराप्रवाह देश–दुनियाँका गफ गर्नुहुन्थ्यो । मलाई निद्रा लागेको देख्नासाथ टक्क रोकिनुहुन्थ्यो, बत्ती निभाउनुहुन्थ्यो र एकैछिनपछि बत्ती बालेर पढ्न थाल्नुहुन्थ्यो । राति २–३ बजेसम्म पढेर भोलिपल्ट दिउँसो १२–१ बजेतिर उठ्नुहुन्थ्यो । कहिले सिनेमा र कहिले नाटक हेर्न लैजानुहुन्थ्यो । पुस्तक पसलमा घण्टौं बिताउनुहुन्थ्यो, पुस्तकहरू छानेर । कतिपय पसलेले उहाँलाई रुचिकर लाग्ने नयाँ पुस्तक पहिल्यै छुट्याएर राखिदिएका हुन्थे । उहाँ छानीछानी झोलाभरि पुस्तक हाल्नुहुन्थ्यो र पैसा दिनुको सट्टा भन्नुहुन्थ्यो, ‘पहिलेको उधारो खातामा यो पनि थपिराख्नुस् है, हप्ता–दस दिनमा सबै क्लियर हुन्छ, बरु अलिकति एड्भान्स पनि छोडिदिउँला ।’ साथीहरूलाई खानपिन गराउने पनि उहाँको सोख थियो । रेस्टुराँमा मलाई माछा–मासुसमेत मगाएर कर गरीगरी ख्वाएको र आफू शाकाहारी भएकाले प्रायः चिउराको पुलाउ, गाजरको हलुवा, पकौडी आदि फर्माइस गरेको सम्झिन्छु । उहाँको अर्को स्वभाव– साँझ रेस्टुराँमा पसेको छ भने पसल बन्द हुने बेलासम्म बस्नुहुन्थ्यो, चिया खाएर । चिया सेलाइसकेपछि मात्रै कप आफूतिर तान्ने अनि दुई घुट्की खाएपछि ‘ए, यो त सेलाइसकेछ, अर्को तात्तातो ल्याऊ’ भन्ने र त्यो पनि सेलाइसकेपछि मात्रै छुने । यसैगरी घण्टौं त्यहाँ बित्थ्यो । आलुको टिक्का, चाट र गोलगप्पाको पसल देख्नै नहुने, ग्राहक कम छन् भने पसिहाल्ने र स्वाद लिईलिई टन्न खाने । कहिलेकाहीं चाट नै डिनर हुन्थ्यो । उहाँ दिनभरिमा एक मुट्ठी सुपारी खानुहुन्थ्यो । खाँदा, बस्दा जुन बेला पनि रोचक र ज्ञानबर्द्धक गफ गर्ने । ज्ञानको अथाह भण्डार हुनुहुन्थ्यो प्रदीप गिरि । उहाँले गर्ने गफ राजनीतिक मात्र हुँदैनथे– साहित्य, राजनीति, सिनेमा, संगीत, गीत, गजल, धर्मशास्त्र, दर्शन, संकृति, अध्यात्म, विज्ञान अर्थात् जे पनि । यस्तो लाग्थ्यो, उहाँले नपढेको, नसुनेको र नजानेको कुनै विषय नै छैन । पढेको, सुनेको र जानेको सबै विषय उहाँको जिब्रोको टुप्पोमै हुन्थ्यो । बेजोड थियो स्मरण शक्ति । उहाँको व्याख्यान कला झन् रोचक र प्रभावकारी थियो, तर जे विषयमा कुरा गरे पनि प्रायः सकारात्मक पक्ष बढी उजागर गर्नुहुन्थ्यो ।
