सिरहा, ३१ साउन। अवैधरुपमा मल (खाद) बेचविखन गर्ने गोलबजारस्थित ममता एग्रोभेटलाई एक लाख रुपैयाँ जरीवाना गरेको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाले अवैध रुपमा विक्रिको लागि राखिएको ५६ बोरा डिएपी र १२ बोरा युरिया मल मरामद गर्नुको साथै एक लाख रुपैयाँ जरीवाना गरेको हो।
बरामद मल गोलबजार नगरपालिकाको जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकिय अधिकृत भवेश झाले जानकारी दिए। जिम्मा लागाइएको मल नगरपालिकाले आफ्नो सुविधाअनुसार किसानलाई दिन वा लिलामी गर्न सक्ने बताए।
जिल्लाका एग्रोभेट व्यवसायीहरुले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, कृषि सामाग्री कम्पनी लिमिटेडका कर्मचारी र कृषि सहकारी संस्थाहरुसँगको मिलेमत्तोमा सहुलियतको मल खरिद गरेर महगो मूल्यमा बेच्ने गरेका छन्।
अहिले प्रति केजी २० रुपैयाँमा विक्ने युरिया ३५/४० रुपैयाँ सम्म र ५० रुपैयाँ प्रतिकेजी पाइने डीएपी ६० रुपैयाँभन्दा बढीमूल्यमा एग्रोभेट व्यसायीहरुले बेच्ने गरेको किसानहरु बताउँछन्।
पछिल्लो केहिवर्षदेखि सिरहामा स्थानीय पालिकामा सूचिकृत र इजाजत प्राप्त कृषि सहकारीहरुले मात्र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र कृषि सामाग्री कम्पनी लिमिटेडले उपलब्ध गराएको सहुलियत मूल्यको मल किसानलाई वितरण गर्ने जिम्मा दिएको छ।