सिरहा, २१ साउन। धनगढीमाई नगरलिकाका प्रमुख शिवशंकर महतो र भ्रष्टाचार विरुद्ध नागरिक संघर्ष समितिविच सात दिनभित्र नगरपालिकामा भएका भ्रष्टचारको छानविन गरी प्रतिवेदन सार्वजनिक गर्ने सहमति भएको छ।
नगरपालिका र संघर्ष समितिबिच नगरपालिकाले गत आर्थिक वर्ष ०७९/ ८० मा खरिदार र नायवसुवाको लोकसेवा तयारी कक्षामा प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद बगाले र लेखा अधिकृत पुरुषोत्तम कुमार प्रसालसहितले गरेको अनियमितता छानविन गरी सात दिनभित्र प्रतिवेदन सार्वजनिक गर्ने लिखित सहमति भएको हो।
नगरपालिकाको तर्फबाट नगर प्रमुख शिवशंकर महतोलगायतका वडा अध्यक्षहरु र संघर्ष समितिका तर्फबाट संयोजक योगेश कुमार सिंहद्वारा हस्ताक्षर गरिएको सहमिति पत्रमा ‘आन्दोलनरत पक्षले साउन १६ गते पेश भएको ज्ञापन–पत्र सम्बन्धी माँगका विषयमा सौहार्दपूर्ण वातावरणमा व्यापक छलफल भयो। छलफलका क्रममा प्राविधिक र कानूनी जटिलताका कारण ज्ञापन–पत्रमा उल्लेखित विषयहरुलाई तथ्यपरक अध्ययन अनुसन्धान गरी सात दिनभित्र नगर प्रमुखको नेतृत्वमा गठित छानविन समितिद्वारा प्रतिवेदन सार्वजनिक गर्ने र दोसी ठहर भएकालाई कानून बमोजिम कार्वाही गर्नका लागि सम्वन्धित निकायमा सिफारिस गर्ने सहमति भएकोले तालाबन्दी कार्यक्रम स्थाग्त गरियो; भन्ने उल्लेख गरिएको छ।
संघर्ष समितिले भ्रष्ट कर्मचारीलाई तत्काल कार्वाहीको माँग सहित साउन १६ गते ज्ञापन–पत्र बुझाएका थिए। त्यसदिन पाँच दिनभित्र माँग सम्वोधन नभए आजबाट नगरपालिकामा तालाबन्दि गर्ने कार्यक्रम सार्वजनिक गरेका थिए।
संघर्ष समितिले लोकसेवा तयारी कक्षा, सिलाई कटाई तालिम, ग्राभेल उत्खननमा व्यापक अनियमितता भएको आरोप लगाउँदै आएको छ ।
खरिदार र नासुको कक्षा सञ्चालको लागि छुट्टाछुट्टै सम्झोता गरेपनि एउटैमात्र कक्षा सञ्चालन गरेको प्रमुख प्रशासकिय अधिकृतले समेत स्वीकार गरेका छन्।
कक्षा सञ्चालन गर्ने जिम्मा पाएका श्री गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेडिङ प्रा.लि. विराटनगरका सन्तोष राउनले पनि विद्यार्थीको न्यून उपस्थिति र एकैठाउँ पढ्ने जिकिर गरेपछि एउटै कक्षा सञ्चालन गरेको बताए।
नगरपालिकाले नायवसुब्बा र खरिदार तहको तयारी कक्षाको लागि भ्याट वहेक १४ लाख ५२ हजारका दरले २९ लाख ४ हजारमा सम्झौता गरी काम गरेको थियो।
सम्झौता अनुसार नगरपालिकाले खरिदार र नायवसुव्वाको कक्षा सञ्चालन गरेवापत भ्याट सहित ३२ लाख ८१ ह्जार ५२० रुपैयाँ भुक्तानी दिएपनि स्थानीय र अख्तियारले चासो दिएपछि करिव ११ लाख रुपैयाँ फिर्ता फिर्ता लिएको बताइएको छ।