देशमा राजनीतिक संगठनहरू प्रतिबन्धित थियो । त्यस्तो बेला युवालाई संगठित गर्न बनाइएको लोकतान्त्रिक समाजवादी युवा लिग ९डीएसवाईएल० को संयोजक रहनुभएको उहाँ शैलजा आचार्यलाई अध्यक्ष बनाउन सक्रिय हुनुभयो । र, आफू उपाध्यक्षमा बस्नुभयो । नेपाली छात्र संघ र बनारस हिन्दु विश्वविद्यालयको युनियन निर्वाचनमा उहाँको निर्णायक भूमिका हुन्थ्यो । बनारसमा त्यहाँका मानिसलाई उहाँ त्यहीँको हो भन्ने लाग्थ्यो । । समाजवादी धारका युवा नेताहरू उहाँलाई गुरु र नेतासरह सम्मान गर्थे, खुट्टा छोएर अभिवादन गर्थे । भारतीय समाजवादी नेता, बुद्धिजीवी तथा लेखक–साहित्यकारहरू उहाँलाई भेट्न दिल्ली, लखनउ र पटनातिरबाट पनि आइरहन्थे । उनीहरूलाई बस्ने, खाने समस्या परे प्रदीपजी आफ्नो फ्ल्याटको साँचो तिनलाई दिएर आफूचाहिँ अरू साथीकहाँ बस्न जानुहुन्थ्यो । त्यस्ता साथीमध्ये म पनि एक थिएँ । यस्तै बेला उहाँले आफू र शैलजा आचार्यबीच प्रेमसम्बन्ध रहेको बताउँदै हाल त्यसमा व्यवधान उत्पन्न भएको रहस्य खोल्नुभयो । उहाँका अनुसार, दुवैको त्यो पहिलो प्रेम थियो ।
लोकतान्त्रिक समाजवादमा गहिरो आस्था थियो गिरिको । समाजवादको प्रभावशाली व्याख्याता हुनुहुन्थ्यो । लोकतन्त्र र समाजवादलाई सार्थक तुल्याउन तथा त्यसको अर्थ र उद्देश्य, मर्म र महत्त्वलाई जनजनमा पुर्याउन सबैभन्दा बढी योगदान गर्ने व्यक्ति बीपीपछि उहाँ नै हुनुभयो । बीपीका विचार, व्यक्तित्व, योगदान र परिकल्पना उजिल्याउन पनि निरन्तर लागिरहनुभयो । राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय लगायत गिरिका कतिपय अभिव्यक्तिमा बीपीको प्रतिविम्ब देखिन्छ । धरतीबाट बिदा हुनु केहीअघि पनि उहाँ सार्वजनिक रूपमै भनिरहनुभएको थियो, ‘बीपीभन्दा ठूलो र आदरणीय मानिस नेपालले बुद्धपछि आजसम्म अर्को जन्माएको छैन । बुद्ध त राजाका छोरा थिए । जनताबीचबाट यति श्रद्धालायक मानिस नेपालमा अर्को कोही जन्मिएको छैन ।’
उनी वैयक्तिक स्वतन्त्रताको कट्टर पक्षधर थिए, त्यो विचार जीवनमा उतार्न सधैं प्रयत्नरत रहे ।
गिरिलाई बीपी आफ्नै परिवारको सदस्यसरह स्नेह साथै उहाँको बौद्धिक क्षमताको प्रशंसा गर्नुहुन्थ्यो । तर, पछिल्लो समय बनारसमा उहाँहरूको आन्तरिक सम्बन्ध सहज रहेन । कतिपय कारण गिरि केही तनावमा पर्नुभयो । पाटीकै साथीबाट उहाँले अपमान र आक्रमणसमेत झेल्नुपर्यो । गिरि एकपल्ट बीपीसँग चित्त दुखाएर, फन्केर बनारसबाट कतै जानुभयो र केही अन्तरालपछि जयप्रकाश नारायणको ‘सम्पूर्ण क्रान्ति’ मा प्रकट हुनुभयो । उहाँ बीपीलाई बजारमा आएका नयाँनयाँ पुस्तकहरू उपलब्ध गराइरहनुहुन्थ्यो । सम्बन्ध चिसिएकै बेला पनि एकपल्ट बनारसको सारनाथमा झोलाभरि पुस्तक लगेर बीपीलाई दिँदै उहाँ भनिरहनुभएको थियो, ‘कुनैकुनैमा मैले अन्डरलाइन पनि गरेको छु । त्यो जरुर पढ्नुहोला । सबै पुस्तक महत्त्वपूर्ण छन्, पढेजस्तो मात्र नगर्नुहोला । कुनैमा अंग्रेजीका नयाँ र क्लिस्ट शब्द पनि छन्, मन परेको कुरा र नबुझेको शब्द अण्डरलाइन गर्नुभए पनि हुन्छ ।’ मलाई लाग्छ, वातावरण विषाक्त हुँदा पनि प्रदीपजी पुस्तकहरू लिएर त्यहाँ जानुको सायद दुई कारण थिए– पहिलो, बीपीलाई रिझाउनु र दोस्रो शैलजासँग भेट्ने आशा । त्यस समय शैलजा बीपीसँगै सारनाथमा बस्नुहुन्थ्यो । तर, बीपी गिरिलाई प्रायः बैठककोठाबाटै बिदा गरिदिनुहुन्थ्यो ।
२०२६ सालमा गिरफ्तार भएर १८ महिनापछि नख्खु जेलबाट रिहा हुनुभएका उहाँमाथि पञ्चायतकालमा धेरैवटा मुद्दा थिए, त्यसैले तत्काल नेपाल आउन सम्भव थिएन, २०३६ सालको जनमतसंग्रहताका वातावरण केही खुकुलो हुनासाथ गिरि स्वदेश फर्कनुभयो । आफ्नो ज्ञान, अनुभव र धारणा अरूलाई बाँड्न सदैव तत्पर रहनुहुन्थ्यो । उहाँले बुद्धिजीवी र प्रेस जगत्को महत्त्व बुझ्नुभएको थियो । भारत छँदा र नेपाल आएपछि पनि उहाँको बौद्धिक समाज र पत्रकारहरूसँग आत्मीयतापूर्ण सम्बन्ध रह्यो । बनारसमै हुँदा उहाँले ‘रहर’ पत्रिका, कैयौं पुस्तिका र नेपाली कांग्रेसको संक्षिप्त इतिहास निकाल्नुभयो । नेपालमा पठन–संस्कृति तथा विचारप्रधान पत्रिका नभएकोमा उहाँ चिन्तित हुनुहुन्थ्यो । समाजवादी विचारधारालाई जनताबीच पुर्याउने ध्येयले २०३८ पछि आफैंले पत्रिका निकाल्ने पनि जमर्को गर्नुभयो । समाजवादबारे अनगिन्ती लेख लेख्नुभयो, सारगर्भित व्याख्यान, प्रवचन र अन्तर्वार्ता दिनुभयो । प्रवचनका लागि प्रेमपूर्वक निम्ता गरेका ठाउँमा जान सकेसम्म प्रयास गर्नुभयो । राजनीतिक सन्दर्भमा मन्तव्य टुंग्याउनुअघि श्रोताहरूलाई प्रायः एउटा सल्लाह दिन बिर्सनुहुन्नथ्यो । भन्नुहुन्थ्यो, ‘जडसूत्री र लकिरको फकिर बनेर लक्ष्य हासिल हुँदैन । नेताहरू भगवान् होइनन् । मार्क्स, लेनिन, माओ मात्रै होइन गान्धी र बीपी पनि अपूर्ण छन् । तर, अग्रजहरूले पुर्याएको योगदान निम्ति गर्व गर्दै, प्रेरणा लिँदै हामीले भविष्यको बाटो निर्माण गर्नुपर्छ ।’ उहाँले लोकतन्त्रवादी र वामपन्थी राजनीतिकर्मीलाई औपचारिक प्रशिक्षण पनि दिनुभयो । उहाँ साहित्यिक–सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुँदा निकै रमाउनुहुन्थ्यो र कुनै पनि विषयमा रोचक व्याख्यान दिएर सबैलाई मन्त्रमुग्ध पार्नु हुन्थ्यो । उहाँका मन्तव्यले हरेक दुविधा, अन्योल, द्वन्द्व र निराशा चिरेर एउटा नयाँ क्षितिज उघारी दिन्थ्यो । उहाँको वाणी, तर्क र विमर्शमा अँध्यारो कुनालाई पनि झिलिमिली पार्ने ताकत थियो । त्यसैले प्रदीपजीलाई उहाँको नामझैं, अन्धकारमा उज्यालो छर्ने एउटा ज्योतिपुञ्ज भन्नु अत्युक्ति नहोला ।
प्रभावशाली राजनीतिज्ञ भए पनि गिरिले को सत्तामा छ रु को प्रतिपक्षमा छ रु भन्नेमा चासो राख्नुभएन । आफ्नै दल सत्तामा छँदा पनि सरकारको आलोचना गर्न चुक्नुहुन्नथ्यो । आज देशका सबै प्रमुख राजनीतिक दलहरू गलत दिशामा हिँडिरहेको उहाँको गुनासो थियो ।
गिरि विद्यमान लोकतन्त्र, जनताको सर्वोच्चता र मौलिक अधिकारलाई कायम राखी अहिलेसम्मको अनुभवका आधारमा आफ्नो चरित्र सुधार्दै आम नागरिकको जीवनमा परिवर्तन ल्याउने कानुन, नीति र कार्यक्रम बनाएर दृढतासाथ लागू गर्नुपर्छ भनी अन्तिम समयसम्म संसद्देखि सडकसम्म चिच्याइरहनुभयो । २०६२ पछि परिवर्तनको प्रसंगमा पार्टीका वरिष्ठ नेताहरू अल्मलिएका बेला गिरि संविधानसभा र गणतन्त्रको पक्षमा वातावरण निर्माण गर्न कम्मर कसेर लाग्नुभएको थियो । पार्टीभित्रका गणतन्त्रका पक्षधरलाई ऊर्जा प्रवाह गर्नुभयो र नेताहरूलाई लोकतान्त्रिक गणतन्त्रको बाटो नछेक्न दबाबपूर्ण आग्रह गर्नुभयो । राजतन्त्र कि गणतन्त्र भन्ने बहसमा गिरि विद्यार्थीकालदेखि नै गणतन्त्रको पक्षमा रहनुभयो । युवाहरूलाई निरन्तर उत्साहित गरिरहनुहुन्थ्यो र ‘लोभ–डर छोडेर तथा आनीबानी केही सुधारेर’ हिम्मतसाथ अघि बढ्न प्रेरित गर्नुहुन्थ्यो । युवाहरूको मनोबल बढाउँदै भन्नुहुन्थ्यो, ‘याद गर्नुस्, बीपी कोइराला नेता बन्दा उहाँको उमेर कति थियो रु लेनिनले वोल्सेभिक क्रान्ति गर्दा उनी कति वर्षका थिए रु बुद्ध कति वर्षका थिए रु सिकन्दर कति वर्षको उमेरमा विश्व विजेता बनेका थिए र?’
प्रदीपजीले न कहिल्यै सुख खोज्नुभयो, न कहिल्यै दुःख महसुस गर्नुभयो । जस्तो वातावरणमा पनि मस्त । जेल होस् वा निर्वासन, बनारस होस् वा काठमाडौं, सधैं आफैं विवेकको जीवन जिउनुभयो । उहाँ वैयक्तिक स्वतन्त्रताको कट्टर पक्षधर हुनुहुन्थ्यो र आफ्नो विचारलाई जीवनमा उतार्न सक्दो प्रयत्न पनि गर्नुभयो । निश्छलता र खुलापन उहाँको अर्को विशेषता थियो । छलफल र विमर्शमा असाध्यै रुचि थियो । पार्टीका कार्यकर्ता र विचार मिल्ने वा नमिल्ने साथी, बुद्धिजीवीको जमघट भइरहन्थ्यो उहाँको निवासमा । कहिले त घरमा खाने सामग्री भएरनभएको थाहै नभई साथीहरूलाई ‘डिनरसमेत गर्ने गरी’ डाक्नुहुन्थ्यो । निम्तालु आइसकेपछि तिनलाई आफूले खाने गरी बोलाएको सम्झिनुहुन्थ्यो । अनि रमाइलोसँग भन्नुहुन्थ्यो, ‘घरमा त चामल, दाल र आलु मात्र रहेछ, के गर्ने रु तपाईंहरूसँग अलिअलि पैसा होला नि १ ल, तपाईं एक बोतल ह्वीस्की किनेर ल्याउनुस्, तपाईंले स्न्याक्स ल्याउनुपर्यो र तपाईंले भोलि औषधि किन्न अलिकति पैसा त्यो केटालाई दिएर जानुहोला । आज मसँग पैसा पनि छैन भन्ने यादै रहेन १’ सबै खुसीसाथ आफूलाई जिम्मा दिएभन्दा बढी नै योगदान गर्थे । उहाँको खुला हृदय देखेर सबै रमाउँथे । रमाइलो वातावरणमा रात बित्थ्यो । सबै कामना गर्थे– यस्तो सुअवसर बारम्बार आइरहोस् !
प्रदीप गिरिमा अभिमान, अहंकार र देखावटीपन किञ्चित् थिएन । खानपिनमा झैं पहिरनमा पनि सजिलो, सुविधा र सादगी उहाँको रोजाइमा पर्थ्यो । उहाँले आफ्नो मौलिकता र पहिचान अन्तिम समयसम्म कायम राख्नुभयो । अपरिग्रह उहाँको एउटा अनुकरणीय विशेषता थियो । आफ्ना निम्ति केही पनि जम्मा गर्नुभएन, पुस्तकबाहेक । कुनै पनि लोभ र आकर्षणबाट टाढा रहनुभयो । एक सच्चा साधुको सोच र स्वभाव थियो । गृहस्थ भेषमा रहेको जोगी, संन्यासी, फकिरजस्तो । पिता–पुर्खाको वारेसको हैसियतले प्राप्त सम्पत्तिमा समेत मोह राख्नुभएन । सधैं सरल, सहज र साँचो अर्थको ‘स्वतन्त्र’ जीवन जिउनुभयो ।
प्रदीप गिरि मनुष्यता, मानवीय स्वतन्त्रतालाई सर्वोपरि स्थान दिनुपर्छ तथा समतामूलक समाज, संस्कृति निर्माण गर्नुपर्छ भन्ने सन्देश दिएर अनि प्रेम र श्रद्धा लिएर धरतीबाट बिदा हुनुभयो (२०७९, भदौ ४)। क्यान्सरभन्दा पहिले कोरोनाको कहर सहज झेलिसक्नुभएका गिरि मृत्युसित पनि डराउनुहुन्नथ्यो । मृत्यु टार्न नसकिने क्रिया हो भन्ने बुझेर त्यसलाई आत्मसात् गर्ने मान्छे मात्रै इच्छा अनुसारको जीवन जिउन सक्छ भन्नुहुन्थ्यो । अन्ततः उदात्त चिन्तन, विवेकको अनुकरणीय प्रयोग तथा निःस्वार्थ र उत्प्रेरक कर्मले प्रदीप गिरि मृत्युपछि पनि बाँचिरहने एक मानव बन्नुभएको छ ।
कान्तिपुरबाट।